चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गरेका छन्।
शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गरेका हुन्। समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आम निर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताए। उनले भने, ‘राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्तरुपमा अघि बढेर जितेर देखाउँछौँ।” अन्य निर्वाचनको विषयमा सकारात्मक रुपमा छलफल भइरहेको उनको भनाइ छ।
एक फरक प्रसंगमा उनले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताए। पाँच दलबीच यस विषयमा छलफल भइसकेको र निर्णय पनि भएको भन्दै उनले प्रधानमन्त्री राज्यका निकायसँग छलफल गरी अघि बढ्ने विश्वास व्यक्त गरे।
नेकपा एमालेले अधिवेशनमा नबोलाएकोप्रति कुनै दुःख मनाउ नरहेको उनले बताए। उनले भने, ‘नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन।’ अहिले आफू पार्टी निर्माणमा लागि रहेको उल्लेख गर्दै उनले अब समाजवादी प्रजातान्त्रिक संस्कारअनुसार अघि बढ्ने बताए।