काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।
अध्यक्ष ओलीले प्रचण्ड कांग्रेसलाई बिगार्न पछि लागेको भन्दै होशियार रहन आग्रह गरेका हुन्। बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले गठन गरेको साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उनले प्रचण्डले कांग्रेसलाई बिगार्न समातेको दाबी गरेका छन्। उनले आफूहरुलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड कांग्रेसको पछि लागेको बताए।
उनले भने, ‘कांग्रेसको पछि लाग्ने प्रचण्डको पछि लागेर देश बन्छ? बहुमतको कम्युनिष्ट पार्टी फुटाएर चोइटो लिएर कुँदने त्यस्ताहरुको पछि लागेर देश बन्छ? प्रचण्डले सधै समस्या खडा गर्ने। हामीलाई बिगार्न खोजेका थिए। नबिग्रिने देखेपछि टाप। का बिग्रन्छ एमाले? अब कांग्रेसलाई समातेछ। म कांग्रेसलाई चेतावनी दिन चाहन्छु- कांग्रेस होशियार। प्रचण्डले भ्याई दिन्छन्। हामीलाई भ्याउन खोजेका थिए प्रचण्डले, सकेनन्।’
अध्यक्ष ओलीले कांग्रेसको पुच्छर बनेका प्रचण्ड र माधव नेपालबाट देश बन्छ भन्ने कल्पना नगर्न समेत पटकपटक आग्रह गरे। उनले सञ्चार क्षेत्रमा बाह्य लगानी भित्र्याएर मुलुकलाई डरलाग्दो अवस्था पुर्याउने प्रयास भईरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा लाग्न पनि साइबर सर्कललाई आग्रह गरेका छन्।
उनले राष्ट्र, राष्ट्रियता, मुलुकको समृद्धि र विकासका लागि वातावरण बनाउने काममा सञ्चामाध्यामहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन्। अध्यक्ष ओलीले भने, ‘नदेखिने गरी बाह्य लगानी सञ्चारको क्षेत्रमा? यो डरलाग्दो कुरा छ। सञ्चारको माध्यमबाट सूचना, सूचना प्रविधि, यो सबै कुरा हातमा लिने। र त्यसलाई प्रयोग गरेर गलत बाटोमा र लगानीकर्ताहरुको हितमा त्यसलाई प्रयोग गर्ने, दुरुपयोग गर्ने र राजनीतिलाई विकृत बनाउने, समाजको अग्रगमनलाई अवरोध खडा गर्ने, राष्ट्रिय एकतालाई कमजोर पार्ने, देशभित्र विभिन्न छिद्रहरु खोजेर त्यहाँ पहिलो धाँजा बनाउने अनि धाँजामा फेसा ठोकेर समाजलाई विभाजित गर्ने यस्ता प्रयासहरु भईरहेका छन्।'
अध्यक्ष ओलीले सर्वोच्च अदालतमा भइरहेका गतिविधिको मुख्य दोषी पनि सत्तारुढ गठबन्धन भएको आरोप लगाए।