शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावलको शक्तिको स्रोत के हो?

Siddartha premir insuranceSiddartha premir insurance

एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावलको शक्तिको स्रोत के हो?

भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दिएर ओलीविरुद्ध मैदानमा उत्रने साहस त गरेका छन्। पार्टीमा रावल प्रभावशाली नरहे पनि ओलीसँग चिढिएका प्रतिनिधि नै उनको शक्ति हुने देखिन्छ।
 |  सोमबार, मंसिर ६, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

सोमबार, मंसिर ६, २०७८

काठमाडौं- यति बेला एमाले अध्यक्षमा उम्मेदवारी दिएर भीम रावल चर्चामा छन्। तर उनको उम्मेदवारी चर्चाका लागि मात्र हो या अध्यक्ष केपी शर्मा ओलीसँग साँच्चै प्रतिस्पर्धामा उत्रनका लागि हो भन्‍नेचाहिँ एमालेको दसौं अधिवेशनको मितिसम्म पर्खनै पर्छ। यद्यपि आसन्‍न महाधिवेशनका लागि एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने रावल हालसम्मका एक्ला उम्मेदवार हुन्।

triton college

कुनै बेला भीम रावल सुदूरपश्चिममा एमालेका प्रभावशाली नेता मानिन्थे। २०७८ जेठ २५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा रावलकै निर्देशनमा एमालेका १७ सांसदले एमाले स्थायी कमिटीको निर्णय उल्लंघन गरी माओवादीका भट्टका पक्षमा मत दिएका थिए। त्यही मतले भट्टको मुख्यमन्त्री पद त जोगियो। रावलका लागि सो कदम यति बेला भारी बनेको छ। यसैबेला पार्टीको महाधिवेशनका लागि रावलले अध्यक्षमा उम्मेदवारी दिएका छन्। 

एमालेमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच विवाद हुँदा नेता रावलले नेपाललाई साथ दिँदै आएका थिए। त्यसो त रावलले राजनीतिक रुपमा उचाइ प्राप्त गर्नुमा माधवकुमार नेपालको विशेष भूमिका छ। तर नेपालले एमाले छाडेर नयाँ दल गठन गर्दा रावलले साथ दिएनन्। 

माधवकुमार नेपाल समूहमै रहेका कारण रावललाई ओलीले त्यति रुचाएनन्। सोही कारण अध्यक्ष ओलीको रोजाइमा रावलको सट्टा लेखराज भट्ट परेका छन्। ओलीले रावलले सम्हाल्दै आएको सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्जको जिम्मेवारी भट्टलाई दिएका छन्। भट्ट माओवादीमा छँदा पनि पार्टीको सुदूरपश्चिम इन्चार्ज थिए।

निर्विकल्प अध्यक्ष बन्‍ने ओलीको सपनामा रावलको दाबेदारी बाधक बनेको छ। रावलको उम्मेदवारीसँग एमालेभित्र उनको शक्ति कति होला? धेरैको चासोको विषय छ। झट्ट हेर्दा रावल पार्टीमा त्यति शक्तिशाली देखिँदैनन्। तर ओलीसँग चिढिएका, माओवादीबाट एमालेमा प्रवेश गरेका र १० भाइमध्ये योगेश भट्टराईबाहेकले आफूलाई सहयोग गर्नेमा रावल ढुक्क छन्। 

Metro Mart
vianet

पार्टीभित्र स्पष्ट वक्ताको छवि बनाएका रावल एमालेका उपाध्यक्ष हुन्। उनको राजनीतिक जीवनको सुरुवात झलनाथ खनालको संगतबाट भएको हो। रावल २०४७ सालमा खनालको सल्लाहकार थिए। त्यसपछि उनी माधवकुमार नेपाल निकट भए। २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट पराजित भएपछि रावल राष्ट्रसंघीय कार्यक्रममा जागिर खान कम्बोडिया गए। केही समय कम्बोडिया बसेर नेपाल फर्किएका रावल २०५१ को मध्यावधि निर्वाचनमा अछामबाट विजयी भए। 

पटक-पटक मन्त्री बनेको रावल २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भए। नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोहमा त्यसको प्रयोगबारे विद्यावारिधि गरेका रावल एमालेमा बौद्धिक नेताका रुपमा पनि चिनिन्छन्।

एमालेको नवौं महाधिवेशनमा अध्याधिक मत ल्याउँदै नेता रावल एमाले उपाध्यक्षमा निर्वाचित भएका हुन्। त्यसपछि उनले सुदूरपश्चिमको पार्टी इन्चार्जको जिम्मेवारी पाएका थिए।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई सर्वोच्च अदालतले पूर्ववत् पार्टीकै अवस्थामा पुर्‍याइदियो। त्यसपछि एमालेभित्र असन्तुष्टि बढ्दै गएर पार्टी विभाजन भयो। खनाल र नेपालको साथ छाडेर रावल एमालेमै रहे। 

एमालेमै रहे पनि अध्यक्ष ओलीसँग वैचारिक बेमेल कायमै छ। पार्टी एकताका लागि भन्दै गरिएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै रावल असन्तुष्ट बने। विवाद समाधान समितिका संयोजकसमेत रहेका रावलले संयोजकबाट राजीनामा दिए। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा सांसदबाटै राजीनमा दिएका रावलले पछि राजीनामा फिर्ता लिएका थिए। त्यसो त रावल देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालत पुगेर हस्ताक्षर गर्ने एमालेका २३ सांसदमध्ये एक हुन्।

नेता रावलले दसौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन खोजे पनि सफल नभएपछि बाध्य भएर अध्यक्षमा उम्मेदवारी दिनुपरेको बताएका छन्। उनले आफू निकट नेताहरुसँग भन्‍ने गरेका छन्, ‘फरक विचार राख्‍ने नेता-कार्यकर्तालाई पाखा लगाउने ओलीको चालका कारण उम्मेदवारी दिएको हुँ।’ 

भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दिएर ओलीविरुद्ध मैदानमा उत्रने साहस त गरेका छन्। पार्टीमा रावल प्रभावशाली नरहे पनि ओलीसँग चिढिएका प्रतिनिधि नै उनको शक्ति हुने देखिन्छ।

ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेकै कारण आफू प्रतिस्पर्धामा उत्रिएको रावलको आरोप छ। विधान र सर्वोच्चको निर्णयलाई समेत लत्याएर एकलौटी ढंगबाट पार्टी चलाउन खोजेको भन्दै रावल आक्रोशित छन्।

माओवादीबाट एमालेमा आएका प्रतिनिधि पनि ओलीसँग चिढिएका छन्। यस्तै १० भाइमध्ये योगेश भट्टराईबाहेक अन्यले साथ दिएमा रावलले केही शक्ति आर्जन गर्ने देखिन्छ। तर ओलीले १० भाइलाई फुटाउन आवश्यक रणनीति तय गर्ने नै छन्। एमालेभित्रै एमसीसी विरोधी समूह र विभिन्‍न प्रदेशहरुबाट पदाधिकारीमा दाबी गर्नेहरुलाई पनि भीम रावलले समेट्न सकेको अवस्थामा आफूलाई बलियोरुपमा प्रस्तुत गर्न सक्छन्। 

रावल निकट एमाले केन्द्रीय सदस्य प्रकाश शाहले आफूहरू १०औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने पक्षमा भए पनि नेतृत्वकै कारण सम्भव नहुने बताउँछन्। ‘हामी पार्टीलाई सुदृढ गर्न चाहन्छौं। १०औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन चाहन्छौं। जनता र कार्यकर्ताको चाहना पनि त्यही हो’, शाहले भने। उनका अनुसार अध्यक्ष ओलीसँग चिढिएका धेरै नेताहरुले रावललाई साथ दिन सक्‍ने शाहको बुझाइ छ। यस्तै माओवादीबाट एमालेमा आएका धेरै नेताले रावलका पक्षमा लाग्‍ने शाहले गरेका छन्। 

यद्यपि एकता महाधिवेशनका लागि प्रयास गर्ने पहिलो दायित्व अध्यक्ष ओलीको भएको उनी बताउँछन्। उनले कार्यकर्ताको भावना बुझेर असन्तुष्ट पक्षसँग वार्ता गर्दै एकताको महाधिवेशन बनाउनुपर्ने बताए।

‘लोकतन्त्रमा धेरैको उम्मेदवारी राम्रो हो। तर, केही समय पहिले मात्रै पार्टी फुटेको छ। यसले जनतामा परेको नकारात्मक प्रभाव कम गर्न पनि एकताको महाधिवेशन आवश्यक छ। हाम्रो पहिलो जोड त्यसैमा हुन्छ’, उनले भने। तर, नेतृत्वले कुरै नसुनेको अवस्थामा रावलको उम्मेदवारी स्वाभाविक रहेको शाहको भनाइ छ।

‘अहिले पार्टीभित्र तीन धारको लडाइँ छ। एउटा पार्टीमा पूर्व माओवादीबाट आएका, अर्को पार्टीलाई १० बुँदे सहमतिको आधारमा लग्‍नुपर्छ भन्ने र अर्को ओलीलाई नै सर्वेसर्वा मान्दै आएका छन्। यी सबै विचारको सम्मान गर्दै एकताको महाधिवेशन बनाउनुपर्छ’, उनले भने।

उनले ओलीले महाधिवेशनको चार दिन मात्रै बच्दा पनि स्थायी कमिटीको बैठक बोलाएर संवादको प्रयास नगरेको आरोप लगाए। यसले नेतृत्वमा दम्भ रहेको प्रस्ट भएको उनी बताउँछन्। नेतृत्वले आफूहरूको भावनाको कदर नगरे अस्तित्वको लडाइँ लड्ने नेता शाहको चेतावनी छ। त्यसका लागि आफूहरूले तयारी गरिरहेको उनले बताए। कुशल नेतृत्व चुन्‍ने अधिकार प्रतिनिधिको हातमा रहेकाले आफूहरूले अन्तिम समयसम्म पनि नेता रावलाई नै साथ दिने उनको भनाइ छ।

एमालेका केन्द्रीय सदस्य झपट रावलले भीम रावल एमालेको एकल अध्यक्षको दाबेदार भएको बताए।  नेता रावलले अहिलेसम्म एमाले अध्यक्षका लागि कसैले उम्मेदवारी घोषणा नगरेकाले भीम रावल एक्लो उम्मेदवार भएको दाबी गरेका हुन्। 

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक पार्टीमा आफू कुनै पदमा नदोहोरिने बताउनुभएको छ। हामीलाई विश्वास छ, उहाँ आगामी दिनमा अध्यक्षमा लड्नुहुन्‍न। वरिष्ठ उपाध्यक्ष रावललाई सपोर्ट गर्नुहुन्छ। पार्टीमा अन्य कसैले अहिलेसम्म अध्यक्षका लागि दाबी नगरेकाले भीम रावल एक्लो उम्मेदवार देखिनुभएको छ’, उनले भने। 

पछिल्लो समय प्रतिनिधि छनोटप्रति असन्तुष्टि व्यक्त गरेका एमाले नेता दीपकप्रकाश भट्टले पनि आफू ओलीको पिछलग्‍गु नभएको बताएका छन्। उनले आफूहरुसँग पाँच सय प्रतिनिधि भएको र त्यो संख्या महाधिवेशनका लागि निर्णायक हुने समेत दाबी गरेका छन्। 

उनले भने, 'हाम्रो संख्या ५ सय पुग्छ। यो आफैँमा बलियो शक्ति हो। यो संख्या अध्यक्षदेखि अन्य पदाधिकारीमा चुनौती दिनका लागि निर्णायक छ। सबै ठाउँमा उम्मेदवारी हुनेबित्तिकै यो संख्या बढ्छ। अहिले के छ भने, केही पपुलर भएर जित्ने होलान्, विभिन्न नेताको मूल्यांकन पनि होला।'

नेता भट्टले महाधिवेशनमा आएका ६० प्रतिशत संख्याले असल नेतृत्वको खोजी गरिरहेकोसमेत बताएका छन्। त्यो संख्याले पार्टीको आन्तरिक संकट, नेतृत्व लगायतका विषयमा बुझ्‍नसक्ने भएकोले फरक विचार बोकेकाहरुलाई बढारेर जानुपर्छ भन्‍ने धारणाविरुद्ध एकमत हुने उनको बुझाइ छ। 

उनले थपे, 'एउटा पक्ष अतिवादी हुन वा अराजक हुनसक्छ कहिँ कतै, चर्को देखिन सक्छ। अर्को पक्षप्रति आक्रामक हुनसक्छ। तर, सबै त त्यस्तो हुन सक्तैन। व्यक्ति र ठाउँविशेष र क्षमताविशेषको कुरा पनि होला। त्यस हिसाबले थुप्रै क्षमतावान् साथीहरुले नेतृत्वमा आउने हैसियत राख्नुहुन्छ। उहाँहरुमध्येबाट जो सक्षम र सिनियर छ, त्यसलाई नै साथ दिने हो। त्यसका लागि हामीसँग पर्याप्त संख्या छ।' 

प्रकाशित: Nov 22, 2021| 18:55 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...