महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बस्दै छ।
केहिबेरपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने बैठकले बिधानअनुसार पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने भएको छ। निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ।
यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। यस्तै मंगलबारको स्थायी कमिटी बैठकपछि अध्यक्ष केपीशर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्। महाधिवेशनमा केन्द्रीत भएर मंगलबार दिउँसो २ बजे उनले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
नेपाली कांग्रेसका मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। काठमाडौं क्षेत्र नम्बर ७ बाट खस आर्य पुरुषतर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार भएका मुख्यसचिव पौडेल पराजित भएका हुन्। सो क्षेत्रबाट नेविसंघ पूर्व महामन्त्री सरोज थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार आमन्त्रित केन्द्रीय सदस्य दयाराम पान्डेय, केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसी र डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत खरेल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणका निजी स्वकीय सचिव नरेन्द्र केसी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
देशभरका अदालतमा कानुन व्यवसायीहरुले बहस नगर्ने
नेपाल बार एसोसिएशको आह्वानमा आज देशभरका अदालतमा कानुन व्यवसायीहरुले बहस नगर्ने भएका छन्।
उनीहरुले मंगलबार हदम्याद गुज्रिने अवस्थाका मुद्दाबाहेक कुनै पनि मुद्दामा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने भएका हुन्। यस्तै मंगलबार पनि बारको आह्वानमा कानुन व्यवसायीले सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै गत कात्तिक १४ गतेदेखि कानुन व्यवसायीहरुले निरन्तर धर्ना दिदै आएका छन्। करिब एक महिनादेखि आन्दोलित बारले बुधबार प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन माग गर्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरुलाई ज्ञापन पत्र बुझाएको थियो। बारले जबराको राजीनामालाई बटमलाइन बनाएको छ।
श्रम मन्त्रालयले दुई सिफ्टमा कार्यालय सञ्चालन
श्रम मन्त्रालयले श्रम स्विकृतिका लागि वैदेशिक रोजगार कार्यालय ताहचल दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।
श्रम स्वीकृति बारेमा गुनासो बढेपछि मन्त्रालयले दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने तयारी गरेको हो। यस्तै विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम पनि मन्त्रालयले आधा घटाउन निर्देशन दिएको छ। यसले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।
श्रम स्वीकृति नवीकरण छिटो छरितो नहुँदा आफूहरुले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ। गुनासो बढेपछि मन्त्रालयले आवश्यकता अनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन र चापअनुसार अफलाइन टोकनको आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिएको छ।
हेलम्बुमा आगलागी हुँदा तीन बालकको मृत्यु
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-७ सुर्सिङमा आगलागी हुँदा तीन बालकको जलेर मृत्यु भएको छ।
हिजो साँझ सुर्सिङस्थित झाक्रिटोलका सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा सञ्च तामाङको ६ वर्षीय छोरा मनोज, सोही ठाउँका सुकमान तामाङको ५ वर्षीय छोरा मनिष, सोही ठाउँका साईला तामाङको ५ वर्षीय छोरा दिलबहादुर रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ। ढुँगा, माटो र टिनले छाएको एक तले गोठमा साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ।
विश्वभर सडक दुर्घटनाबाट हरेक २४ सेकण्डमा एक जनाको मृत्यु
विश्वमा सडक दुर्घटनामा परेर हरेक २४ सेकेन्डमा कम्तीमा एक जनाको मृत्यु हुने गरेको तथ्य फेला परेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सडक दुर्घटनाबाट हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्यांक पत्ता लागेको बताएका हुन्।
यस्तो दुर्घटनाबाट बाच्नका लागि विश्वका देशहरुले विशेष सतर्कता अपनाउनु पर्नेमा उनले जोड दिएका छन्। उनले सडक दुर्घटनाबाट हुने गम्भीर प्रकृतिको घाइतेको अवस्था अझै डरलाग्दो भएकाले सबै देशले यसलाई गम्भीरता पूर्वक लिनु पर्ने उनको भनाइ छ।
नेपाली महिला टिमले विश्वकप छनोटमा भुटानको समना गर्दै
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज भुटानको समाना गर्दैछ। आईसीसी विश्वकपको एसियाली छनोटमा नेपाली टिमले भुटानको सामना गर्न लागेको हो। दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र भुटानको खेल दिउँसो सवा तीन बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा हङकङसँग हार बेहोरिसकेको छ। त्यसैले नेपाललाई मंगलबार जित निकाल्न दबाब हुनेछ। पहिलो खेलमा नेपालले हङकङसँग ६ विकेटको हार बेहोरेको थियो।