काठमाडौं- अन्ततः नेकपा एमालेको १०औं महाधिवेशनमा अन्तत: मतदान हुने भएको छ। महाधिवेशन उद्घाटनको तेस्रो दिन निर्वाचन प्रक्रियालाई पूर्णता दिन भन्दै मतदाता नामावली प्रकाशन गरिएको छ।
एमाले निर्वाचन आयोगका अनुसार दशौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित र मनोनित प्रतिनिधिको नाम मतदाताका रुपमा प्रकाशन गरिएको हो।
सर्वसम्मत रुपमा नाम प्रस्ताव गरिएका व्यक्तिले असहमति जनाएर चुनावी प्रतिस्पर्धा गर्न चाहेमा ती पदमा मतदान गर्ने गरी मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ। नेकपा एमालेको अध्यक्षमण्डलको निर्देशन अनुसार सोमबार बिहानसम्मका लागि निर्वाचनका सबै पक्रियाहरु फेरि स्थगित भएका छन्।
यसअघि एमालेको निर्वाचन आयोगले उम्मेदवारी दर्तादेखि उम्मेदवारको नामावाली प्रकाशन र मतदानसम्मको सबै प्रक्रियाका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो। तर, रातिको समयमा महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन र फारम वितरणलगायतका प्रक्रिया असहज हुने भएकोले सोमबार बिहानसम्मका लागि स्थगित गरिएको निर्वाचन आयोजका अध्यक्ष डा. विजय सुब्बा जानकारी दिएका छन्।
उनले भने, 'रातिको समयमा निर्वाचनका प्रक्रियाहरु गर्न गाह्रो हुने अनुरोधपछि सोमबार बिहानसम्मका लागि स्थगित गरेका हौं। सोमबार बिहान ८ बजेदेखि नयाँ कार्यतालिका अनुसार निर्वाचन प्रक्रियाहरु अघि बढाइने छन्।'
ओलीको बाध्यता
एमाले महाधिवेशनबाट अध्यक्षमा ओली सर्वसम्मत रूपमा नै दोहिरिन चाहन्थे। एमालेले महाधिवेशनका कार्यक्रम तय गरेदेखि नै ओलीले आफू सर्वसम्मत रूपमा दोहोरिने दाबी गर्दै आएका थिए। यसका लागि उनले लामो समय कसरत पनि गरेका थिए।
महाधिवेशन उद्घाटन कार्यक्रममा नै सहमति र एकताका साथ नयाँ नेतृत्व चयन हुने दाबी दोहोर्याएका ओलीले शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकबाट नै आफूलाई केन्द्रमा राखेर विधान संशोधन गराए। ओलीले नेता व्यवस्थापनका लागि पोलिट व्युरोको संरचना पनि ब्युँताउँदै पदाधिकारी र केन्द्रीय कमिटी सदस्य संख्या बढाउने निर्णय समेत गराए।
शनिबार बिहानदेखि नै सर्वसम्मतिको प्रयासमा लागेका ओली समूहभित्रै विवाद सिर्जना भयो। उनले पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु गरे। बन्द सत्रमा कार्यकर्ताको मन बहलाउन र सर्वसम्मतमा आफूले भनेअनुसार नै अघि बढ्न मनोवैज्ञानिक दबाब सिर्जना गर्न भनेका थिए, ‘म कति बाँच्छु भन्न सक्दिनँ, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईंहरुलाई देखेरै मलाइ निद्रा लाग्छ खाना रुच्छ र देशको भविश्य सुरक्षित देख्छु। त्यसैले पार्टीभित्र एकता कायम गरौं र विपक्षीहरुसँग प्रतिपक्षसँग प्रतिस्पर्धा गरौं।'
नारायणी किनारमा ठूलो जनसहभागितासहित महाधिवेशन उद्घाटन गरेका ओलीले सौराहा पुग्दा मन साँघुरो बनाएका थिए।
दुई घण्टा सम्बोधन गरेका ओलीले थप दबाब सिर्जना गर्न भनेका थिए, 'समझदारी, सहमति र एकता हो। पार्टीभित्रको प्रतिस्पर्धा मूल्यांकनको आधारमा हुन्छ। पार्टीमा आन्तरिक एकता चाहिन्छ। पार्टीभित्र एकता मुख्य कुरा हो, यो कुरा हामीले थाहा पाउनुपर्छ। यसका लागि हामीले वडा र नगरमा जस्तै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ।'
मंसिर ११ गते नै उम्मेदवारी मनोनयन गर्ने भनेको एमालेमा भीम रावललगायतका नेताहरूले निर्वचान गराउनैपर्ने अडान राखेपछि ओली निर्वाचनमा जान बाध्य भएका छन्।
निर्वाचन हुने भएपछि अध्यक्षमा भीम रावल, वरिष्ठ उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा टंक कार्कीले उम्मेदवारी दर्ता गराउने भएका छन्।
ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई रोजेका छन्। घनश्याम भुसाल वरिष्ठ उपाध्यक्ष लड्ने भएपछि ईश्वरले प्रतिस्पर्धामा जानुपर्ने भएको छ।
रावललाई भोट माग्नै बन्देज
भीम रावलको पर्चा वितरण गरिरहेका कार्यकर्ताहरूलाई बाहिर निकालिए। महाधिवेशन प्रतिनिधिहरूलाई रावल निकट युवाहरूले तस्बिरसहितको सानो पुस्तिका वितरण गरिरहेका थिए।
पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरूलाई एमाले स्वयंसेवकहरूले पर्चा बाँड्न नपाइँने भनेर निकालेका थिए।
‘मेरो उम्मेदवारी किन’ लेखिएको हाते पुस्तिका रावल निकट कार्यकर्ताले बाँडेका थिए। एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएकाले उनीहरूलाई बाहिर निकालिएको एक स्वयंसेवकको भनाइ थियो।
पूर्व माओवादीलाई २ पदाधिकारी ४० केन्द्रीय सदस्य
नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'सहित पूर्वमाओवादीबाट आएका नेताहरूलाई मिलाएर लैजान केपी शर्मा ओली तयार भएका छन्। तीन जना पदाधिकारीमा दाबी गर्दै आएको पूर्वमाओवादी खेमालाई दुई जना पदाधिकारी दिन ओली तयार भएका हुन्।
पूर्वमाओवादी खेमालाई एक जना सचिव र एक जना उपाध्यक्ष दिन ओली सहमत भएका छन्। यसरी सहमति भएको अवस्थामा बादल पार्टीको उपाध्यक्ष बन्ने तयारीमा छन् भने टोपबहादुर रायमाझी र लेखराज भट्टले सचिवमा दाबी गरिरहेका छन्। यसका साथै स्थायी कमिटीमा समेत दुई जना सदस्य दिने सहमति भएको बताइएको छ।
यसका साथै ४० जना केन्द्रीय सदस्य पनि पूर्व माओवादी खेमाले पाउने भएको छ।
८ घण्टा हल छोडेनन् रावलले
अध्यक्ष पदका दाबेदार भीम रावल आठ घन्टासम्म बन्दसत्र हलमै बसिरहे। बन्दसत्रमा 'जे पनि हुनसक्ने' भएकाले आफूले हल नछोड्ने बताएका रावल दिउँसो दुई बजेदेखि ८ घण्टासम्म हलमै रहेका थिए। अध्यक्ष मण्डलको बैठक सुरु भएकाले त्यसमा सहभागी हुन रावल बाहिरिए।
अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा, युवराज ज्ञवालीसहित ११ जना नेता रहेका छन्।
ओली पक्षको नाराबाजी
बन्दसत्रस्थलमा ओली समूहका कार्यकर्ताले नाराबाजी पनि गरे। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र करिब १० घण्टा ढिलो गरेर १० बजेतिर भर्खरै सुरु भएपछि बन्दसत्रस्थलमा ओली पक्षका कार्यकर्ताले नाराबाजी गरेका थिए।
उनीहरुका नारामा भीम रावललाई 'गद्दार', 'पार्टी फुटाउने मतियार', 'लड्डुलाल' र 'नक्कली राष्ट्रवादी'जस्ता अपमानजनक आरोप थिए।
केपी बा –जिन्दावाद
आज होइन, भोलिलाई- १० वर्ष ओलीलाई
वैदेशिक दलाल- होसियार
हामी केही जान्दैनौँ - ओलीबाहेक मान्दैनौँ
शंकर पोखरेल- जिन्दावाद
नक्कली राष्ट्रवादी- मुर्दावाद
पार्टी फुटाउने मतियार- होसियार
ओलीका कार्यकर्ताले रावललाई मात्र होइन, पार्टी फुटाएको भन्दै माधव कुमार नेपाललाई समेत मुर्दावादका नारा लगाएका थिए।
गजल र देउडा पनि
रात छिप्पँदै गएको थियो। सहमतिको प्रतीक्षा सकिने कुरा थिएन। अध्यक्ष मण्डल छलफलमा बसिरहँदा महाधिवेशन प्रतिनिधिहरू भने गीत, गजल र मुक्तकमा भुलिएका थिए।
रात छिप्पिँदै जाँदा पनि पदाधिकारीमा सहमति नजुट्दा प्रतिनिधि निराश हुन थालेका उनीहरू गजल सुन्दै बसेका थिए। १२ घन्टा नाघिसक्दा पनि बन्द सत्र सुरू नभएपछि प्रतिनिधिलाई समय बिताउन गाह्रो परिरहेको थियो।
यसअघि दिउँसै सुदुरपश्चिमबाट आएका महाधिवेशन प्रतिनिधिले देउडा गीत गाउँदै नृत्यको रमाइलो लिएका थिए।
वलीको आफ्नै गुनासो
एमालेकी नेतृ एवं कलाकार कोमल वलीले आफ्नो हातमा पर्चा थमाएर आफूलाई बदनाम गर्ने षड्यन्त्र भएको गुनासो गरेकी छन्। अध्यक्षका प्रत्याशी भीमबहादुर रावलको प्रचारमा छापिएको पुस्तक समातेको तस्बिरसहित कोमल रावलको प्रचारमा हिँडेको चर्चा चलेपछि वलीको गुनासो आएको हो।
आफू भीम रावलको चुनावी प्रचारमा हिँडेको चर्चा चलेपछि कोमलले खण्डन गरेकी हुन्। उनले आफू अध्यक्ष केपी शर्मा ओलीप्रति दृढ रहेको पनि बताएकी छन्। ‘मेरो आस्था र विश्वासका केन्द्र श्रद्धेय अध्यक्ष केपी ओलीज्यूप्रतिको दृढतालाई कुनै कुराले तोड्न सक्दैन,’ उनले भनेकी छन्।
वलीले फोहोरी खेल नखेल्न अनुरोध पनि गरेकी छन्। ‘हिँड्दा हिँड्दै पर्चा दिएर षडयन्त्रपूर्ण तरिकाले तस्बिर खिचेर मेरो विश्वास र आस्थामाथि खेल्न खोजेकोमा खेद व्यक्त गर्दछु,’ उनले भनेकी छन्।
भीम आचार्यलाई लिन बन्दसत्रस्थलमा एम्बुलेन्स
कोरोना संक्रमण भएपछि अस्वस्थ भएका भीम आचार्यलाई अस्पताल लैजानका लागि एम्बुलेन्स बन्दसत्रस्थल पुगेको थियो। एमाले महाधिवेशन उद्घाटन कार्यक्रम र बन्दसत्रमा सहभागी भएका नेता आचार्यलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
संक्रमित आचार्यको स्वास्थ्य अवस्था कमजोर बनेपछि उनलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको उनी निकट नेताले बताएका छन्।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सौराहाकै होटलमा आइसोलेसनमा राखिएको थियो।
अन्तमा उम्मेदवारी शुल्क पनि
सार्वजनिक निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ। जसमा अध्यक्षका प्रतिस्पर्धीले १५ हजार शुल्क बुझाउनु पर्नेछ। त्यसैगरी पदाधिकारीले १० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराउन ५ सय तिर्नुपर्नेछ।