काठमाडौं- चितवनको सौराहाामा जारी नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले आफूलाई अध्यक्षमा राख्दै सहमतिका लागि नयाँ नेतृत्वको नामावली घोषणा गर्दा भीम रावलले असमति जनाएका छन्। रावलको असन्तुष्टिपछि एमालेमा चुनाव हुने भएको छ।
ओलीले आइतबार मध्यराति ३०१ जना केन्द्रीय सदस्य र १९ पदाधिकारीको नाम बन्दसत्र हलमा पेस गरे पनि रावलले चुनाव नै लड्ने अडान लिएपछि एमाले असहमति रहेका पदमा चुनाव हुने भएको हो।
एमाले निर्वाचन अयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार आज बिहान ८ बजेदेखि ९:२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ। यस्तै ८ बजेदेखि बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ।
बिहान १०:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ। बिहान १०:३० देखि १०:४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०:५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ।
यस्तै बिहान ११:५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ। बिहान १२:५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ। मतदानको समय मंगलबार बिहान ३ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि मतगणना हुनेछ।