काठमाडौं- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहमा हुँदैछ। महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा एमालेले जनाएको छ। उद्घाटन अघि विभिन्न स्थानबाट जुलूस निस्किने छन्।
ती जुलूस नारायणी नदी किनारमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ। उद्घाटन समारोहलाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन्। उद्घाटन समारोहमा सहभागी भएर एमालेलाई शुभकामना दिन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन जाँदैछन्। विभिन्न राजनीतिक दलका नेताहरु र विदेशी पाहुनाहरुलाई पनि एमालेले महाधिवेशनमा निम्तो दिएको छ।
ओली महाधिवेशन स्थलमा डुंगा चढेर जाने
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थलमा डुंगा चढेर जाने भएका छन्। ओली डुंगाबाट महाधिवेशन स्थल पुग्ने भएपछि नदी किनारमा कार्यकर्ताहरु धमाधम बाटो निर्माण गरिरहेका छन्। महाधिवेशन स्थलमा ओलीको स्वागतका लागि नेपालको राष्ट्रिय झण्डासहित एमालेको झण्डा बाटोको चारैतिर लगाइएको छ। एमाले महाधिवेशन आज मध्याह्न १२ बजे अध्यक्ष ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ।
कांग्रेसको जिल्ला अधिवेशन आज हुँदै
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा आज जिल्ला अधिवेशन हुँदैछ।
एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला अधिवेशन सुरु भइसकेको छ। एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन गर्ने महाधिवेशन कार्यतालिमा उल्लेख छ।
काठमाडौंमा सोमबार जिल्ला अधिवेशन हुँदैछ भने ललितपुरमा आज जिल्ला अधिवेशन सुरु हुँदैछ। मकवानपुरमा प्रदेश अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ। चितवनमा पनि जिल्ला अधिवेशन अनिश्चित छ। केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो बिहीबारसम्म करिब ३० जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। कांग्रेस प्रदेश अधिवेशन मंसिर १६-१७ गते हुँदैछ भने केन्द्रीय महाधिवेशन मंसिर २४-२६ सम्म काठमाडौंमा हुँदैछ।
कांग्रेस दार्चुलाको माहाअधिवेशनको मतगणना स्थल पार्टी कार्यालय बाहिर कुटाकुट
नेपाली कांग्रेस दार्चुलाको माहाअधिवेशनको मतगणना स्थल पार्टी कार्यालय बाहिर कुटाकुट भएको छ।मतगणनाका लागि आचारसहिता बनाइरहेको पार्टी कार्यालय बाहिर कार्यकर्ताहरूबीच बादविवाद हुँदा बिहीबार बेलुकी कुटाकुट भएको हो। कुटाकुटमा दुई जाना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मनोहर भट्टले जानकारी दिए। घाइते हुनेमा राजेन्द्र बिष्ट र सुरेन्द्र बिष्ट रहेको प्रहरीले जनाएको छ। बिहीबार बेलुकी नै स्थिती नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। कुटाकुट भएपछि केहीबेर मतगणना परिसर तनाबग्रस्त भएको थियो।
कानुन व्यवसायीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज छलफल गर्दै
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका कानुन व्यवसायीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज छलफल गर्दैछन्। नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई आज बिहान ११ बजे बालुवाटार बोलाएका हुन्। छलफलका लागि बार पदाधिकारी र बार सल्लाहाकार परिषदका सदस्यहरुसहितको टोली बालुवाटार जादैछ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले यसैअवसरमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्रसमेत बुझाउने बताए। यसअघि प्रमुख सचेत र सचेतकसमेतसँग समय नभएपछि बारले ज्ञापनपत्र बुझाउन पाएको थिएन।
नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखा
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
शक्रबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
अफ्रिकाका वैज्ञानिकहरुले म्युटेसन भएको कोभिड-१९ नयाँ रूप पत्ता लगाएको दाबी
दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन्। दक्षिण अफ्रिकामा सङ्क्रमण संख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन्। नयाँ विविधता भएको भाइरस पत्ता लगायौँ र यो नै दक्षिण अफ्रिकामा संक्रमण बढ्नुको चिन्ताको कारण हुनसक्ने भाइरलोजिस्ट टुलियो डे ओलिभेराले पत्रकार सम्मेलनमा बताउका छन्। दक्षिण अफ्रिकाबाट आएका यात्रुमाझ बोत्स्वाना र हङकङमा पनि यो पत्ता लागेको उनले बताए।
शुक्रबार नेपालले मलेसियाको समना गर्दै
र, आईसीसी विश्वकप २०२३ को एसिया छनोटअन्तर्गत शुक्रबार नेपालले मलेसियाको समना गर्दैछ। दुबईस्थित आईसीसीको एकेडेमीमा हुने खेलमा नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो। आज हुने खेल दिउँसो सवा ११ बजे सुरु हुनेछ। नेपालले यसअघि नै एक खेलमा हार बेहोरिसकेको छ। छनोटको शीर्षस्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने लक्ष्य लिएको नेपालले पहिलो खेलमा नै हङकङसँग हार बेहोरेको हो। पहिलो खेलमा हार बेहोरे पनि दोस्रो र तेस्रो खेलमा नेपालले सानदार जित निकालेको छ। नेपाले कुवेतलाई ९ विकेटले हराएको थियो भने भुटानलाई आठ विकेटले हराएको थियो।