काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
सभापति देउवा र पत्नी आरजु गृहजिल्ला डडेल्धुराको जारी सातौं जिल्ला अधिवेशनबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
महाधिवेशन प्रतिनिधिको निर्वाचनका लागि तयार पारिएको मतपत्रमा सभापति देउवाको नाममा बाहिरबाटै ‘टिक’ (रेजा) लगाएर निर्वाचन प्रक्रिया अगाडि बढाइएको बताइएको छ।
देउवासहित पत्नी आरजु, सरस्वती खड्का, कौशिल्लाकुमारी भट्ट र कलावती बोहरा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। यस्तै दलिततर्फ सन्तोष जैरु, अपांगतर्फ जगदिश भट्ट पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
कांग्रेसको विधानअनुसार सभापतिदेखि केन्द्रीय समितिका सबै सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था अनुसार प्रकाशमान स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि सभापति देउवाले हरेक महाधिवेशनमा वडा तहबाट नै चयन भएर आउने भएकोले यस वर्ष पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताइएको छ।
डडेल्धुराको कार्यसमितिको उपसभापतिमा डिल्लीराज जोशी र लक्ष्मीप्रसाद अवस्थी, सहसचिवमा प्रेमबहादुर महर र गोविन्दराज बोहरा पनि सर्वसम्मत भएका छन्।