एमसीसी पास गर्न अमेरिकाको थप दबाब
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पास गर्न प्रधानमन्त्री र दलका शीर्ष नेताहरु दबाब दिएका छन्।
आज प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपीशर्मा ओलीसँग भेट गरेर उनले एमसीसी पास गराउने विषयमा दबाब दिएका हुन्। उनले एससीसी सम्झौता नेपालले लिने कि नलिने भन्ने विषय यही मंसिर २८ गतेसम्म टुंगो गर्न समयसीमा दिएका छन्। त्यतिन्जेलसम्म नेपालले टुंगो नगरे अमेरिकाले यो सहयोग अन्यत्र लैजानेबारे विकल्प अघि बढाउने उनले बताएका छन्।
सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डसँगको शुक्रबारको भेटमा सहायक विदेशमन्त्री लुले समयसीमा तोकेर एमसीसीबारे निर्णय गर्न भनेका हुन्। भेटमा अध्यक्ष दाहालले स्पष्ट जवाफ दिएनन्। उनले विदेशीहरूको सहयोग लिने विषयमा नेपाल सकारात्मक नै रहेको तर एमसीसी सम्झौता कागजातका कारण नेपालमा अहिले बहस चलिरहेको बताएका थिए। भेटपछि संचारकर्मिहरु सँग बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लू लाई जानकारी गराएको बताए।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लुले एससीसी परियोजना नेपालले लिओस् भन्ने अमेरिकी चाहना भएको बताएका छन्। धेरै देशहरुले एमसीसी परियोजना सञ्चालन गर्न इच्छुक रहेको बताएका हुन्। डिसेम्बर १४ मा बोर्डको बैठक बस्ने भन्दै उनले त्यसमा सबै परियोजनाको अवस्था बारेमा छलफल हुन भएकाले त्यस अवधिमा निर्णय गर्न उनले दबाब दिएका हुन्। एमसीसी बोर्डको ३–३ महिनामा समीक्षा बैठक हुने र त्यसमा परियोजनाको अवस्था विषयमा समीक्षा हुने गरेको छ।
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि आजै भेट गरेका छन्।
भेटमा एमसीसी लगायत अमेरिकाले गर्दै आएको सहयोग र दुई देशको सम्बन्धका विषमया कुराकानी भएको थियो। शिष्टाचार भेटमा मन्त्री लूले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगार लगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिवद्धता जनाएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए। उनले मन्त्री लूले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले केही नयाँ क्षेत्र (क्लिन इनर्जी) को क्षेत्रमा पनि सहयोग गर्ने चासो दिएको बताए।
अमेरिकी सहायक विदेश मन्त्री लूले एमसीसीका विषयमा पनि चासो राखेका थिए। उनले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गरेका थिए।
वार्तामा बोलाइयो नेपाल बार
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एशोसिएसनलाई वार्तामा आउनका लागि पुनः आह्वान गरेका छन्।
बारको सल्लाहकार समितिको बैठक शुरु हुनलाग्दा अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्तामा आउन आह्वान गरेका हुन्। बार अध्यक्ष श्रेष्ठले आफूलाई आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए। बारका एक पदाधिकारीका अनुसार, प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन्।
प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख गर्दै संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाएको ती पदाधिकारीले बताए।
उता वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।
शुक्रवार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले राजनीतिक दलहरु समक्ष प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न आग्रह गरेका छन्। उनले प्रधानन्यायाधीश भुमिगत गिरोहबाट सञ्चालन भएको भन्दै न्यायाधीशहरुसँग गरेको सहमतीपनि पालना नगर्नेतर्फ न्यायाधीशहरुलाई सचेत गराए।
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले राजनीतिक दलहरुलाई न्यायपालिकामा भइरहेको आन्दोलनले नछोएको टिप्पणी गरे। उनले प्रत्येक दलका नेताहरुको प्रधानन्यायाधीशसँग लेनदेन भएको आरोप लगाए।
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश जबराले बारको आन्दोलन दबाउन पदको दुरुपयोग गरिरहेको बताउनुभयो। प्रधानन्यायाधीले जनताको लागि इजलाश चलाउन तयार नभएको तर दलाल, माफिया र तस्करहरुको सेवा गरिरहेको जिकिर गरे।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआउञ्जेलसम्म सर्वोच्च अदालतमा धर्ना जारी राख्ने जनाएको छ।
माघ १२ गते राष्ट्रियसभा चुनाव
सरकारले आगामी माग १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरिएको जानकारी दिएका हुन। सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रहरुको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पढाउने प्रस्ताव पनि स्वीकृत गरेको छ।
त्यसैगरी नायव महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर एकाउन्टेन्टस् संस्थाको पार्षदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए।
मन्त्रीपरिषद बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमती प्रदान गरेको छ। पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि समिति गठन गर्ने निर्णय पनि गरिएको छ।
योगको महत्व संसारभर : देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले योगको महत्व संसारभर रहेको बताएका छन्। शुक्रवार रामदेव पतञ्जली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योगको महत्व संसारभर रहेको बताउनु भएको हो। उनले संसारमा दुष्प्रभाव नभएको एउटा मात्र औषधि आयुर्वेद भएको बताए। देउवाले योगगुरु रामदेव र आचार्य बालकृष्णले नेपाल र नेपालीहरुको नाम उचाइमा लान र नेपाललाई विश्वसामु चिनाउनका लागि बताउका हुन। प्रधानमन्त्री देउवाले सरकारले नेपालमा आयुर्वेदिक औषधि बनाउनका लागि आवश्यक पर्ने जग्गादेखि अन्य कुराहरुको उपलब्ध गराउने बताए।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले योगगुरु रामदेव र आचार्य बालकृष्ण थ्रि इन वान भएको बताए। योगगुरु रामदेव र आचार्य बालकृष्णले योगको माध्यमबाट पूरा समाजलाई नै आरोग्य र निरोगीतर्फ लगेको बताउँदै अध्यक्ष दाहालले रामदेव पहिला परम्परावदी र रुढीवादी जस्तो लागेपनि क्रान्तिकारी र वैज्ञानिक भएको बताए।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले योग साधनाको छुट्टै महत्व भएको बताएका छन्। उनले योगको अभ्यास सबैले गरेमात्रै शरीर स्वस्थ हुने बताए।
अध्यक्ष नेपालले नेपालमा प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय र होमियोपेथिक पद्धतिलाई बिस्तार र प्रयोग गर्नुपर्ने बताए। हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान सञ्चार गर्दै नेपालको सामाजिक, सांस्कृतिक, आध्यात्मिक र धार्मिक सहिष्णुतालाई दिगो बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ। योगपीठले आजै स्वदेशी समृद्धि कार्डको पनि प्रारम्भ गरेको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरुप परिमार्जन गरिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताएका छन्।
शुक्रवार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताएका हुन। उनले ‘फ्रि भिसा र फ्रि टिकट’ भन्ने नारालाई लागू नगर्नेहरुलाई कानूनी कारबाहिको दायरामा ल्याउने। मन्त्री श्रेष्ठले श्रमीकहरुलाई एजेन्टमार्फत् नभइ सिधा म्यानपावरसम्म पु¥यायनका लागि पहल गर्ने बताए।
मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता श्रमीकहरुको हकहीत हुने बताउनु भयो। उहाँले श्रमीकहरुको हकहीत खोस्नेहरुलाई कानूनअनुसार कारबाही गरिने पनि बताउनु भयो। मन्त्री श्रेष्ठले ठगिएका श्रमीकहरुको कुरा नसुनी कुनै मुद्दा नछिन्ने बताउँदै जतिसुकै दबाव आए पनि श्रमीकको सुरक्षा र हकहीतमा लागिरहने प्रतिवद्धता जनाउनु भयो।
मन्त्री श्रेष्ठले मलेसियामा वैदेशिक रोजगारका गएका नेपालीहरुको धेरै मृत्यु भएको बताउँदै यसको अनुसन्धान गरेर अघि बढ्ने त्यसतर्फ श्रमीकलाई सचेत गराउने बताए। मन्त्री श्रेष्ठले तत्काल चाँडै ७ वटा प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाउने र दोस्रो चरणमा ७५३ वटै पालिकामा यो सेवा शुरु गर्ने पनि बताएका छन्।
१० हजार नेपाली नर्स पठाउन बेलायतको प्रस्ताव
सरकारले रोजगारीमा १० हजार नर्सलाई बेलायत पठाउने भएको छ। बेलायतले ठूलो संख्यामा स्वास्थ्यकर्मीको आवाश्यकता रहेको सुचना पठाएसँगै श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालबाट १० हजार नर्स पठाउने तयारी थालेको हो। मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार प्रस्तावमाथि छलफल गरी सम्झौताको खाका बनाउने कामसमेत थालिएको छ।
पहिलो चरणमा २ सय जनालाई लैजाने र त्यसपछि कुन प्रक्रियाबाट बाँकीलाई पठाउने भन्ने विषयमा छलफल गरिने मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार त्यसका लागि बेलायतको नेश्नल हेल्थ साइन्सेससँग वार्ता गर्न डा बिनु बज्राचार्यको नेतृत्वमाको वार्ता समिति गठन गरिएको छ। बेलायतका लागि छानिने नर्सको मासिक तलब २ लाख ५० हजारभन्दा बढी हुने बताइएको छ। यसका साथै बेलायत नर्स पठाउँदा बिमा, आउँदा जाँदाको खर्च लगायतका सुविधा पनि हुनेछ। दुई देशबीच सम्झौता भएमा सन् २०२२ को मध्यतिर सहज नर्सलाई बेलायतमा पठाउन सकिने मन्त्रालयको अनुमान छ।
२९६ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा ९१, ललितपुरमा १९ तथा भक्तपुरमा १० जना कोरोना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९४ पुगेको छ। शुक्रबार ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ५३९ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ७ हजार ७७७ पीसीआर तथा १ हजार १९५ एन्टिजेन परीक्षण भएको छ।
बेइजिङ ओलम्पिक बहिष्कार गर्ने बाइडेनको चेतावनी
अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन्। बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढंगले बहिस्कार गर्ने बारेमा सोचेको, राष्ट्रपति बाइडेनले बताएका छन्। कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन्।
अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिरहेका बेला अमेरिकाको पछिल्लो धारणा आएको हो। सोमबार बाइडेन र चीनका राष्ट्रपति सीबीच भर्चुअल बैठक सम्पन्न भएको थियो। करिव चार घन्टा लामो सो बैठकमा दुवै नेताहरुले ओलम्पिक खेलबारे छलफल नगरेको ह्वाइटहाउका महिला प्रवक्ता जेन पेसाकीले बताइन्। कूटनीतिक बहिस्कारले खेललाई असर नगर्ने उनले बताइन्।
डिसेम्बरमा नेसन्स कप आयोजना हुने
नेपाली राष्ट्रिय फुटबल टिमले आउँदो डिसेम्बरमा फोर नेसन्स कप खेल्ने भएको छ।
छिमेकी मुलुक भारतले आयोजना गर्न लागेको फोर नेसन्स कपमा नेपालले खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको हो। प्रतियोगिता आगामी डिसेम्बर ९ देखि २१ तारिखसम्म हुनेछ,’ एन्फाले सूचनामा भनेको छ। नेपाली राष्ट्रि फुटबल टिमले पछिल्लो समय फिलिपिन्स र हङकङसँग एसियन कप छनोट खेलेको थियो। सो छनोटको दुवै खेलमा हार बेहोरेपछि नेपाल बाहिरिएको थियो।
यता इन्डियन टिमले आफ्नो देशको प्रतियोगिता खेल्नुअघि ब्राजिलमा हुने अर्को फोर नेसन्स कप खेल्नेछ। इन्डियन महिला टिमले त्यहाँ ब्राजिलसहित चिली र भेनेजुएलाको राष्ट्रिय महिला टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो।भारतले पहिलो पटक ब्राजिलसँग खेल्न लागेको हो।