काठमाडौं- नेकपा एमालेको महासचिवमा ओलीको सबैभन्दा विश्वास पात्र ईश्वर पोखरेल देखिएका छन्। पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउनकै लागि ओलीले सहमतिका नाममा आइतबार दिनभर ११ घन्टा बिताए।
सुवास नेम्वाङको पनि पार्टी वरिष्ठ उपाध्यक्षमा दाबी रहेकोमा अन्तिम समयमा उनलाई पाखा लगाउँदै ओलीले पोखरेललाई अगाडि सारेका छन्। नेम्वाङलाई भने उपाध्यक्षमा समेटेका छन्।
ओलीले महासचिवमा शंकर पोखरेललाई अघि सार्ने भएका छन्। ओलीले महासचिवका प्रमुख दाबेदार विष्णु पौडेललाई उपाध्यक्षमा सहमत गराएको स्रोतले बताएको छ। भीम रावल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्यको नाम उनले प्रस्तावित उपाध्यक्षमा राखेका छन्।
तर, अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावलको सहमतिमा पार्टी उपाध्यक्षमा बस्ने सम्भावना निकै कम छ। उनले पटक-पटक आफ्नो उम्मेदवारी फिर्ता नहुने बताउँदै आएका छन्। तर, सहमतिको नाममा ओलीले रावलको नाम पनि उपाध्यक्षमा राखेका छन्।
उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ चर्चा छ। पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची अध्यक्ष ओलीले बन्दसत्रमा पेश गर्नेछन्। तर, धनश्याम भूसाल पनि ओलीसँग असन्तुष्ट रहेका छन्। उनले पनि चुनाव हुनुपर्ने अडान कायमै राखेका छन्। यस्तो अवस्थामा रावल र भूसालले उनको प्रस्ताव अस्वीकार गर्नसक्ने देखिएको छ।
रावल र भूसालको अडानले ओलीको सर्वसहमत नेतृत्व चयन गर्ने सपनामा धक्का लाग्ने देखिएको छ। यदि उनीहरूले सहमतिमा बस्ने नचाहेको अवस्थामा ओली पनि चुनावमै जाने मुडमा रहेको स्रोतको भनाइ छ। यदि त्यस्तो भएमा ओलीले भीम रावलसँग पार्टी अध्यक्षका लागि चुनाव लड्नुपर्ने छ।