चितवन- नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको रेसबाट ब्याक हुने संकेत गरेका छन्। उनले पार्टी एकता कायम हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका छन्।
'पार्टी एकता कायम गर्नुपर्छ। त्यही मेरो मान्यता हो। पार्टीको हितका लागि अध्यक्षले सही निर्णय लिनुहुन्छ भन्ने मेरो विश्वास छ,' उनले भने।
सञ्चारकर्मीले वरिष्ठ उपाध्यक्षको दाबी छोड्नु भएको हो भन्ने जिज्ञासामा नेता नेम्वाङले उम्मेदवारी एउटा सन्दर्भमा भएको बताएका थिए।
उनले अध्यक्षले पार्टीको हित र एकता कायम हुने गरी प्रस्ताव ल्याउनेमा आफू विश्वस्त रहेको बताएका छन्। बिहानसम्म नेम्वाङ वरिष्ठ उपाध्यक्ष अडानमा रहेका थिए।
उनले आइतबार बिहान आफूले अध्यक्ष ओलीबाहेक अरुलाई नेता मान्न नसकिनेसमेत बताएका थिए। तर, आइतबार बेलुका भने उनले पार्टी एकताका लागि आफू तयार रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्षबाट पछि हट्ने संकेत गरेका हुन्।
ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई ल्याउन चाहेका छन्। ईश्वर पोखरेल र नेम्वाङले वरिष्ठ उपाध्यक्षमा अडान कायमै राखेपछि शनिबार कुनै सहमति हुन सकेको थिएन। ओलीले भने नेम्वाङलाई आगामी निर्वाचनमा राष्ट्रपति बनाउने 'अफर' दिएका थिए।
वरिष्ठ उपाध्यक्षका लागि घनश्याम भूसालले पनि उम्मेदवारी दिने घोषणा गरेका थिए। तर, ओलीले भने कुनै पनि पदमा निर्वाचन नगराउने गरी सहमतिको प्रयास गरिरहेका छन्।
केही समयमा सुरु हुने बन्द सत्रमा ओलीले तयार पारेको सूची अनुसार नाम पढ्ने र हलले ताली पड्काउने र उक्त सूचीलाई अनुमोदन गर्ने गरी तयारी गरेका हुन्।