काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा शुक्रबार अधिवेशन हुँदैछ। देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा शुक्रबार एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको नेपाली कांग्रेसले जनाएको छ।
३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ। मंसिर ६ गते नेपाली कांग्रेसको संसदीय क्षेत्रमा क्षेत्रीय अधिवेशन हुने नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको छ। नेपाली कांग्रेसले आगामी २४–२६ मंसिरमा १४औं केन्द्रीय महाधिवेशन गर्दैछ।
बारको आन्दोलनमा बृहत नागरिक र पेशागत संस्थाको पनि ऐक्यवद्धता
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले गरिरहेको आन्दोलनमा बृहत नागरिक आन्दोलन र विभिन्न पेशागत संघसंस्थाले ऐक्यवद्धता जनाउने भएका छन्।
प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेपछि उनको राजीनामा माग भइरहेको छ। न्यायालय शुद्धिकरणका लागि भन्दै आन्दोलन भइरहेको छ। सर्वोच्च परिसरमा तीन साताभन्दा लामो समयदेखि नेपाल बार एशोसिएसन आन्दोलनमा छ।
सर्वोच्चका न्यायाधीशहरू पनि बन्दी प्रत्यक्षीकरणबाहेक अन्य इजलास बसेका छैनन्। बारको आन्दोलनमा पटकपटक प्रहरीले हस्तक्षेप गरेको छ। केही कानुन व्यवसायी पनि घाइतेसमेत भएका छन्। यसैबीच नेपाल बारले गरिरहेको आन्दोलनमा अब बृहत नागरिक आन्दोललगायतले पनि सहकार्य गर्ने भएका छन्।
बाइडेनले गर्ने कार्यक्रम डेमोक्रेसी समिटमा प्रधानमन्त्री देउवा पनि सहभागी हुने
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने डेमोक्रेसी समिटमा सहभागीले हुने भएका छन्। डेमोक्रेसी समिट डिसेम्बर ९ र १० मा भर्चुअलरुपमा आयोजना हुने भएको हो। यसअघि प्रधानमन्त्री देउवालाई समिटमा सहभागी हुन अनौपचारिक निमन्त्रणा आएको भए पनि बुधबार अमेरिकी सहायक विदेशमन्त्रीको टोलीले भेटेर औपचारिक निम्ता दिएका हुन्।
प्रधानमन्त्री देउवाले उक्त कार्यक्रममा सहभागी हुने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको सहभागिताका सम्बन्धमा आवश्यक तयारीसमेत अघि बढाएका छन्।
नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजबाट सुरु
नेपाल मेडिकल काउन्सिलको निर्वाचन शुक्रबार देखि हुने भएको छ। देशभरका २१ वटा केन्द्र मतदान हुने काउन्सिलले जनाएको छ। उपत्यकाबाहिर शुक्रबार र शनिबार मतदान हुने छ।
शुक्रबार कोसी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,जनकपुर प्रादेशिक अस्पताल, नारायणी अस्पताल वीरगन्ज, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान हुनेछ। यस्तै शनिबार मेची प्रादेशिक अस्पताल भद्रपुर, गजेन्द्र नारायण सिंह मेमोरियल अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, जिल्ला अस्पताल पाल्पा, राप्ति विज्ञान प्रतिष्ठान, भीम अस्पताल भैरहवा, भेरी अस्पताल नेपालगञ्ज, प्रादेशिक अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सेती प्रादेशिक अस्पताल धनगढी, कोसी अस्पताल विराटनगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान हुने कार्यतालिका छ।
सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति तोक्यो
सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको हो। महिला बालबालिक तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको बताइन्।
आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदै छ। उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउनेछन्।
चापीय क्षेत्रको प्रभावले नेपालको मौसममा पनि प्रभाव
अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावले नेपालको मौसमी प्रणालीमा पनि असर गरेको छ। अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावका कारण पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का पानी पर्ने र हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका भूभागहरूमा बदलीको अवस्था छ। भोली शनिबार रातिसम्म रहने मौसम पूर्वानुमान महाशाखा जानकारी दिउको छ। अरब सागरमा विकसित निम्न चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागहरूमा चिसो बढ्ने र तुवालेको कारणले पारदर्शितामा कमी आउने महाशाखाले जनाएको छ।
पारदर्शितामा कमी आउँदा सडक तथा हवाई यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सहिद स्मारक ए डिभिजन फुटबल लिग आजबाट सुरु
नेपालको शीर्ष डिभिजनको फुटबल सहिद स्मारक ए डिभिजन फुटबल लिग शुक्रबारबाट सुरु हुँदैछ।देशको फुटबलको मेरुदण्डको रूपमा रहेको लिग आजबाट दशरथ रंथशालामा सुरु हुन लागेको हो। लिगको उद्घाटन खेलमा सातदोबाटो यूथ क्लबले फ्रेन्ड्स क्लबको सामना गर्दैछ।
सातदोबाटो यूथ क्लब यो वर्ष मात्र ए डिभिजनमा बढुवा भएर आएको क्लब हो। यो लिगमा राम्रो प्रदर्शन गरेर लिग तालिकाको मध्येस्थानसम्म रहने योजना बनाएको छ। सातदोबाटोले मुख्य प्रशिक्षकको जिम्मा नेपालका चर्चित प्रशिक्षक मेघराज केसीलाई दिएको छ।