काठमाडौं- नेकपा(एमाले)का नेताहरूले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध नरहेको बताएका छन्। मंगलबार स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ एमाले नेताहरूले यस्तो दाबी गरेका हुन्।
एमाले सचिव विष्टले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए। उनले एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पारे।
'आजको सन्दर्भमा नेकपा (एमाले)लाई चारै तर्फबाट जुन ढंगले घेराबन्दी गर्ने प्रयत्न गरिदैँछ, नेकपा(एमाले)माथि षड्यन्त्र गरिदैछ। जुन प्रकारले प्रहारको निशाना बनाइँदै छ, यो कुरालाई हामीले गम्भिरतासाथ मनन गर्दै सहमती, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सिमा भित्र रहेर नै हामीले महाधिवेशन सम्पन्न गर्छौं,' उनले भने, 'एमालेभित्र विवाद, अन्तरविरोध छैन। यो महाधिवेशनमा कुनैपनि प्रकारको त्यस्तो किचलो, समस्या हुँदैन।’
यसैगरी नेकपा(एमाले)का नेता रघुविर महासेठले उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गरे। जुन प्रतिनिधिको बलमा उम्मेदवारी घोषणा गरिएको छ सोही प्रतिनिधिको प्रस्तावमा उम्मेदवारी फिर्ता हुने उनले बताएका थिए।
‘प्रजातान्त्रिक विधिमा पनि, प्रक्रियामा पनि, सहमती भनेको पनि ठुलो प्रक्रिया हो। हामी सहमतीकै आधारमा आउने महाधिवेशनमा नेतृत्वको चयन होस् भनेर बहुसंख्यक ८० प्रतिशतभन्दा बढी प्रतिनिधिहरु सहमतीको पक्षमा हुनुहुन्छ। जुन साथीहरुले अहिले उम्मेदवारी घोषणा गर्नुभएको छ,' महासेठले भने, 'मलाई विश्वास छ, निर्वाचनको समयसम्म उहाँहरु आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ किनकी जुन प्रतिनिधिको भरमा उहाँहरुले उम्मेदवारी घोषणा गर्नुभएको छ। त्यही प्रतिनिधिको अनुरोधमा उहाँहरुले फिर्ता लिनुहुन्छ। हामी सबै नेतृत्वमा बस्नेहरुलाई विश्वास छ।’
उनले एमालेको नेतृत्व चयन सहमतिमा हुँदैन कि भनेर शंका गर्ने ठाउँ नरहेको उल्लेख गरे। केही नेताहरुले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको नेता महासेठको टिप्पणी छ।