काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तहगत रुपमा अधिवेशन भइरहेका छन्। वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको रन्को देशभर लागेको छ। अधिवेशनको नतिजा आउने क्रम जारी छ।
अहिलेसम्म ७७ मध्ये २५ जिल्लाको नतिजा प्राप्त भएको छ। २५ जिल्लामध्ये सभापति शेरबहादुर देउवा (संस्थापन) समूहका १३ र वरिष्ठ नेता रामचन्द्र पौडेल (संस्थापन इतर) समूहका ११ जना जिल्ला सभापति निर्वाचित भएका छन्। एक सभापति भने कुनै पक्षमा पनि खुलेका छैनन्।
संस्थापन समूहबाट मनाङमा शंकर गुरुङ, हुम्लामा मोहन विक्रम सिंह, ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, रामेछापमा पूर्णबहादुर (कान्छाराम) तामाङ, मुगुमा ऐनबहादुर शाही, पाँचथरमा रुपनारायण जगेबु जिल्ला सभापति निर्वाचित भएका छन्। यस्तै संस्थापन समूहबाटै लमजुङमा टकराज गुरुङ, सल्यानमा केशवहादुर विष्ट, डडेल्धुरामा भीमबहादुर साउद, म्याग्दीमा खमबहादुर गर्बुजा, बझाङमा खडकबहादुर बोहोरा, डोल्पामा दीपेन्द्रबहादुर शाही र जुम्लामा कर्णबहादुर शाही सभापतिमा निर्वाचिन भएका छन्।
संस्थापन इतर समूहबाट मुस्ताङमा रोमी गौचन थकाली, रुकुम पूर्वमा केशरमान रोका, कालिकोामा अम्बरबहादुर शाही, संखुवासभामा दीपक खड्का, गोरखामा नन्दप्रसाद न्यौपाने, दोलखामा बर्मा लामा जिल्ला सभापतिमा निर्वाचित भएका छन्। यस्तै संस्थापन इतर समूहबाटै बाजुरामा रामसिंह रावल, भोजपुरमा विनोद वान्तवा, अर्घाखाँचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी र बैतडीमा चतुरबहादुर चन्द जिल्ला सभापतिमा निर्वाचित भएका छन्। जाजरकोटका वेदराज सिंह भने कुनै पक्षमा खुलेका छैनन्।
१३ औं महाविधेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकटले सभापति जितेका जिल्लामा यस पटक सभापति शेरबहादुर देउवा समूहले बाजी मारेको छ। यस्तै १३ औं अधिवेशनमा देउवा समूहले सभापति जितेको जिल्लामा यसपटक पौडेल समूह नेतृत्वमा आएको छ।
ती जिल्लामा रामेछाप, मुगु, ताप्लेजुङ, गोरखा, रुकुम पूर्व, संखुवासभा, कालीकोट, पाँचथर, लमजुङ र जुम्ला छन्। रामेछापमा अघिल्लो महाधिवेशनबाट पौडेल पक्षका लवश्री न्यौपाने सभापति थिए। तर, यसपटक देउवा समूहका कान्छाराम तामाङ नेतृत्वमा आएका छन्।
मुगुमा १३ औं महाधिवेशनमा पौडेल पक्षका दीपबहादुर शाही सभापति निर्वाचित भएका थिए। तर, यसपटक देउवा समूहले नेतृत्व खोसेको छ। देउवा समूहका ऐनबहादुर शाही सभापति निर्वाचित भएका छन्।
यसपटक पौडेल समूहले ताप्लेजुङ पनि गुमाएको छ। अघिल्लो महाधिवेशनमा ताप्लेजुङमा पौडेल पक्षकी लीला बोखिम सभापति निर्वाचित भएकी थिइन्। तर, यसपटक देउवा समूहका गजेन्द्रप्रसाद तुम्याहाङ सभापतिमा निर्वाचित भएका छन्।
पौडेल पक्षले पाँचथर पनि गुमाएको छ। १३औं महाधिवेशनमा पाँचथरमा पौडेल समूहका नरेन्द्र केरुङ सभापति निर्वाचित भएका थिए। तर, यसपटक भने देउवा समूहले पाँचथरको नेतृत्व पौडेल समूहबाट खासेको छ। अहिले पाँचथरमा देउवा पक्षका रुपनारायण जगेबु जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
यस्तै पौडेल पक्षले लमजुङ पनि गुमाएको छ। १३औं महाविधेशनमा लमजुङमा पौडेल समूहका भेषबहादुर पौडेल जिल्ला सभापति बनेका थिए। यसपटक भने देउवा समूहका टकराज गुरुङ जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
यसपटक पौडेल समूहले जुम्ला पनि गुमाएको छ। अघिल्लो महाधिवेशनमा जुम्लामा पौडेल समूहका दीपबहादुर शाही जिल्ला सभापति थिए। तर, यसपटक देउवा समूहका कर्णबहादुर शाही जिल्ला सभापतिमा निर्वाचित बनेका छन्।
डोल्पामा पनि पौडेल समूहले आफ्नो पकड गुमाएको छ। अघिल्लो महाधिवेशनमा पौडेल समूहका अंगतबहादुर बुढा निर्वाचित भएकोमा यसपटक देउवा समूहका शाहीले जितेका हुन्। यसरी हेर्दा पौडेल समूहले अघिल्लो महाधिवेशनमा जितेका ७ जिल्ला गुमाएको छ।
देउवा समूहले दोलखा, गोरखा र बाजुरा गुमाएको छ। दोलखामा अघिल्लो पटक देउवा समूहका रुद्रबहादुर खड्का सभापति बनेका थिए। तर, यसपटक पौडेल समूहका बर्मा लामाले बाजी मारेका छन्। गोरखामा अघिल्लो पटक देउवा समूहका हरि घले सभापति बनेका थिए। तर, देउवा समूहले यसपटक गोरखा गुमाएको छ।
सभापतिमा पौडेल पक्षका नन्दप्रसाद न्यौपाने सर्वसम्मत बनेका छन्। गढ मानिने बाजुरा यसपटक देउवाको हातबाट फुत्किएको छ। अघिल्लो पटक बाजुरामा देउवा समूका कविराज पण्डित सभापति थिए। तर, यसपटक पौडेल पक्षका रामसिंह रावलले नेतृत्व हत्याएका छन्।
कसले कहाँ जिते?
क्र.सं. जिल्ला सभापतिको नाम पक्ष
१. मुस्ताङ रोमी गौचन थकाली संस्थापन इतर
२. मनाङ शंकर गुरूङ संस्थापन
३. रुकुमपूर्व केशरमान रोका संस्थापन इतर
४. हुम्ला मोहन विक्रम सिंह संस्थापन
५. ताप्लेजुङ गजेन्द्रप्रसाद तुम्याहाङ संस्थापन
६. रामेछाप पूर्णबहादुर (कान्छाराम) तामाङ संस्थापन
७. कालिकोट अम्बरबहादुर शाही संस्थापन इतर
८. संखुवासभा दीपक खड्का संस्थापन इतर
९. गोरखा नन्दप्रसाद न्यौपाने संस्थापन इतर
१०. दोलखा बर्मा लामा संस्थापन इतर
११. मुगु ऐनबहादुर शाही संस्थापन
१२. बाजुरा रामसिंह रावल संस्थापन इतर
१३. भोजपुर विनोद वान्तवा संस्थापन इतर
१४. पाँचथर रुप नारायण जगेवु संस्थापन
१५. अर्घखाँची केशव श्रेष्ठ संस्थापन इतर
१६. प्यूठान विष्णुकुमार गिरी संस्थापन इतर
१७. लमजुङ टकराज गुरुङ संस्थापन
१८. बैतडी चतुरबहादुर चन्द संस्थापन इतर
१९. सल्यान केशवबहादुर विष्ट संस्थापन
२०. डडेल्धुरा भीमबहादुर साउद संस्थापन
२१. म्याग्दी खमबहादुर गर्बुजा संस्थापन
२२. बझाङ खडकबहादुर बोहोरा संस्थापन
२३. जाजकरकोट वेदराज सिंह नखुलेका
२४. जुम्ला कर्णबहादुर शाही संस्थापन
२५. डोल्पा दीपेन्द्रबहादुर शाही संस्थापन