काठमाडौं- नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। एमालेको महाधिवेशनमा शुभकामना दिनका लागि विभिन्न मुलुकका आठ राजनीतिक दलका १५ जना प्रतिनिधिहरु सहभागी हुने महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले जानकारी दिए।
उनका अनुसार पार्टीको महाधिवेशनमा छिमेक तथा मित्रराष्ट्रका भाइचारा र मित्र पार्टीहरुलाई शुभकामनाका लागि आमन्त्रण गर्ने परम्परा अन्तर्गत विभिन्न ६० मुलुकका राजनीतिक दललाई निमन्त्रणा पठाइएको थियो। यद्पि कोरोना महामारी फेरि बढ्दै गएको र धेरै मुलुकहरुले यात्रा प्रतिबन्धलाई सहज बनाइ नसकेका कारण भौतिक उपस्थिति कम हुने डा. भट्टराईले बताएका छन्।
डा. भट्टराईले भने, 'विश्वव्यापी कोरोना महाकारीका बीचमा पनि केही भाइचारा र मित्र पार्टीका प्रतिनिधिमण्डल महाधिवेशनमा ऐक्यबद्धता जनाउन आउनुभएको छ र केही आउने क्रममा हुनुहुन्छ। केहीले महाधिवेशन सफलताको कामना गर्दै लिखित शुभकामना सन्देश पठाउनु भएको छ।'
महाधिवेशनमा सहभागी हुन आउने विदेशी पाहुनाहरुलाई काठमाडौंमा होटल सोल्टी र चितवनमा ग्रिन मेनसन जंगल रिसोर्टमा बसोबासको व्यवस्था मिलाइएको डा. भट्टराईले जानकारी दिए। 'विदेशी पाहुनाहरुले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय भेटवार्ताको पनि कार्यक्रम रहेको छ,' उनले थपे, 'यससँगै चितवनमा स्थानीय पर्यटकीय क्षेत्रहरुको भ्रमण गराइने छ। चितवनको दृश्यावलोकन गर्नुका साथै जीप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम पनि राखिएको छ।'
को-को आउँदैछन्?
एमालेको १० औं महाधिवेशनमा भारत, बंगलादेश, कम्बोडिया र श्रीलंकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता हुने भएको छ। कम्युनिस्ट पार्टीको अफ बंगलादेशको तर्फबाट मोहम्मद हसन तारिक चौधरीको नेतृत्वमा हसन तासिन चौधरी र अब्दुल अल काफीसहित तीन सदस्यीय टोली एमाले महाधिवेशनमा सहभागी हुनेछ।
त्यसैगरी भारतबाट कम्युनिस्ट पार्टी अफ इण्डिया-मार्क्सवादीबाट जोगेन्द्र शर्मा, कम्युनिस्ट पार्टी अफ इण्डियाबाट पल्लव सेन गुप्ता, भारतको सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट पूर्व स्वास्थ्यमन्त्री हर्ष बर्दधन र हरिस द्विवेदी, त्यसैगरी भारतीय राष्ट्रिय कांग्रेसबाट अखिलेस प्रसाद सिंह, कम्युनिस्ट पार्टी अफ इण्डिया- मार्क्सवादी, लेनिनवादी- लिब्रेसनबाट भिरेन्द्र प्रसाद गुप्ता र सन्दीप सौरभ सहाभागी हुने भएका छन्।
कम्बोडिया पिपुल्स पार्टीको तर्फबाट सौस याराको नेतृत्वमा चायर सोक्टी, छेङ किमलोङ र पोभ योसिम सहभागी हुने भएका छन्।
भौतिक रुपमा सहभागी हुन नसक्ने केही राजनीतिक दलहरुले शुभकामना सन्देश पठाएको डा. भट्टराईले बताए। उनका अनुसार उक्त शुभकामना सन्देश उद्घाटन सत्रमा प्ले गरिने भएको छ। शुभकामना सन्देश पठाउनेमा बेल्जियमको वर्कर पार्टी अफ बेल्जियम (पीटीबी-पीभीडीए), कम्युनिस्ट पार्टी अफ इण्डिया (मार्क्सवादी-लेनिनवादी) लिब्रेसन, कम्युनिस्ट पार्टीहरुको साझा सञ्जाल इन्टरनेशनल कन्फेरेन्स अफ एसियन पोलिटिक पार्टी(आइक्याप), ग्रिसको कम्युनिस्ट पार्टी अफ ग्रिस, लाओसको लाओस पिपुल्स रिभोलुसन पार्टी, म्यानमारको युनियन सोलिडारिटी एण्ड डेभल्पमेन्ट पार्टी, श्रीलंकाको कम्युनिस्ट पार्टी अफ श्रीलंका, टर्कीको भटान पार्टी, आयरल्याण्डको सिन फेन इन्टरनेशनलले शुभकामना सन्देश पठाएका छन्।
त्यस्तै फ्रान्सको फ्रेन्च कम्युनिस्ट पार्टी, चीनको चिनियाँ कम्युनिस्ट पार्टी, जर्मनको जर्मन सोसल डेमोक्रेटिक पार्टी, टर्कीकै एके पार्टी, रुसको कम्युनिस्ट पार्टी अफ रसिया, रुसकै फेडरल एसेम्बिली अफ रसियन फेडेरेसन, जर्मनीको लेफ्ट पार्टी अफ जर्मनी, बंगलादेशको रिभोलुसनरी वर्कर पार्टी, भारतको अल इण्डिया फरवार्ड ब्लक, जर्मनीको सोसल डेमोक्रेटिक पार्टी अफ जर्मनी र रुसको अल रसियन पोलिटिकल पार्टी- युनाइटेड रसियाले एमाले महाधिवेशनका लागि शुभकामन सन्देश दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि सहभागी नहुने
नेकपा एमालेको २०४९ माघ १४–२० गतेसम्म भएको पाँचौं राष्ट्रिय महाधिवेशनदेखि चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिहरु लगातार एमाले महाधिवेशनमा सहभागी हुने गरेका थिए। तर, पार्टीको १० औं महाधिवेशनमा भने चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि सहभागी नहुने भएका हुन्।
सीपीसीका प्रतिनिधिको भौतिक सहभागी किन भएन भन्ने प्रश्नमा डा. भट्टराईले भने, 'अहिले कोरोना महामारी बढेसँगै चीनले यात्रामा कडाइ गरेको छ। त्यसकारण त्यताबाट भौतिक उपस्थिति हुन नसक्ने भएकोले शुभकामना सन्देश पठाउनु भएको छ।'
एमाले सत्तामा हुँदा र नेपालका कम्युनिस्टहरुलाई गोलबद्ध गर्ने अभियानमा लागेको चीन पछिल्लो पटक नेकपा एमालेसँग दूरी बढाइरहेको भन्ने विश्लेषण भइरहेको समयमा महाधिवेशनमा सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिनुपर्ने कूटनीतिज्ञहरुले बताइरहेका छन्। एमाले तथा तत्कालीन सत्तारुढ नेकपा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीले नै प्रशिक्षण दिने गरेको भए पनि एमालेको नेतृत्व चयनको समयमा भने शुभकामना सन्देशमै टारेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको भौतिक उपस्थिति नहुनुमा राजनीतिक तथा अन्य कुनै कारण नभएको डा. भट्टराईले दाबी गरे। कोरोना महामारीको दोस्रो लहर चरम बिन्दुमा पुगेको समयमा नेकपालाई एकताबद्ध राख्नका लागि भएको चिनियाँ दौडधुपलाई बिर्सिएर अहिले कोरोना कम भइरहेको समयमा भने कोरोनालाई बाहना गरेर उपस्थित नहुने जनाएको हो।