चितवन- नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा थप एक सय जनाभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ। महाधिवेशनको उद्घाटनमा यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप प्रहरी परिचालन गर्न लागिएको हो।
यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले महाविधेशन उद्घाटनका दिन जिल्लाको यातायात व्यवस्थापनलाई सहज बनाउन थप जनशक्ति परिचालन गर्ने गरी काम भइरहेको जानकारी दिए। 'मङ्सिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रित गरेर ट्राफिक प्रहरीको थप जनशक्ति परिचालन गर्ने गरी समन्वय भएको छ,' भुर्तेलले भने।
यातायातको सहज आवागमन गराउनका लागि अहिलेबाटै गृहकार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापाले बताए। 'जिल्लामा हाल ४० जना ट्राफिक प्रहरीले काम गरिरहेका छन्, थप एक सय जना जनशक्तिले ट्राफिक व्यवस्थापनको काम गरिनेछ,' थापाले भने।
थापाका अनुसार महाधिवेशनमा भाग लिन पश्चिमका जिल्लाबाट आउने सवारीसाधनलाई नवलपरासीको गैँडाकोटमा, पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बस टर्मिनल लगायतका ठाउँमा नारायणगढ मुग्लिन सडक हुँदै आउने सवारीसाधनलाई नेपाल ट्रष्टको कार्यालय, पश्चिम चितवन क्षेत्रबाट आउने सवारीसाधनलाई बेलचोक क्षेत्र र वागीश्वरीमा तथा चितवनकै कालिका नगरपालिकासहितका स्थानबाट आउने सवारीसाधनलाई वीरेन्द्र क्याम्पसको नौ बिघा चौरमा व्यवस्थापन गरिँदैछ।
त्यस्तै महाधिवेशनको प्रचारका लागि मोटरसाइकल र्यालीको तयारी पूरा भएको छ। महाधिवेशन उद्घाटनका लागि भोलि मङ्गलबार बृहत् मोटरसाइकल र्यालीको आयोजना गरिएको छ।
जिल्लाका विभिन्न स्थानबाट महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा भेला भएर दिउँसो १ बजे मोटरसाइकल र्याली निस्कने तयारी भएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए।