चितवन– एमाले नेता घनश्याम भुसाले पार्टीभित्र विचार र सिद्धान्त जीवित छ भन्ने सन्देश दिन आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्। सौराहामा जारी महाधिवेशनका क्रममा उनले सोमबार बिहान उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग भुसालले भने, ‘पार्टीभित्र विचार, सिद्धान्त र मार्क्सवाद जीवित छ भन्ने सन्देश दिन मैले उम्मेदवारी दिएको हुँ।’
नेता भुसालले प्रतिनिधिसभा विघटन र सरकारबाट बाहिरिनुपरेको विषयलाई पनि चुनावी मुद्दा बनाएका छन्। ‘एकीकृत पार्टी किन फुट्यो भन्नेबारेमा हामी बेखबर छौं। पार्टीमा गल्तीका प्रशस्त सम्भावना छन्। अहिले पनि गल्ती भइरहेका छन्।’ यस्तै उनले आफ्नै पार्टीको सरकार किन टिकाउन नसकेको भन्दै प्रश्न अघि सारेका छन्। उनले भने, ‘अहिले हामी आँखा बन्द गरेर हिँड्न खोज्दैछौं। यसले हामीलाई हाम्रो लोकतन्त्रलाई समाजवादलाई कम्युनिस्ट आन्दोलनलाई धेरै डरलाग्दा खतरातर्फ लैजानेवाला छ । त्यसैले पनि मैले उम्मेदवारी दिएको हुँ।’