विराटनगर- नेकपा एमालेले १० औं महाधिवेशनका लागि १०६ जना प्रतिनिधि मनोनित गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले १०६ जना मनोनित गर्दा प्रदेश १ बाट तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलदेखि दुर्गा प्रसाईंसम्म मनोनित भएका छन्।
ढुंगेललाई जनयुद्धको समयमा व्यक्ति हत्याको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर जेल सजाय तोकिएको थियो। उनलाई गणतन्त्र दिवसका अवसरमा २०७५ जेठ १४ मा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन्।
सर्वोच्च अदालतले द्वन्द्वकालिन घटनासम्बन्धी एक मुद्दामा जेलमा रहेका पूर्वसभासद बालकृष्ण ढुंगेलको सजाय माफी दिने विषयको सक्कल फाइल पेश गर्न सरकारलाई आदेश दिएकै दिन राष्ट्रपतिले ढुंगेलको रिहार्इका लागि स्वीकृति दिएकी छन् ।
प्रसाईं झण्डै एक महिनाअघि एमालेमा प्रवेश गरेका थिए। तर, उनी एमाले प्रवेश गर्नुअघि नै काठमाडौंमा भएको विधान महाधिवेशनको प्रतिनिधि भएर सहभागी भएका थिए।
मोरङबाट लता प्याकुरेल, डा. नेत्रप्रसाद तिम्सीना, झापाबाट गीता अधिकारी, जलबर्षा राजवंशी, गोविन्द थापा, दुर्गा प्रसाई, अमर सिवाकोटी, सुनसरीबाट मञ्जु भण्डारी, मीना श्रेष्ठ, डम्वर सुवेदी, ताप्लेजुङबाट होमकुमारी साँवा, क्षितिज थेवे, ओखलढुंगाबाट बालकृष्ण ढुंगेल, खोटाङबाट डा. देवराज रोका, भोजपुरबाट पर्शुराम अधिकारी, संखुवासभाबाट खड्ग राई, उदयपुरबाट महेश्वर चौधरी, तेहृथुमबाट बाबुराम थापा महाधिवेशन प्रतिनिधि मनोनित भएका छन्।
१८ जना मनोनित भएको मध्ये ५ जना झापाका छन्। १३ जना अन्य जिल्लाका मनोनित भएका छन् । सोलुखुम्बु, धनकुटा, इलाम, पाँचथरबाट महाधिवेशन प्रतिनिधि मनोनित हुन सकेनन्।