काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्रप्रसाद लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरी लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनी राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य हुन्।
लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरूले साथ दिएका छन्। राप्रपामा पशुपतिशमशेर राणा, कमल थापा र प्रकाशचन्द्र लोहनी अध्यक्ष छन्। तीनै जना यस पटक पनि अध्यक्षका दाबेदार हुन् । लिङ्देनले तीनै नेतालाई चुनौती दिएर उम्मेदवारी घोषणा गरेका हुन्।
उनले पार्टीलाई बचाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए। उनले भने, मैले बाध्य भएर उम्मेदवारी दिएको हुँ। राप्रपाको समाप्ति रोज्नुपर्ने कि बाध्यात्मक रूपमा अगाडि बढ्नुपर्ने विकल्पमध्ये दोस्रो विकल्प रोजेको हुँ।’
राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका लागि पनि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ। उनले भने, ‘राजेन्द्र लिङ्देनहरूले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुन्छ। कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको पनि समाप्त हुन्छ। अनि कहाँको राजसंस्थाको पुनःस्थापना कहाँको हिन्दुराष्ट्र?’ उनले नेतात्रयलाई अभिभावकीय भूमिकामा बस्न पनि आग्रह गरे। थापा, जबरा र लोहनीविरुद्ध उठ्न कसैले आँट नगरिरहेको अवस्थामा लिङ्देन अघि बढेका हुन्।