काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली केहीबेर अघि चितवन पुगेका छन्। उनी दसौं महाधिवेशनको सिलसिलामा उनी चितवन पुगेका हुन्। एमाले महाधिवेशन भोलि शुक्रबार उद्घाटन हुँदैछ।
महाधिवेशन उद्घाटन स्थल नारायणी किनारामा बनाइएको छ भने प्रतिनिधिहरुको बसोबासका लागि सौराहका होटल बुक गरिएको छ। महाधिवेशनका लागि सबै तयारी पूरा भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।
एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माणसहित आवास व्यवस्थापनको सबै काम पूरा भएको हो। मंसिर १०मा उद्घाटन हुने महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको जिल्ला अध्यक्ष रावलले बताइन्।
महाधिवेशनलाई लक्षित गर्दै चितवनको सीमानाकाहरु मौवाखोला, मुग्लिन, पुलचोक तथा लोथरदेखि नै महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्नेगरी स्वागतद्वार तथा पार्टीका झण्डाहरू राखिएको छ।
महाधिवेशनका क्रममा जिल्लाका विभिन्न स्थानमा एमालेको ६० हजार भन्दा बढी झण्डा, विद्यार्थी संगठन अनेरास्ववियुको झण्डा, अखिल नेपाल महिला संघको झण्डा सहितका झण्डाहरू सडक किनारमा राखिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए।
महाधिवेशनलाई लक्षित गर्दै चितवनको सीमानाकाहरु मौवाखोला, मुग्लिन, पुलचोक तथा लोथरदेखि नै महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्नेगरी स्वागतद्वार तथा पार्टीका झण्डाहरू राखिएको छ।
नेकपा एमालेको महाधिवेशनमा आउने प्रतिनिधि, स्वदेशी तथा विदेशी पाहुना गरी तीन हजार ५०० जनाका लागि आवस व्यवस्थापनको काम भएको आवास व्यवस्थापन समितिका संयोजक एवं संघीय सांसद कृष्णभक्त पोखरेलले बताए। महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउने क्रम सुरु भइसकेको छ।