चितवन– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने बताएका छन्।
महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आज आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भोलि दिउँसो नदी किनारमा मानव समुद्र उर्लिने बताएका हुन्।
प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख भट्टराईले तयारी शतप्रतिशत नजिक भएको भन्दै सभामा ५ लाखको जनसहभागिता रहने दावी गरे। एमालेले नवलपुरको गैँडाकोट सहित चितवनका विभिन्न ७ स्थानबाट विशाल जुलुस निकाल्ने बताएको छ। चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए।
महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकाले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइने जानकारी दिए। चितवनमा बढी भन्दा बढी जनसहभागिता गराउन जिल्लाका विभिन्न ठाउँमा जनताको घरघरमा एमालेका नेता कार्यकर्ता पुगेर निम्ता गरेका छन्। एमाले उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको एमालले जनाएको छ।
महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन्। चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन्। भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित ९१०६ जना० गरी दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहनेछन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन्।
कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित रहेका छन्। महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको उनले जानकारी दिए। एमाले महाविधेशन प्रतिनिधिका लागि मंसिर १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ। भोलि शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिने छ। मंसिर ११ गते बिहान ८।३० बजेबाट बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको छ।
मंसिर ११ गते बेलुका साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दावी विरोध र फिर्ताको समय निर्वाचन आयोगले बनाएको छ। सोही दिन साँझ ६।३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ।
एमालेले महाधिवशेनपछि पार्टीलाई चुनावको तयारीमा लैजाने बताएको छ। प्रचार विभाग प्रमुख भट्टराईले महाधिवेशन पछि एमाले आगामी स्थानीय, प्रदेश र संघको चुनावमा केन्द्रित भएर जनताको बीचमा जाने बताए।