नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे टंकमणिको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दाङबाट बुटवल फर्कँदै गर्दा गएराति साँढे ९ बजे तिर पूर्वबाट पश्चिम आउँदै गरेको ना७ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु२६प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई घाइते बनाएको थियो।
घाइते भएपछि बुटवलस्थित लुम्बिनी सिटीमा उपचारका क्रममा बुधबार बिहान ६ बजे उनको मृत्यु भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए। बन्जाडे दाङमा भएको घाइते अपाङ्गको बैठकमा सहभागी भएर फर्कँदै गर्दा बुटवल जीतगढीमा दुर्घटना भएको थियो।
बारले देशभरका सबै उच्च अदालतमा बृहत् विरोध सभा गर्दै
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशले बुधबार देशभरका सबै उच्च अदालतमा बृहत् विरोध सभा गर्दै छ।
१८ वटै उच्च अदालतमा धर्नाका लागि कानुन व्यवसायीहरू भेला भएर प्रदर्शन गरिरहेका छन्। करिब एक महिनादेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै बारले आन्दोलन चर्काइरहेको छ।
तेस्रो चरणको आन्दोलन गरिरहेको बारको आह्वानमा भोलि नागरिक समाजसहित विभिन्न पेसागत संगठनले सर्वोच्च अदालतदेखि प्रधानमन्त्रीनिवास बालुवाटारसम्म 'मार्चपास' गर्ने भएका छन्। सर्वोच्च अदालत केन्द्रीत आन्दोलन गर्दै आएको बारले आफ्नो आन्दोलन फैलाउन सुरु गरेको छ।
कांग्रेस १४औं महाधिवेशनको मतपरिणाम धमाधम सार्वजनिक हुँदै
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ।
कांग्रेसका अनुसार बुधबार बिहान थप ४ जिल्लाको मतपरिणाम सार्वजनिक भएको छ। बैतडी, अर्घाखाँची, प्युठान र लमजुङले नयाँ नेतृत्व पाएको छ। नेपाली कांग्रेस बैतडीको सभापतिमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका छन्।
यस्तै नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन्। त्यस्तै नेपाली कांग्रेस लमजुङको सभापतिमा डा. टकराज गुरुङ निर्वाचित भएका छन्। यस्तै नेपाली कांग्रेस प्युठान सभापतिमा विष्णुकुमार गिरि विजयी भएका छन्। यसअघि प्युठान अधिवेशनको मतगणना स्थलमा तनाब उत्पन्न भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
एमालेको दसौं महाधिवेशनमा मंसिर ११ उम्मेदवारीका लागि मनोनयन हुने
नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा यही मंसिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ। मंसिर ११ गते अपराह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन हुने महाधिवेशन निर्वाचन आयोगका सचिव बाबुराम दाहालले जानकारी दिए। उनले उद्घाटन सत्र सकिएपछि निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए।
महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय उपकरणबाट पहिलोपटक मतदान हुने भएको छ। महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५-१५ जना गरी कूल २५५ पदका लागि निर्वाचन हुनेछ। नेतृत्व चयनमा सर्वसहमतिको प्रयास गरेपनि सहमतिको सम्भावना न्यून देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि आफूले कसैलाई आग्रह नगर्ने बताइसकेका छन्।
तानसेन-तम्घास सडकखण्ड आजदेखि ११ घण्टा बन्द हुने
पाल्पाको तानसेन-तम्घास सडकखण्ड बुधबारदेखि १५ दिनका लागि दैनिक ११ घण्टा बन्द हुने भएको छ।
पाल्पा जोर्ने भीर आसपास क्षेत्रमा बाटो चौडा गर्ने कार्य भइरहेकाले आउँदो २२ गतेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।
सडक दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ।सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावश्यक बाहेकका गाडीलाई भने रोक लगाइएको छ। सडक डिभिजन कार्यालय पाल्पाले बुधबार एक सूचना जारी गर्दै जानकारी दिएको हो।
कोभिडबाट थप ७ लाख मानिसको मुत्यु हुनसक्ने : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन डब्लुएचओले युरोप र एसियाका केही भागमा आउँदो मार्चसम्म कोभिडबाट थप ७ लाख मानिसको मुत्यु हुनसक्ने चेतावनी दिएको छ।
डब्ल्यूएचओले आउँदो मार्च २०२२ सम्ममा ४९ राष्ट्रको आइसीयुमा कोरोना संक्रमितको कारण चरम तनाव हुनेसक्ने पनि चेतावनी दिएको छ। अहिलेसम्म युरोपका ५३ देशहरुमा कोरोना महामारीका कारण १५ लाख भन्दा बढीको मृत्यु भइसकेको डब्लुएचओको तथ्यांक छ। युरोपमा कोभिडबाट दैनिक मृत्यु हुनेको संख्या अहिले चार हजार २ सय नाघिसकेको छ।युरोपका कतिपय देशले पछिल्लो समय कोरोना संक्रमितको संख्याको बढ्दै गएकाले कडा प्रतिबन्ध लगाउनुका साथै पुन आंशिक लकडाउन गरेका छन्।