काठमाडौं- नेकपा एमालेको बन्दसत्रस्थलमा ओली समूहका कार्यकर्ताले नाराबाजी गरेका छन्। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र भर्खरै सुरु भएपछि बन्दसत्रस्थलमा ओली पक्षका कार्यकर्ताले नाराबाजी गरेका हुन्।
नाराबाजीमा एमाले अध्यक्षका दाबेदार भीम रावललाई विभिन्न आरोप लगाइएको छ। उनलाई 'नक्कली राष्ट्रवादी', 'पार्टी फुटाउने मतियार' र 'लड्डुलाल' जस्ता आरोप लगाइएको छ।
उनीहरुका केही नारा यस्ता छन्
केपी बा –जिन्दावाद
आज होइन, भोलिलाई- १० वर्ष ओलीलाई
वैदेशिक दलाल- होसियार
हामी केही जान्दैनौँ - ओलीबाहेक मान्दैनौँ
शंकर पोखरेल- जिन्दावाद
नक्कली राष्ट्रवादी- मुर्दावाद
पार्टी फुटाउने मतियार- होसियार
भीम रावल गद्दार हो : गद्दार हो, गद्दार हो
एमालेको १०औं महाधिवेशन अन्तर्गतको दोस्रो दिनको बन्दसत्र ११ घन्टा ढिलो गरी सुरू भएको हो। पहिलो दिनको बन्द सत्रले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम छान्ने अधिकार दिएको थियो।
दिनभर ओलीले पदाधिकारीको नाम टुंगो लगाउने भन्दै नेताहरूसँग छलफल गरेका थिए। ओली ११ घन्टापछि बन्दसत्र हलमा प्रवेश गरेका छन्।
ओलीले केही बेरमा १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम घोषणा गर्नेछन्। उक्त प्रस्तावलाई अनुमोदन गर्ने कि नगर्ने महाधिवेसन प्रतिनिधिले निर्णय लिने छन्।