काठमाडौं- नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं-३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित भएका छन्। मंगलबार बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार चन्द ३३० मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। उनका निकटमप्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सहसचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित भएका छन्। सचिव निर्वाचित जोशीले ३०७ र भट्टले ३०१ तथा सहसचिवमा भट्टले ३४६ र बस्नेतले ३१९ मत प्राप्त गरेका छन्। सोमबार भएको मतदानमा निर्वाचन क्षेत्र नं ३ मा कूल ५६२ मत खसेको समितिले जनाएको छ। क्षेत्र नं ३ मा कांग्रेस नेता रमेश लेखकको प्यालन विजयी भएको हो।
यस्तै निर्वाचन क्षेत्र नं २ र १ मा अहिले मतगणना जारी छ। कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता गोपीप्रसाद उपाध्याय र हरिचन्द ठकुरीबीच तथा निर्वाचन क्षेत्र नं २ मा लालबहादुर सिंह र नवराज जोशीबीच क्षेत्रीय सभापतिका लागि भीडन्त हुँदैछ।