मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • एमालेले अब कसैसँग एकता नगर्ने, अदालतको समस्याबारे ओली-प्रचण्डको 'दोहोरी' [२०७८-८-८]

एमालेले अब कसैसँग एकता नगर्ने, अदालतको समस्याबारे ओली-प्रचण्डको 'दोहोरी' [२०७८-८-८]

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने भएको छ। गोलाप्रथा प्रणाली लागू गर्नेबारे निर्णय गर्न भोलि (बिहीबार) सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठक बस्ने भएको छ।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

सर्वोच्चमा मंसिर १५ बाट लागू हुँदै गोलाप्रथा प्रणाली

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने भएको छ। गोलाप्रथा प्रणाली लागू गर्नेबारे निर्णय गर्न भोलि (बिहीबार) सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठक बस्ने भएको छ। 

फूल कोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेक सबै न्यायाधीशहरु सहभागी हुने जनाइएको छ। भोलिको फुलकोर्टले निर्णय गरेपछि मंसिर १५ गतेबाट गोलाप्रथाबाट पेसी तोक्ने गरि तयारी थालिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। गोलाप्रथाबाट पेसी तोकिन थालेपछि प्रधानन्यायाधीशले आफूखुसी पेशी तोक्ने अवस्थाको अन्त्य हुनेछ। 

न्यायाधीशहरूले बिहीबार फुलकोर्ट बस्नुअघि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्षद्वय चण्डेश्वर श्रेष्ठ र पूर्णमान शाक्यसँग पनि छलफल गर्नेछन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनले तोकेको इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरूले गोला प्रक्रियाद्वारा पेसी तोक्ने सुनिश्चित गरेपछि इजलास फर्कन लागेका हुन्। यद्यपी नेपाल बार भने प्रधानन्यायाधीश जबराको राजीनामा बाहेकमा आफ्नो सहमती नरहने जनाउँदै निरन्तर आन्दोलनमा छ।

सर्वोच्चको आन्दोलन ५ दलीय छटपटी : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनलाई पाँच दलीय छटपटीको संज्ञा दिएका छन्।

काठमाडौंमा आयोजित साइबर सर्कलको घोषणा कार्यक्रममा उनले घटना सर्वोच्च अदालतमा भए पनि सत्तारुढ पाँच दलको छटपटी भएको टिप्पणी गरेका हुन्। ओलीले अदालतमा देखिएको आन्दोलनलाई नेकपा एमालेमाथि प्रहार गरिएको ब्रम्हास्त्र फर्किएर पाँच दलका नेताको टाउकोमा लागेको संज्ञा दिए। उनले न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको तर धामीमार्फत उपचार खोजिएको पनि टिप्पणी गरे। न्यायालयमा अप्रेशन आवाश्यक भएकाले पन्छिने वा फुक्ने कामले मात्रै केहि नहुने बताए। ओलीले  न्यायालयको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा भने केहि बताएनन्। 

यस्तै ओलीले पाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेले कुनै पनि पार्टीसँग एकता र एकीकरण नगर्ने बताएका छन्। अब एमालेमा नो एकता नो एकीकरण भन्दै उनले भने एमालेमा आउन चाहनेका लागि भने बाटो खुला नै हुनेछ। यस्तै ओलीले सत्तारुढ गठबन्धले आफू नेतृत्वको सरकारले गरेका कामहरू मेटाउन लागिपरेको आरोप समेत लगाए। सत्तारुढ गठबन्धनले सकेदेखि धरहरा ढाल्ने र रानीपोखरी पुर्ने उनको भनाइ थियो। 

न्यायालयको समस्या समाधान गर्न सरकार तयार : प्रचण्ड

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन्। बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँगको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समाधान गर्न तयार रहेको बताएका हुन्। 

उनले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलहरुको नै गम्भीर ध्यानाकर्षण भएको भन्दै दुई दिनको अवस्था हेरेर समस्या समाधान गर्ने बताए। अध्यक्ष प्रचण्डले अदालतमा ठूलै समस्या हुन्छ भन्ने कतिपयले कल्पना गरेको भएपनि गठबन्धनलाई कुनै ठूलो समस्या सिर्जना हुन्छ भन्नेमा गठबन्धन नरहेको बताएका छन्। 

अध्यक्ष प्रचण्डले ५ दलीय समन्वय समिति बनाउँदा कतिपयले सरकार भन्दामाथि भएको टिप्पणी गरिरहेको भन्दै समन्वय समिति पार्टीहरुबीचको सम्बन्ध सुदृढ बनाउनका लागि मात्र भएको बताए। उनले गढबन्धनलाई अब आउने चुनावसम्म लैजाने दाबी गर्दै अब राष्ट्रियसभामा खालि १९ सिटको चुनाव मिलेर लड्ने पनि बताए। अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन भयो भने पनि मिलेर प्रतिष्पर्धा गर्ने बताए। 

प्रचण्डले राष्ट्रिय सहमतिमा एमसीसी पास गरिने बताए। उनले संघीय, प्रादेशिक र स्थानीय निर्वाचन एकै पटक गर्दा राष्ट्रको अर्बौं सम्पत्ति बच्ने भएकोले एकैपटक निर्वाचन गराउने बारेमा छलफल भइरहेको पनि जानकारी दिए। 

सूर्य चिन्हको धाक नलगाउन ओलीलाई नेपालको चेतवानी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन्।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँड्न आवाश्यक नभएको टिप्पणी गरे। 

बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेको दावी समेत गरे। अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको र यही मंसीर १५ गतदेखि सो चिन्हको स्किटर लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान संचालन गर्ने घोषणा समेत गरे। 

अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुरनै राख्न उपयुक्त हुने धारणा समेत राखे। उनले मधेश प्रदेश बन्न सक्छ कि सक्दैन ? भनि स्थानीय सञ्चारकर्मीहरुले सोधेको प्रश्नप्रति इन्कार गर्दै त्यस सम्बन्धमा राजनीतिक दलहरुबीच छलफल गरेर मात्रै केही बोल्न सकिने बताए। 

जसपा बैठकमा प्रदेश २ मुख्यमन्त्रीको राजीनाबारे छलफल 

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा मागिनुका साथै पार्टी अध्यक्षको कार्यशैलीप्रति समेत प्रश्न उठेको छ। 

काठमाडौंमा जारी जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागिएको हो। पार्टीमा छलफलै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने खेल चलिरहेको आरोप लगाउँदै कार्यकारिणी सदस्यहरुले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीको आलोचना गर्नुका साथै मुख्यमन्त्री राउतले राजीनामा गर्नुपर्ने माग गरेका थिए। 

केह साता अगाडि मात्रै प्रदेश २ को मन्त्री पदबाट पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफलै नगरी बिना कारण मन्त्री पदबाट हटाउनु आफ्नो अपमान भएको भन्दै आक्रोश व्यक्त गरेका थिए। मुख्यमन्त्री राउतमाथि भ्रष्टाचारको आरोप लागिरहेको समयमा उनले राजीनामा दिनुको साटो मन्त्री हटाउनु उचित नरहेको रायको भनाइ थियो।

अर्थमन्त्री भन्छन्- बजेटप्रणाली समस्याग्रस्त 

अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको स्वीकार गरेका छन्। नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै मुलुकको राजस्वले चालु खर्च पनि धान्न मुस्किल भएको बेला निजी क्षेत्र नीजी स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए। 

अर्थमन्त्री शर्माले नीजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा बताएका छन्। अर्थमन्त्री शर्माले नीजी क्षेत्रको लगानी राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनुपर्ने बताए।

अर्थमन्त्री शर्माले अब सरकारसँग मिलेर नीजि क्षेत्रले ठूला पुर्वाधार निर्माणमा लगानी गर्न आग्रह समेत गरे। त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकोले अहिले बजारमा तरलताको अभाव नभएको बताए। उनले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि तरलताको समस्या देखिएको बताए। 

गभर्नर अधिकारीले विश्व अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको बताए। उनले नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको बताए। अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप पर्दै गइरहेको छ। यसरी चाप गर्दा मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको समेत उनको भनाइ छ। 

खाडीमा घरेलु कामदार पठाउने प्रतिबन्ध फुकुवा गर्न मन्त्रीको माग

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन्।

मन्त्री श्रेष्ठले बिदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा यस्तो आग्रह गरेका हुन्। उनले कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमै बसेको र बिदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट वञ्चित भएको बताए।

समितिको बैठकमा सांसदहरूले भने बिचौलियाका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरू ठगिने गरेको भन्दै बिचौलिया नियन्त्रण गर्न कठोर कदम चाल्न मन्त्री श्रेष्ठलाई सुझाव दिए। यस्तै वैदेशिक रोजगारमा जाने कामदारका लागि व्यवस्था गरिएको फ्री भिसा फ्री टिकट कार्यान्वयन नभएको भन्दै सांसदले गुनासो गरेका छन्। सांसदहरूले निर्णय भएको लामो समय बित्दा पनि कामदारले म्यानपावर व्यवसायीलाई मोटो रकम बुझाउनुपर्ने अवस्था विद्यमान रहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। बुधबार बालुवाटार पुगेर अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी ) अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्। 

ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले बताइन्। पछिल्लो पटक इन्धनको मूल्यवृद्घिपछि विद्यार्थी संगठनहरु आन्दोलन गर्दै आएका छन्।

३३२ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन्।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ भने ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ जना रहेका छन्।

पुनः वार्ता बस्दै अमेरिका-तालिवान

अमेरिका र तालिबानले पुनः वार्ता गर्ने भएका छन्। दुबै पक्षबीच आगामी हप्ता कतारमा पुनः वार्ता हुन लागेको हो।

अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार दुबै पक्षबीच बैठक बस्न लागेको र बैठकमा आ–आफ्ना ‘राष्ट्रिय चासो’बारे छलफल हुने जानकारी गराएका हुन्। अफगानिस्तानका लागि विशेष अमेरिकी प्रतिनिधि टोम वेस्ट नेतृत्वको टोलीले आगामी हप्ता ताइवानसँग वार्ता गर्ने समाचारमा उल्लेख छ।

अमेरिका र तालिबानबीच दुई हप्तासम्म चल्ने वार्तामा इस्लामिक स्टेट (आईएस–के) तथा अलकायदाविरुद्धको लडाइँ, अफगानिस्तानको मानवीय संकट, संकटग्रस्त अर्थतन्त्रबारे छलफल हुने टीआरटी वर्ल्डले जनाएको छ।त्यस्तै, विगत २० वर्षदेखि अमेरिकाका लागि काम गरेका अफगान नागरिक तथा अमेरिकीहरूलाई काबुलबाट सुरक्षित साथ लैजाने विषयमा समेत छलफल हुनेछ।

प्रकाशित: Nov 24, 2021| 19:37 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।