चितवन- नेकपा एमालेको १० औं महाधिवेशनमा अन्तत: मतदान हुने भएको छ। महाधिवेशन उद्घाटनको तेस्रो दिन निर्वाचन प्रक्रियालाई पूर्णता दिन भन्दै मतदाता नामावली प्रकाशन गरिएको छ।
एमाले निर्वाचन आयोगका अनुसार दशौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित र मनोनित प्रतिनिधिहरुको नाम मतदाताका रुपमा प्रकाशन गरिएको हो।
सर्वसम्मत रुपमा नाम प्रस्ताव गरिएका व्यक्तिले असहमति जनाएर चुनावी प्रतिस्पर्धा गर्न चाहेमा ती पदमा मतदान गर्ने गरी मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ।
राति ११ बजे मतदाता नामावली प्रकाशन गरेर साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र राति ११:३० देखि १२:३० सम्म उम्मेदवारी दर्ताको समय दिइएको छ। राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी राति १:२५ सम्म उम्मेदवारविरुद्ध उजुरी दिने र १:३० बजे उम्मेदवारको नामावली पुन: प्रकाशन गरिने भएको छ। त्यसैगरी राति १:३० देखि २:०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति २:०० बजे गरिने भएको छ।
सर्वसम्मति नभएको अवस्थामा मतदानको समय भने सोमवार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ।
