मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • निर्विकल्प अध्यक्ष बन्ने ओलीको चाहनामा रावलको 'टक्कर', वकिलले मागे गृहमन्त्रीको पनि राजीनामा [२०७८-८-५]

निर्विकल्प अध्यक्ष बन्ने ओलीको चाहनामा रावलको 'टक्कर', वकिलले मागे गृहमन्त्रीको पनि राजीनामा [२०७८-८-५]

अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिदै नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

ओलीलाई रावलको टक्कर 

अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिदै नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

आइतबार रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले चितवनमा मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। निर्विकल्प अध्यक्ष हुने ओली चाहानालाई धक्का दिदै रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

उनले देश, जनता र पार्टीको सामू भएका र आउनसक्ने चुनौतीहरुको सामना गर्न आफूले उम्मेद्वारीको घोषणा गरेको बताए। उपाध्यक्ष रावलले राजनीतिक जीवनको आरम्भदेखि आफूले उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको बताए। 

उपाध्यक्ष रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा बसेर गुटबन्दी गर्दा पार्टी कमजोर भएर फुटमा परिणत भएको आरोप समेत लगाए।  ओलीले अब पार्टीलाई नेतृत्व दिन नसक्ने भएकाले नै आफू अघि सरेको उनको भनाइ छ। उपाध्यक्ष रावलले नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशन पार्टीलाई एकतावद्ध, सुसंगठित र समयका चुनौतिहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन महत्वपूर्ण हुने बताए। उनले आफूलाई पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्न पार्टी कार्यलयमा ठाउँ नदिइएको गुनासो गरेका छन्। महासचिवले महाधिवेशनका कारण कुनै पनि कोठा खाली नभएको जानकारी दिएपछि बाहिर पत्रकार सम्मेलन गर्नुपरेको बताए। 

नेता व्यवस्थापन गर्न एमाले विधान संशोधन हुँदैन : प्रदीप ज्ञवाली 

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको दशौं महाधिवेशनमा नेताहरुको व्यवस्थापनका लागि विधान संशोधन गर्ने सम्भावना नरहेको स्पष्ट पारेका छन्। 

आईतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेताहरुको व्यवस्थापन गर्नकै लागि विधान संसोधन नगरिने बताएका हुन्। विधानको परिधिभित्र रहेर योग्यभन्दा योग्य नेताहरुलाई नेतृत्वमा चयन गर्ने उनको भनाइ छ। ज्ञवालीले महाधिवेशनमा विधानको विषयले नेतृत्व चयनमा समस्या पारेकाले त्यसलाई समाधान गरेर अघि बढन पहिलो पटक पार्टीको विधान महाधिवेशन छुट्टै आयोजना गर्नु परेको पनि स्मरण गराए। 

यस्तै फरक प्रसंगमा एमाले ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गरेका छन्। 

गत मंसीर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए। पूर्व परराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानलहरु उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरेका छन्। 

ज्ञवालीले सो टेलिभिजन च्यानलबारे विस्तृत रुपमा छलफल गर्ने जानकारी समेत दिए। उनले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरुले सधैं स्वागत गर्ने बताए। 

गृहमन्त्री खाँडको पनि राजीनामा माग

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेका छन्।

सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन्। आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाएका थिए। २ मंसिरको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए।

यसैबिच, नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने टिप्पणी गरेका छन्। आइतबार नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म विचौलिया पाल्ने काम नरोकिने बताएका हुन्। गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपर्न पनि उनको आग्रह छ। अध्यक्ष श्रेष्ठले चोलेन्द्र शमशेर जबरा नहटेसम्म आन्दोलन जारी रहने  बताए। 

अध्यक्ष श्रेष्ठले आगामी दिनमा प्रधानन्यायाधीश जबराको विरुद्धमा राजनीतिक दल कहाँ र संसदमा पनि जाने भन्दै उनले जानु अघि नै राजीनामा दिन चेतावनी दिए। 

द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौताको पालना गरी द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न माग गरेको छ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न माग गरेको हो। द्वन्द्व पीडितहरुलाई न्यायको अनुभूति हुन सक्ने गरी कार्य अझै नभएको भन्दै आयोगले चिन्ताको ब्यक्त गरेको छ। मानव अधिकार उल्लंघनका दोषीलाई कारवाही तथा पीडितलाई क्षतिपूर्ति दिनका लागि आयोगले गरेका सिफारिसहरुमध्ये अधिकांश सिफारिसहरु विगतको द्वन्द्वसँग सम्बन्धित भएपनि तिनको कार्यान्वयन अवस्था सन्तोषजनक नरहेको आयोगले जनाएको छ। 

यस्तै आयोगले द्वन्द्व पीडितहरुको समयमै न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न तथा आयोगले दोषी ठहर गरेका ब्यक्तिलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याई दण्डहीनताको अन्त्य गर्न सरकारसँग आग्रह गरेको छ। आज सरकार र तत्कालिन विद्रोही माओवादीबीच शान्ति सम्झौता भएको १० वर्ष पुरा भएको छ। अझैसम्म द्वन्द्वपीडितले न्याय पाउन सकेका छैनन्। 

राजनीतिक दलको निकायमा निर्वाचित पत्रकारले राजीनामा दिनुस् : महासंघ

नेपाल पत्रकार महासंघले राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका आफ्ना विभिन्न समितिका पदाधिकारी र सदस्यलाई राजीनामा दिन आग्रह गरेको छ।

पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी र सदस्यले कुनै राजनीतिक दलको कार्यसमिति, प्रतिनिधि वा उम्मेदवार हुन नपाउने भन्दै महासंघले यदि उम्मेदवार बनेको भए उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको हो।

अहिले महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका धेरै पदाधिकारी अहिले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अधिवेशनमा कार्यसमितिमा चुनिएका छन् भने महाधिवेशन प्रतिनिधि बनेका छन्। यसरी दलीय राजनीतिमा सहभागी भएकाहरुबाट स्वतन्त्र तथा सन्तुलित पत्रकारिता हुन नसक्ने भन्दै महासंघ छाड्न आग्रह गरिएको महासंघका एक पदाधिकारीले बताए।

मूल्यवृद्धिप्रति सरकार गम्भीर बन्नुपर्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन्। आइतबार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै  अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका हुन्। 

उनले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताए। अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खालि रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिने समेत बताए। पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकरणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने बताए। 

अध्यक्ष नेपालले खाना पकाउने ग्याँसमा १२ दिनमा १२५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गर्नु जनतामाथि अत्याचार भएको टिप्पणी गरे। उनले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महंगो भइरहेकोमा अचम्म लागेको बताए। बाटोमा हुने चोरी र नोक्शानीको बारेमा हिसावकिताव हुनुपर्नेमा पनि जोड दिए। 

अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी यूनियन लगायतका ५ विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा भएको करको दायरा घटाइ मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेका छन्। विद्यार्थी संगठनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कठोर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। 

वित्तीय सूचक नकारात्मक

चालु आर्थिक वर्ष  २०७८/७९ को पछिल्लो तीन महिना अवधिमा मुलुकको वित्तीय सूचक नकारात्मक देखिएको छ। 

पछिल्लो तीन महिनाको अवधिमा भुक्तानी सन्तुलन, रेमिटेन्स, निर्यात तथा आयातमा उल्लेख्य सुधार नभएको तथ्याङक सार्वजानिक भएको छ। यता,वैदेशिक व्यापार र निर्यातको आँकडा बढ्दा विप्रेषणमा कमी आएको छ। गत मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको मुलुकको वित्तिय प्रतिवेदनले मुलुकको अर्थतन्त्रका सूचक सकारात्मक छैन्। राष्ट्र बैंकको तीन महिनाको वित्तिय प्रतिवेदन अनुसार समिक्षा अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब रुपैयाँ घाटामा देखिएको छ। गत साउन र भदौं महिनामा १ खर्ब ६ अर्ब रुपैयाँले मात्र घाटा थियो। एक महिनाको अवधिमा नै ४५ अर्ब रुपैयाँले घाटा बृद्धि भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो। तीन महिनाको अवधिमा शोधानान्तर घाटा समेत चुलिएर ७६ अर्ब १४ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको थियो। त्यस्तै, असोज महिनामा मूल्य वृद्धि ४.२४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनाको तुलनामा मूल्य वृद्धि ३.७९ प्रतिशत थियो। 

सेयर बजार घट्यो

साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट भएको छ। 

कारोबारको सुरुवातसँगै घटेको शेयर बजार कारोबारको अन्तिमसमयमा आएर ११.६० अंकले गिरावट आएको छ। नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको छ। गत साताको अन्तिम कारोबारको दिन बिहिबार ३२.३९ अंकले गिरावट आएर २ हजार ७६९.१३ अंकमा सिमित भएको थियो। 

ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स ३.७५ प्रतिशत घटेर ५१८.२५ अंक भएको छ। आइतबार कारोबारमा आएका २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भयो। जसमा ७० कम्पनीको शेयर मूल्य बढेको छ। १४१ कम्पनीको मूल्य गिरावट आइएको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ। नेप्से १३ उपसमूह मध्ये दुई उपसमूहबाहेक अन्य सबै राताम्मे भएको छ।

२३८ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशमा विभिन्न भागमा २३८ जनामा संक्रमण पुष्टि भएको हो।  ९ हजार १ सय २३ जनामा गरिएको परीणमा सो संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ। सो अवधिमा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट ११ हजार ४ सय ९६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ठ हजार १ सय ६४ रहेको छ।

आन्ध्रप्रदेशको बाढीमा २५ को मृत्यु, सय जना बेपत्ता

भारतको आन्ध्रप्रदेशमा भीषण वर्षापछि आएको बाढीमा परी २५ जनाको ज्यान गएको छ भने कम्तिमा एक सय जना वेपत्ता भएका छन्।

प्रदेशका रायलसिमा, चित्तुर, कडपा, कुरनुल र अनन्तपुर जिल्लामा बर्षा र बाढीले जनधनको ब्यापक क्षति गरेको छ। वर्षापछि स्थानीय नदीहरु बढेर बस्तीमा पस्दा क्षति भएको हो। करीब २ हजार घरहरु डुबानमा परेको र हजारौं चौपायाको क्षति भएको जनाइएको छ। तिरुपति बालाजी मन्दिर क्षेत्रमा पनि बाढीले डुबाएको छ। 

बाढीमा फसेकाहरुको उद्धारका लागि वायु सेनालाई परिचालन गरिएको छ। डुबानका कारण उद्धार र पुनस्थापनामा कठीनाई भईरहेको त्यहाँको सरकारले बताएको छ। प्रदेश सरकारले बाढीमा ज्यान गुमाएका परिवारका लागि तत्काल ५ लाख राहत दिने घोषणा गरेको छ।

एपीएफलाई हराउँदै ब्रिगेड ब्वाइज विजयी

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले विजयी सुरुआत गरेको छ। 

आइतबार भएको खेलमा विभागीय टिम एपीएफ एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै ब्रिगेडले सुखद सुरुआत गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडलाई जित दिलाउन दिनेश राईले दुई गोल गरे। सुरज गुरुङको नाममा एक गोल रह्यो। एपीएफका आशिष लामा र बिकी तामाङले एक एक गोल फर्काए। जितसँगै नयाँ सिजनको पहिलो खेलमा ब्रिगेडले महत्वपूर्ण ३ अंक जोडेको छ। एपीएफले भने हारबाट सिजनको सुरुआत गरेको छ।


प्रकाशित: Nov 21, 2021| 19:41 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।