एमाले महाधिवेशनको तयारी पूरा
भोलिबाट सुरु हने नेकपा एमालेको दशौं महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। मञ्च व्यवस्थापनदेखि आवास व्यस्थापनसम्मको सबैकाम सकिएको एमालेले जनाएको छ।
विभिन्न ठाउँमा स्वागत द्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्द सत्र हुने हल निर्माणसहित आवास व्यवस्थापनको सबै काम पूरा भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने प्रचार विभाग प्रमुख भट्टराईले दाबी गर्नुभयो। महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आज आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भोलि दिउँसो नदी किनारमा ५ लाख जनता सहभागी हुने बताएका हुन्।
एमालेले नवलपुरको गैँडाकोट सहित चितवनका विभिन्न ७ स्थानबाट विशाल जुलुस निकाल्ने बताएको छ। चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए। महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकाले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइने जानकारी दिए। महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन्।
एमाले महाधिवेशनमा ८ देशका १५ विदेशी पाउना आउँदै
नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना पाहुनाहरु उपस्थित निश्चित भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा बिहीवार नेकपा(एमाले) विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुनाहरु महाधिवेशनमा उपस्थित हुने निश्चित भएको बताएको हो।
यसका साथसाथै २५ वटा देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथी सत्कार समितिका संयोजक डा. राजन भट्टराईले जानकारी दिए।
विदेशी पाहुनाहरुलाई काठमाडौंमा रहँदा होटल सोल्टीमा बसोबासको व्यवस्था गरिएको र मंसिर ९ गते(बिहीवार) साँझ एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथी सत्कार समितिका संयोजक डा. राजन भट्टराईले रात्रीभोजको आयोजना गरेको जनाइएको छ। विदेशी पाहुनाहरुले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथी सत्कार समितिले जानकारी दिएको छ।
महाधिवेशनमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दललाई निमन्त्रणा गरिएको भएपनि हालसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा सहभागि हुने जानकारी आएको एमाले दशौं राष्ट्रिय महाधिवेशन अतिथी सत्कार समितिले जानकारी दिएको छ।
निधिको योजनापत्र सार्वजनिक
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौंको थापागाउँस्थित एक ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै निधिले सभापतिका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्।
यसअघि नै सम्पर्क कार्यालय खोलेर सभापति पदमा लड्ने तयारी गरेका निधिले बिहीबार घोषणापत्र समेत सार्वजनिक गरेका छन्। उनले घोषणा पत्रमार्फत जनतासँग कांग्रेस र कांग्रेससँग जनता जोड्ने योजना सार्वजनिक गरेका छन्। निधीले देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने बताए।
निधिले पार्टीभित्रका गुटउपगुटलाई उचित व्यवस्थापन गरेर पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएका छन्। उनले प्रधानमन्त्री तथा वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वोच्च नेता बनाउने बताए। उनले देउवा र पौडेलको मार्ग निर्देशनअनुसार नै पार्टी सञ्चालन गर्ने पनि स्पष्ट पारे।
निधिले आगामी तीन तहका निर्वाचनमा कांग्रेसलाई विजयी गराउने, पार्टीभित्र रुपान्तरण, पुस्तान्तरणलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन्। नयाँ पुस्ताको नेतृत्व विकालाई जोड दिने र कांग्रेसलाई गतिशिल बनाउने योजना सार्वजनिक गरेका निधिले कांग्रेसका कार्यकर्तालाई उद्यमशील र आत्मनिर्भर बनाउन कार्ययोजना सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले संविधानको सफल कार्यान्वयन गर्ने आफ्नो प्राथमिकता हुने बताए।
राप्रपाका तीनै अध्यक्षलाई लिङदेनको चुनौती
कमल थापासहितका तीन अध्यक्षलाई चुनौती राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीवार काठमाडौंमा ‘उम्मेदवार घोषणा कार्यक्रम’ को आयोजना गर्दै नेता लिङ्देनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।
राप्रपाको महाधिवेशन आगामी मंसिर १५ गतेदेखि १७ गतेसम्म हुने तय भएको छ। उम्मेदवारी घोषणा गर्दै नेता लिङ्देनले नयाँ नेतृत्वबाटै राप्रपा अगाडी जानुपर्छ भन्ने नेता, कार्यकर्ता सुझाव अनुसार उमेदवारी दिने घोषणा गरेको बताए।
पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै नेता लिङ्देनले राप्रपा यहाँभन्दा बढी खिइने र दुब्लाउने ठाउँ नभएको टिप्पणी गरे। पार्टी एकिकरण भएपनि अध्यक्षत्रयले पार्टीलाई नयाँ दिशा र ऊर्जा दिन नसकेकोले वर्तमान नेतृत्वबाट पार्टी अगाडी बढ्न नसक्ने उनको भनाइ छ। आगामी महाधिवेशन पार्टीका नेता कार्यकर्ताको अग्निपरिक्षा भएको उल्लेख गर्दै उनले पार्टीमा रहेको परम्परागत गुटको अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे।
नेपाली राजनीतिमा पुस्तान्तरणको कुरा सबै पार्टी भित्र उठिरहेको भएपनि अब त्यसको नेतृत्व राप्रपाले सुरु गर्ने उनको भनाइ छ। उनले नेतृत्व सजिलै हस्तान्तरण गर्ने संस्कार बसाउनु पर्नेमा जोड दिए। पार्टी अध्यक्षमा नेता लिङ्देनलाई प्रस्ताव गर्दै राप्रपाका नेता धवल शमशेर राणाले पार्टीलाई उठाउने जिम्मेवारी लिनुपर्ने भएकाले नेतृत्व परिवर्तन गर्न आवश्यक भएको बताए। नेता राणाले हजारौँको संख्यामा राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा जनलहर आएकाले राजनीतिक रुपमै राजतन्त्र र हिन्दूराष्ट्रको मुल्यमान्यतालाई स्थापित गराउनुपर्नेमा जोड दिए।
सर्वोच्चमा मंसिर १५ बाट गोलाप्रथा
सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका न्यायाधीशहरूको फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो।
गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको हो। गोला प्रथाबाट पेशी तोकिने भएसँगै प्रधानन्यायाधीशले आफ्नो तजबिजिमा पेशी तोक्ने अधिकार कटौती भएको छ।
गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए। नेपाल बार एसोसीएसन भने प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन चर्कारहेको छ। गोलप्रथा लागु हुँदैन आन्दोलन नटुंगिने भन्दै जबराले राजीनामा दिनै पर्ने अडान राख्दै आएको छ।
उता प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै करिब एक महिनादेखि आन्दोलित नेपालबार एसोसिएशनको अगुवाइमा नागरिक समाजले मार्चपास गरेको छ।
बिहीबार दिउँसो २ बजेदेखि कानुन व्यवसायीसँगै पेसागत सङ्गठनहरूले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन्। बालुवाटार न्याय मार्च नाम दिइएको मार्चपासको नेतृत्व नेपाल बार एसोसिएसनले गरे पनि बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति महासंघ लगायत, नेपाल शिक्षक संघ, नेपाल इञ्जिनियर्स एसोसिएसन लगायतका पेसागत संघ र संस्थाको समेत सहभागिता रहेको थियो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन र सम्पत्ति छानबिन गर्न मार्चपासमा सहभागीहरुले माग गरेका छन्। सर्वोच्चमा प्रधानन्यायाधीशका रूपमा चोलेन्द्र शमशेर जबरा आएपछि न्यायपालिकामा विसंगति र भ्रष्टाचार बढेको, कार्यपालिका र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको लगायतका आरोप लगाउँदै उनीमाथि कारबाही माग बारले माग गरेको छ।
सरकारले तोकेकै ठाउँमा उद्योग खोल्नुपर्छ : उद्योग सचिव पोखरेल
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताएका छन्। बुधबार उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको परिसंवाद कार्यक्रममा बोल्दै उद्योग सचिव पोखरेलले उद्योगीहरुले जग्गा खरिद गरेर उद्योग स्थापना गर्न असम्भव भएकाले सरकारले तोकेको स्थानमा उद्योग खोल्नु पर्ने बताएका हुन्। उनले उद्योग स्थापनाका लागि जग्गा प्राप्ति अति महंगो र जग्गा पाउनै मुस्किल भएकाले सरकारले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक ग्रामको नीति ल्याएको बताए। सचिव पोखरेले यहि नीति अनुसार उद्योगीहरुले उद्योग स्थापनाको लागि जग्गा खोज्नु नपर्ने तर उद्योगीले सरकारले तोकेको स्थानमा उद्योग खोल्नुपर्ने बताए।
उद्योग सचिव पोखरेलले देशको औद्योगिक क्षेत्रको विकास र त्यससँग सम्बन्धित नीति निर्माण गर्दा निजी क्षेत्रसँग सहकार्य गर्ने र विगतमा पनि गरिरहेको स्पष्ट पारे। त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अहिलेको सबैभन्दा ठूलो समस्या उच्च आयात भएको बताए। सरकारले निर्यात प्रवर्द्धनका लागि गम्भीर रुपमा नलागेको गुनासो गर्दै गोल्छाले मुलुकको औद्योगिक क्षेत्रको विकास गर्न सरकारले निर्यातकर्तालाई सम्मानपूर्वक व्यवहार गर्नु पर्ने बताए। नेपालको अर्थतन्त्र उत्पादन भन्दा पनि आयातमा निर्भर हुनु दुखदः भएको टिप्पणी गरे।
अध्यक्ष गोल्छाले पछिल्लो समय उद्योगले लगानी गर्दा बैंकले लिएको ऋणको ब्याज र खर्चले पनि उद्योगमा लगानी गर्ने निरुत्साहित गदै गएको बताए। बैंकहरुमा अहिले एक महिना भित्र नै ब्याज ३०/४० प्रतिशतसम्म बढ्दै जाँदा उद्योग थप संकटमा परेको गुनसो गरे। ‘स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरूत्थान’ भन्ने नारासहित आज सातौं राष्ट्रिय उद्योग दिवस आज मनाइएको छ।
७७ जनै प्रजिअसँग खोप सहजीकरणबारे छलफल
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग खोप सहजीकरण बारे छलफल गरेका छन्। बिहीवार स्वास्थ्य मन्त्री खतिवडाले नेपालका हरेक जिल्लामा कोरोनाबिरुद्धको खोप अभियानको हालको विवरणबारे जानकारी लिँदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी र विभिन्न स्वास्थ्य विभागका अधिकारीहरुको कुरा सुनिसकेपछि मन्त्री खतिवडाले स्थानीय स्वास्थ्य निकायहरुमा जिल्लास्तरीय, प्रदेशस्तरीय स्वास्थ्य निकायहरुसँग समन्वय गरी चाँडै वडाअध्यक्ष र गाउँ पालिकाका प्रमुखहरुलाई बोलाएर छलफल गर्न आग्रह गरे। उनले गाउँहरुबाट कोरोनाबिरुद्धको खोप लगाएको तथ्यांक आउन नसकेकोले उक्त तथ्यांक उपलब्ध गराउन यसले सहयोग गर्ने बताए।
मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुलाई कोरोनाबिरुद्धको खोप गाउँ तहसम्म पुर्याउन नयाँ किसिमले सोच्न आग्रह गर्दै जिल्लामा भएका स्वास्थ्य केन्द्रबाट बार अनुसार नभइ नियमित खोप सञ्चालन गर्न निर्देशन दिए। उनले विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशन स्थलमा धेरै मानिस जम्मा हुने भएकोले उक्त स्थानमा गएर पनि खोप डेस्क सञ्चालन गरी जनतासमक्ष खोप पुर्याउन उनले आग्रह गरे। सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालिसकेको छ। यस्तै खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन सरकारले आह्वान पनि गरेको छ।
३०८ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३०८ जना कोरोना संक्रमित थपिएका छन्।
८ हजार ९०९ जनामा कोरोना परीक्षण गर्दा ३०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ।
गत २४ घण्टामा २९८ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३९४ रहेको छ। पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
‘घर र समाजको ऐक्यवद्धता, लैङ्गिक हिंसाबिरुद्ध शुन्य सहनशीलता’ भन्ने नारासहीत नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाबिरुद्धको अभियान २०२१ शुरु भएको छ। रोल...
बिहीवार काठमाडौंको माईतीघरबाट महिलाको निम्ति महिला मञ्च नेपाल, नेपाल महिला एकता समाज लगायतका संघ–संस्थाहरुले नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाबिरुद्धको अभियान २०२१ शुरु गरेका हुन्। अभियानमा सहभागीहरुले महिलाहरुमाथि कुनै पनि लैङ्गिक विभेद हुनु नहुने बताएका छन्।
उनीहरुले महिला आन्दोलनबाट प्राप्त गरेका अधिकारलाई सम्मान गर्दै आगामी दिनमा अझ बढी संघर्ष गर्नुपर्ने तर्फ सचेत गराउनलाई १६ दिने महिला हिंसाबिरुद्धको अभियान शुरु गर्नु परेको बताए। समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा घरभित्रै हिँसाको विकराल अवस्था सिर्जना भइरहेको पनि उनीहरुको भनाइ छ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुले कानून शब्दमा बलियो भए पनि कार्यान्वयनमा फितलो भएको भन्दै महिलाहरुको हक सुरक्षित गर्नका लागि कार्यान्वयनमा लैजान सुझाव दिएका छन्। उनीहरुले कानूनको कार्यान्वयन गरेर महिला हक, हीत र रोजगारी सिर्जना गरेपछि मात्रै महिलाहरु समान हुनसक्ने बताए।
कुवेतविरुद्ध नेपालको जित
कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा दोस्रो जीत निकालेको छ।
बिहीबार दुबईमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जीत हात पारेको हो। जीतसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ। नेपाल ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। जीतका लागि कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटिएको थियो। नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय हुँदा दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो।