चितवन– नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा जारी छ। शुक्रबार, शनिबार र आइतबारका लागि तय भएको महाधिवेशन सोमबार पनि सकिएको छैन। भोलि मंगलबारमात्र महाधिवेशन सकिने भएको छ।
महाधिवेशन लम्बिएपछि प्रतिनिधिहरुलाई खान–बस्नको अन्योल भएको छ। महाधिवेशनमा प्रतिनिधिमात्र छैनन्, अतिथि, पर्यवेक्षक र स्वयंसेवक पनि छन्। महाधिवेशन सुरु हुनुअघि नै एमालेले सबैका लागि सौराहाका होटेलमा ३५ सय बेड बुकिङ गरेको थियो।
सम्झौताअनुसार प्रतिनिधिलाई होटलले तीन छाक खाना खुवाउने थियो। खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपैयाँमा सम्झौता गरेको थियो। १२ मंसिरमा सकिने भनिएको महाधिवेशनको बन्दसत्र लम्बिएको छ। अध्यक्षलगायत केही पदमा चुनाव हुने निश्चित भएको छ। निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गरिसके पनि मतदान सुरु भएको छैन।
बन्दसत्र लम्बिएपछि एमालेले थप एक दिन खाना खुवाउन व्यवसायीहरूलाई आग्रह गरेको छ। आज सोमबार दिउँसो र बेलुकाको खाना, भोलि मंगलबार बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्नेगरी अर्को सम्झौता भएको क्षेत्रीय होटल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए।
थप एक दिन खाना र बेडको लागि करिब ६५ लाख रुपैयाँमा सम्झौता भएको उनले बताए। ‘थप एक दिन खाना र बेडको व्यवस्था गर्नेगरी पार्टीसँग हाम्रो सम्झौता भएको छ,’ उनले भने। बन्दसत्र लम्बिएपछि केही प्रतिनिधिहरू भने फर्किसकेका पनि छन्।