शुक्रबार, भदौ ५, २०८३

जसपामा अध्यक्ष यादवको आलोचना, मुख्यमन्त्री राउतको राजीनामा माग

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा मागिनुका साथै पार्टी अध्यक्षको कार्यशैलीप्रति समेत प्रश्न उठेको छ।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा मागिनुका साथै पार्टी अध्यक्षको कार्यशैलीप्रति समेत प्रश्न उठेको छ। काठमाडौंमा जारी जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागिएको हो।

पार्टीमा छलफलै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने खेल चलिरहेको आरोप लगाउँदै कार्यकारिणी सदस्यहरुले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीको आलोचना गर्नुका साथै मुख्यमन्त्री राउतले राजीनामा गर्नुपर्ने माग गरेका थिए। केह साता अगाडि मात्रै प्रदेश २ को मन्त्री पदबाट पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफलै नगरी बिना कारण मन्त्री पदबाट हटाउनु आफ्नो अपमान भएको भन्दै आक्रोश व्यक्त गरेका थिए। मुख्यमन्त्री राउतमाथि भ्रष्टाचारको आरोप लागिरहेको समयमा उनले राजीनामा दिनुको साटो मन्त्री हटाउनु उचित नरहेको रायको भनाइ थियो।

उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भ्रष्टाचार भएको प्राराम्भिक अनुसन्धानबाट ठहर गरिसकेको छ,’ कार्यकारणी समिति सदस्य समेत रहेका रायले भने, ‘मुख्यमन्त्री राउतले राजीनामा दिएर पार्टीको प्रतिष्ठा जोगाउनुपर्छ, मुख्यमन्त्रीले राजीनामा नदिए अख्तियारले विशेष अदालतमा मुद्दा गरे स्वतः पदमुक्त हुँदा पार्टीको प्रतिष्ठामाथि नै ठूलो आघात पुग्ने छ। समयमै पार्टीको नेतृत्व तहले उपयुक्त कदम चाल्नुपर्छ। नभए पार्टीमाथि नै आघात पुग्न सक्ने अवस्था आउन सक्छ।’  

जसपाको सो बैठकमा डा. बाबुराम भट्टराई पक्षधर तथा महेन्द्र यादव पक्षधर केही नेताहरुले समेत मुख्यमन्त्री राजीनामा माग गरेको पार्टी स्रोेतको दाबी छ। यद्यपि प्रदेश २ को सामाजिक विकास मन्त्री समेत रहेका कार्यकारिणी समिति सदस्य नवलकिशोर साहले राय आक्रोशमा आएर राजीनामाको माग गरेपनि त्यस सम्बन्धमा बैठकमा कुनै किसिमको छलफल नभएको जानकारी दिए।

दुई अध्यक्षीय प्रणालीको माग

जसपा कार्यकारिणी समितिको जारी बैठकमा अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति पनि आलोचना भएको छ। बैठकमा नेताहरुले अध्यक्ष यादव पार्टीभित्र एक पक्षिय रुपमा अगाडि बढ्दै गइरहेको भन्दै आलोचना गरेको पार्टी श्रोतको दावी छ। पार्टी भित्र विधि तथा पद्धतिको मजाक उडाइएको नेताहरुको आरोप थियो।

बैठकमा हिसिला यमी, नवराज सुवेदी, रामनरेश राय यादवले पार्टीमा विना संस्थागत निर्णय गरेर जसरी अगाडि बढ्ने परिपाटीको विकास भइरहेको भन्दै यो पार्टीका लागि घातक हुने बताएका थिए। नेताहरुले पार्टी एकिकरणको समयमा दुई वटा अध्यक्षको परिकल्पना गरिएको र त्यसले शक्ति संतुलन गर्ने भएकोले पार्टीमा दुई अध्यक्षको माग समेत उठेको बताइएको छ।   

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले भने आफ्नो बचाउ गरेको एक नेताले बताए। यता सामाजिक विकास मन्त्री नवल साहले २ अध्यक्षीय प्रणालीको विषयमा विधानमा रहेको व्यवस्थालाई हटाउन विधान संशोधन प्रकृया चाँडै नै अगाडि बढाइने जानकारी दिए। उनले दुई अध्यक्षीय प्रणाली विफल सावित भइसकेकोले २ अध्यक्षीय प्रणालीको व्यवस्था विधानबाट हटाउनका लागि विधान संशोधन गर्ने प्रकृया चाँडै नै अगाडि बढाइने बताए।  

बैठकले कार्यकारिणी समितिमा १२ जनालाई थप गर्ने निर्णय समेत गरेको छ। कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला पुर्याउन संख्या थप गर्न लागिएको हो। १६ जना  कार्यकारिणी समिति थप गर्नुपर्ने रहेपनि हाललाई ४ जनाको स्थान रिक्त राख्ने सहमति भएको एक नेताले बताए। बैठकमा पूर्वमन्त्री राजकिशोर यादव, मुख्यमन्त्री लालबाबु राउत, नवराज सुवेदी, गंगा श्रेष्ठ, अमृता अग्रहरी, गजाधर यादव लगायतले आफ्नो मन्तव्य राखेका थिए। जसपाको कार्यकारिणी समितिको बैठक बुधवार समेत जारी रहने छ। 

प्रकाशित: Nov 24, 2021| 13:40 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...