काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसीका विषयमा चाँडै निष्कर्षमा पुग्न प्रधानमन्त्री शेरबहादुर देउवा र दलका शीर्ष नेतालाई आग्रह गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उनले एमसीसी पास गराउनमा दबाब दिएका हुन्।
एससीसी सम्झौता नेपालले लिने कि नलिने भन्ने विषय यही मंसिर २८ गतेसम्म टुंगो गर्न समयसीमा दिएका छन्। त्यतिन्जेलसम्म नेपालले टुंगो नगरे अमेरिकाले यो सहयोग अन्यत्र लैजानेबारे विकल्प अघि बढाउने उनले बताएका छन्।
सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डसँगको शुक्रबारको भेटमा सहायक विदेशमन्त्री लुले समयसीमा तोकेर एमसीसीबारे निर्णय गर्न भनेका थिए। भेटमा अध्यक्ष दाहालले स्पष्ट जवाफ दिएनन्। उनले विदेशीहरूको सहयोग लिने विषयमा नेपाल सकारात्मक रहेको तर एमसीसी सम्झौता कागजातका कारण नेपालमा अहिले बहस चलिरहेको बताएका थिए।
भेटपछि संचारकर्मिहरु सँग बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लूलाई जानकारी गराएको बताए।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लुले एससीसी परियोजना नेपालले लिओस् भन्ने अमेरिकी चाहना भएको बताएका छन्। धेरै देशहरुले एमसीसी परियोजना सञ्चालन गर्न इच्छुक रहेको बताएका हुन्।
डिसेम्बर १४ मा बोर्डको बैठक बस्ने भन्दै उनले त्यसमा सबै परियोजनाको अवस्थाबारेमा छलफल हुन भएकाले त्यस अवधिमा निर्णय गर्न उनले दबाब दिएको बुझिएको छ। एमसीसी बोर्ड बैठकले ३–३ महिनामा समीक्षा गर्ने र त्यसमा परियोजनाको अवस्था विषयमा समीक्षा हुने गरेको छ।