काठमाडौं- चितवनको नारायणी नदी किनारमा नेकपा (एमाले)को दसौँ महाधिवेशनको उद्धाटनका कार्यक्रम भइरहेका छन्। एमालेले ५ लाख जनसहभागितामा महाधिवेशन उद्धाटन हुने दाबी गर्दै आएका थिए।
कार्यक्रमको औपचारिक रूपमा उद्धाटन हुनुअघि विभिन्न जातजातिगत सांस्कृतिक गीतसंगीत प्रस्तुत भइरहेका छन्। विभिन्न ठाउँबाट झाँकी र र्यालीसहित एकीकृत जनसमुदायका उपस्थितिमा शङ्ख र घण्ट बजाएर सांस्कृतिक कार्यक्रम सुरु भएको छ।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्। उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन भएको एमालेले जानकारी दिएको छ।
सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत ८ देशका विदेशी पाहुना समेत सहभागी भएको एमालले जनाएको छ। देशबाट राजनीतिक दलका प्रतिनिधि आउनेछन्। चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका जनाइएको छ।
'जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारा एमालेले अघि सारेको छ। नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ।
एमालेबाट भर्खरै विभाजन भएर गएको नेकपा (एकीकृत समाजवादी) लाई भने एमाले महाधिवेशन उद्धाटनका लागि निमन्त्रणा नै पठाएको थिएन। तत्कालीन नेकपा हुँदा अध्यक्षको कुर्सी सेयर गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्षलाई निम्तो पठाए पनि उनी कार्यक्रममा सहभागी नहुने भएका छन्। महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने हेलिकोप्टर लिएर चितवन आएने एमालेले जनाएको थियो।
कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर भने नारायणी किनारमा नै पुगेर शुभकामना दिने भएका छन्।
यी हुन् आकांक्षी
एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन होस् भन्ने चाहन्छन्। कुनै पनि पदाधिकारी र सदस्यमा मतदान नहोस् भन्ने उनको चाहना भएपछि हालका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। उनले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने र एमालेमा ओलीको विकल्प खोज्नुपर्ने बेला भइसकेको बताएका छन्।
एमाले वरिष्ठ उपाध्यक्षमा भने ईश्वर पोखरेललाई बनाउने चाहना ओलीसहितका नेताहरुको चाहना भए पनि सोही पदमा सुवास नेम्बाङले पनि चाहना राखेका छन्। दुवै ओलीकै विश्वासपात्र भएकाले उक्त पदमा सर्वसम्मत नेतृत्व चयन गर्न चुनौती खडा भएको छ। एमाले विधानअनुसार महाधिवेशनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव गरी १५ पदाधिकारी निर्वाचित हुनेछन्।
वरिष्ठ उपाध्यक्षमा नै बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा, उपाध्यक्ष युवराज ज्ञवाली र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आकांक्षा देखाएका छन्। निर्वाचन भएको अवस्थामा पाँचै आकांक्षीले उम्मेदवारी दिने तयारी गरेका छन्। पाँच आकांक्षीमध्ये वरिष्ठ उपाध्यक्षका लागि अध्यक्ष ओलीको नजरमा पोखरेल परेका छन्। स्रोतका अनुसार पोखरेललाई केन्द्रित गरेर नै एमालेमा वरिष्ठ उपाध्यक्ष पद सृजना गरिएको हो। ओली उम्मेदवार भएको अवस्थामा अध्यक्ष पदमा दाबी नगर्ने बताएका पोखरेल दुई पटक महासचिव भइसकेकाले विधानतः अब दोहोरिन मिल्ने अवस्था पनि छैन। एमालेको विधानमा एउटा पदमा एउटा व्यक्ति दुई पटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था छ। पोखरेल लगातार दुई पटक महासचिव भइसकेका छन्।
एमालेको विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षका दाबेबार सबै जनाका लागि यो अन्तिम महाधिवेशन हो। यदि यो महाधिवेशनमा निर्वाचित नभए उनीहरु अर्को महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन्। किनकी, एमालेको विधानमा ७० वर्ष उमेर नाघेका कोही पनि उम्मेदवार बन्न नपाउने व्यवस्था छ। हाल अध्यक्ष र उपाध्यक्षमा आकांक्षा राखेका सबै आकांक्षीहरुको उमेर अबको पाँच वर्षपछि ७० वर्ष नाघेको हुनेछ।
त्यस्तै उपाध्यक्ष पदमा केही पुराना अनुहारसँगै नयाँ अनुहार पनि आकांक्षी देखिएका छन्। विधान अनुसार अब एमालेमा चार जना उपाध्यक्ष मात्र हुनेछन्। उपाध्यक्ष पदमा पूर्व माओवादी नेता लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणी थापा, दश बुँदे सहमति पक्षधर घनश्याम भुसाल, रघुजी पन्त, लालबाबु पण्डित, प्रदेश १ का एमाले अध्यक्ष देबराज घिमिरे, किरण गुरुङलगायतले आकांक्षा देखाएका छन्। वरिष्ठ उपाध्यध्यक्षका लागि आफ्नो पक्षमा माहोल नबनेको अवस्थामा पूर्व माओवादी नेता रामबहादुर थापा बादल र १० बुँदे सहमति पक्षधर नेतृ अष्टलक्ष्मी शाक्य उपाध्यक्षका लागि लड्न सक्ने पनि स्रोतको दाबी छ। त्यसो त नवौँ महाधिवेशनमा महासचिव पदमा पराजित भएका सुरेन्द्र पाण्डेलाई पनि उपाध्यक्षमा व्यस्थापन गर्ने सम्भावना उत्तिनै बलियो छ। तर, पाण्डे महासचिवमा उम्मेदवारी दिने तयारीमा छन्।
एमालेमा यसपटक महासचिव पदको भिडन्त पनि रोचक हुने देखिएको छ। किनकी यसपटक जो महासचिव हुन्छ तिनै ब्यक्ति ओलीको उत्तराधिकारी हुने सम्भावना बलियो छ। तर, एक महासचिव पदका लागि करिब आधा दर्जन नेताहरुले आकांक्षा देखाएका छन्। बलियो दाबेदार मानिएका हालका उपमहासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंखर पोखरेल, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नवौं महाधिवेशनमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डेले आकांक्षा देखाएका छन्। स्रोतका अनुसार अध्यक्ष ओलीको रोजाइमा भने विष्णु पौडेल परेका छन् ।
यस्तै उपमहासचिवको एक पदका लागि प्रदिप ज्ञवाली, गोकर्ण विष्टलगायतका नेताहरुले आकांक्षा देखाएका छन्। महासचिवमा माहोल नमिले पृथ्वी सुब्बा गुरुङ र शंखर पोखरेलले उपमहासचिवमा उम्मेदवारी दिने तयारी गरेका छन्।
सातवटा सचिव पदका लागि करिब दुई दर्जन नेताहरुले आकांक्षा देखाएका छन्। एमालेको नवौं महाधिवेशनबाट पाँच जना सचिव छानिएका थिए। प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई एमालेको सचिव छन्। १० औं महाधिवेशनबाट भने ७ जना सचिव छानिने छन्। त्यसमा यी पाँचै जनाले त्यो भन्दा माथिल्लो पद नपाए पुरानैमा भए पनि दोहोरिने आकांक्षा राखिरहेका छन्।
यीबाहेक सचिव पदका लागि महेश बस्नेत, गोकुल बाँस्कोटा, रघुवीर महासेठ, भानुभक्त ढकाल, खगराज अधिकारी, शिबमाया तुम्बाहाम्फे, पद्मा अर्याल, राधा ज्ञवाली, बिन्दा पाण्डे, विष्णु रिमाल, शेरधन राई, डोरमणि पौडेल, यामलाल कडेल, प्रभु शाह, मणि थापा, कर्ण थापा, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, जीवन घिमिरे, गुरु बराल, हिक्मत कुमार कार्की, राजेन्द्र गौतमलगायतका नेताहरुले आकांक्षा देखाएका छन्।
यसपटक प्यानल बनाएर उम्ममेदवारी घोषणा नगरेकाले उम्मेदवार आफैंले आफ्नो शक्ति र प्रभावका भरमा चुनाव जित्नुपर्ने अवस्था छ। जसका कारण कतिपय आकांक्षीले निकै सकस महसुस गरेका छन्। त्यसो त मत हाल्ने महाधिवेशन प्रतिनिधिलाई पनि यसपटक पहिलेजस्तो प्यानलका आधारमा उम्मेदवार खडा नभएकाले त्यति सहज हुने छैन। एमालेमा महाधिवेशन प्रतिनिधि २ हजार २ सय ७९ जना छन्।
उद्घाटन कार्यक्रम लाइभ हेर्नुहोस्