काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने भएका छन्। यसअघि नै सम्पर्क कार्यालय खोलेर सभापति पदमा लड्ने घोषणा गरेका निधिले बिहीबार घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्र सार्वजनिक गर्दै निधिले भनेका छन्, ‘ विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु। परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु।’
उनले घोषणा पत्रमार्फत जनतासँग कांग्रेस र कांग्रेससँग जनता जोड्ने योजना सार्वजनिक गरेका छन्। यस्तै आम निर्वाचनमा कांग्रेसलाई मतदातासँग जोड्नुपर्नेमा उनको जोड छ। ‘जनतासँग कांग्रेस र कांग्रेससँग जनता मेरो मूल नारा हो। र म जनतालाई कांग्रेससँग र कांग्रेसलाई जनतासँग व्यवहारिक रुपमा जोड्न चाहान्छु,’ निधिले भनेका छन्, ‘जनतासँग कांग्रेस र कांंग्रेससँग जनता नजोडीकन लोकतन्त्र बलियो हुँदैन। नेपाली कांग्रेसलाई बलियो बनाउने हो भने जनतासँग जोड्नैपर्छ। निर्वाचनमा कांग्रेसले मतदातासँग पनि जोड्नपर्छ।’
निधिले पार्टीभित्रका गुटउपगुटलाई उचित व्यवस्थापन गरेर पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएका छन्। ‘कांग्रेसलाई कांग्रेसले हराउने अवस्थाको अन्त्य गर्नेछु, त्यसका लागि गुटउपगुटको उचित व्यवस्थापन गर्नुपर्नेछ,’ निधिले भने, ‘मैले उम्मेदवारी घोषणा गरिसकेपछि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, गोपालमान श्रेष्ठ र कल्याण गुरुङसँग छलफल गरेको छु। उहाँहरु पनि आकांक्षी हुनुहुन्छ। यसको अर्थ गुटउपगुटको उचित व्यवस्थापन गर्ने सन्भर्दको थालनी हो।’
निधिले आगामी तीन तहका निर्वाचनमा कांग्रेसलाई विजयी गराउने, पार्टीभित्र रुपान्तरण, पुस्तान्तरणलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन्। नयाँ पुस्ताको नेतृत्व विकालाई जोड दिने र कांग्रेसलाई गतिशिल बनाउने योजना सार्वजनिक गरेका निधिले कांग्रेसका कार्यकर्तालाई उद्यमशील र आत्मनिर्भर बनाउन कार्ययोजना सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनले संविधानको सफल कार्यान्वयन गर्ने आफ्नो प्राथमिकता हुने बताए। संविधानको सफल कार्यान्वयनपछि नै प्रणाली देश र जनताको हितमा हुने उनको भनाइ छ। उनले पार्टीको रुपान्तरणका लागि पुस्ता हस्तान्तरणलाई प्राथमिकता दिनका लागि एक व्यक्ति एकै पदमा दुई पटक भन्दा निर्वाचित वा मनोनित हुन नपाउने नीति लागू गरिने बताए।
हेर्नुहोस् पूर्णपाठ