काठमाडौं- हत्या अभियोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको समयमा सभामुख अग्निप्रसाद सापकोटा युरोप भ्रमण जान लागेको भन्दै त्यसलाई रोक्न जवाफदेहिता निगरानी समितिले माग गरेको छ।
काभ्रेका अर्जुन लामाको हत्या प्रकरणका प्रमुख आरोपीका रुपमा मुद्दा खेपिरहेका सापकोटाविरुद्ध चरण प्रसाई नेतृत्वको समितिले बुधबार विज्ञप्ति निकाल्दै युरोप भ्रमणका लागि दिइएको निम्ता रद्द गर्न आग्रह गरेको हो।
विश्वका राष्ट्रिय संसदहरूको संगठन अन्तर संसदीय युनियन (आईपीयू) को आयोजनामा स्पेनको मड्रिडमा आगामी २६-३० नोभेम्बरसम्म हुने वार्षिक बैठकमा सभामुख सापकोटालाई पनि बोलाइएको छ।
तर उनीविरुद्ध गम्भीर मानवअधिकार उल्लंघन र जघन्य हत्या आरोपमा मुद्दा चलिरहेको भन्दै समितिले उनलाई पठाइएको निमन्त्रणा फिर्ता लिन आईपीयूलाई आग्रह गरेको छ।
समितिले स्पेन सरकारलाई पनि सापकोटाको भ्रमण रोक्ने गरी नेपालस्थित संसदलाई तत्काल पत्राचार गर्न पनि आग्रह गरेको छ। सापकोटाविरुद्ध २०६२ साल वैशाख १६ गते काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या आरोप लागेका सापकोटाविरुद्धको मुद्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन छ।