सौराहा– नेकपा (एमाले) को जारी दसौं राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्वाचनका लागि ७२ वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। आधाभन्दा बढी पदमा सर्वसम्मत भएको जनाउँदै प्राविधिक टोलीले ७२ वटा मेसिन निर्वाचनका लागि तयारी अवस्थामा राखेको हो।
‘अहिले मतदानका लागि ७२ वटा मेसिन तयारी अवस्थामा छन्, आवश्यक परेको खण्डमा एक सय मेसिन थप राख्न सकिन्छ,’ रामलक्ष्मण इन्भेट्सका डाइरेक्टर लक्ष्मण पाण्डेले भने, ‘धेरैजसो पदमा सर्वसम्मत भएको बुझिएकाले अनुमान गरेको भन्दा कम मेसिन राखिएको हो।’ उनका अनुसार भोटिङ मेसिनमा मत बदर हुने सम्भावना हुँदैन।
‘भोटिङ मेसिनमा बदरको सम्भावना हुँदैन किनभने यसले एस वा नो बाहेक अन्य विकल्प दिँदैन, सतप्रतिशत मत खस्छ,’ पाण्डेले प्रस्ट्याए, ‘मत हालिसकेपछि प्रिन्ट पनि अटोमेटिक दिन्छ।’ उनका अनुसार निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेपछि उम्मेदवारको नाम र तस्बिर सिस्टममा अपग्रेड गर्न भने झन्डै ८ घण्टा लाग्छ।
एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीमा नअटाएकामध्ये अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि एमाले आन्तरिक प्रतिस्पर्धामा होमिएको हो।
वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित ओलीले प्रस्ताव गरेको पाँच जनाको नाममा थप उम्मेदवारी नपरेकाले निर्विरोध हुने लगभग सुनिश्चित भए पनि त्यसबाहेक १४ पदाधिकारीका लागि निर्वाचन हुने निश्चित देखिएको छ।
ओलीले उपाध्यक्षमा प्रस्ताव गरेका युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डेको नामप्रति असहमति जनाउँदै ओलीको सूचीमा नपरेका घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा प्रतिस्पर्धा हुने भएको हो।
यसैगरी, सचिवमा ओलीले प्रस्ताव गरेका नामप्रति असहमति जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सो पदमा पनि प्रतिस्पर्धा हुने भएको हो।