काठमाडौं– राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई चुनौती दिँदै झापाका राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आफूले राप्रपा जोगाउन अध्यक्ष पदमा लड्न लागेको भन्दै शीर्ष नेताहरुलाई राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन्। हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा आवाज उठाउन पनि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
वडाध्यक्षदेखि महामन्त्रीसम्म
राजेन्द्र लिङदेनको जन्म २०२२ भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो। राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा थालेका हुन्। उनी राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्षसमेत हुन्। लिङदेनले २०४९ र २०५४ सालको चुनावमा झापाको गोलधापमा वडाध्यक्ष विजयी भएका थिए।
यस्तै उनी २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा बनेका थिए। २०५६ सालको संसदीय चुनावमा झापा क्षेत्र नं ३ मा लडेका उनी पराजित भएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा पनि उनी पराजित भएका थिए। त्यति बेला उनलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित भएका थिए। तर २०७४ सालको संघीय प्रतिनिधिसभा निर्वाचनमा लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा कांग्रेसका प्रभावशाली नेता सिटौलालाई हराएका थिए।
‘राजेन्द्र लिङ्देनहरूले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुन्छ। कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको पनि समाप्त हुन्छ। अनि कहाँको राजसंस्थाको पुनःस्थापना कहाँको हिन्दु राष्ट्र?’
२०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङदेन २०७० सालमा राप्रपा नेपालको महामन्त्री भएका हुन्। सामान्य परिवारमा जन्मेर पञ्चायती राजनीति हुँदै बहुदल आएपछि राप्रपाको राजनीतिमा लागेका झापाली नेता लिङदेनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपा पार्टीको साख जोगाएका थिए। उनी संघीय प्रतिनिधिसभामा राप्रपाका एक मात्र सांसद हुन्।
उनले पार्टीलाई बचाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए। उनले भने, मैले बाध्य भएर उम्मेदवारी दिएको हुँ। राप्रपाको समाप्ति रोज्नुपर्ने कि बाध्यात्मक रूपमा अगाडि बढ्नुपर्ने विकल्पमध्ये दोस्रो विकल्प रोजेको हुँ।’
राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका लागि पनि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ। उनले भने, ‘राजेन्द्र लिङ्देनहरूले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुन्छ। कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको पनि समाप्त हुन्छ। अनि कहाँको राजसंस्थाको पुनःस्थापना कहाँको हिन्दु राष्ट्र?’ उनले नेतात्रयलाई अभिभावकीय भूमिकामा बस्न पनि आग्रह गरे। थापा, जबरा र लोहनीविरुद्ध उठ्न कसैले आँट नगरिरहेको अवस्थामा लिङ्देन अघि बढेका हुन्।