मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • सर्वोच्चको पेसीमा गोलाप्रथा प्रणाली, झनै तनावपूर्ण न्यायालय [२०७८-८-२]

सर्वोच्चको पेसीमा गोलाप्रथा प्रणाली, झनै तनावपूर्ण न्यायालय [२०७८-८-२]

सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

सर्वोच्चमा गोलाप्रथाबाट पेसी 

सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ। 

बिहीबार बसेको १८ जना न्यायाधीशहरुको फुलकोर्ट बैठकले प्रधानन्यायाधीशले सर्वोच्च अदालतका इजलासहरूमा मुद्दा तोक्ने व्यवस्था संसोधन गर्दै गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको हो। यो निर्णयसँगै अब प्रधानन्यायाधीशले पेशी तोक्न नपाउने भएका छन्। बैठकले गरेको निर्णयलाई कानुनको रुप दिन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइने छ। मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेपछि यो निर्णय लागू हुने छ। यससँगै ३ सातादेखि अवरुद्ध इजलास सुरु हुने बताइएको छ। गोला प्रथा लागु भएपछि न्यायाधीशहरुले इजलासमा फर्किने बताएका थिए। यद्यपी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँगै संयुक्त इजलासमा भने नबस्ने न्यायाधीशहरुले बताएका छन्। उनीहरुले जबराको राजीनामाको माग भने कायमै रहने बताएका छन्।

बहस बहिष्कार गर्ने बारको घोषणा 

नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेशी तोकिए पनि बहसमा नजाने घोषणा गरेको छ। 

आज दिउँसो पत्रकार सम्मेलन गर्दै न्यायाधीशहरु इजलास फर्किए पनि प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म बहसमा नजाने घोषणा गरेको हो। वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले न्यायाधीशहरुले प्रधानन्यायाधीशसँग बेञ्च सेयर गरेमा आफुहरुले  उनीहरुलाई पनि बहिष्कार गर्ने बताएका छन्। बिहीवार नेपाल बार एसोसिएसनको सर्वोच्च अदालतमा धर्ना पछि बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले गोलाप्रथाको नाममा प्रधानन्यायाधीश बेञ्चमा बसे बार एसोसिएसनको आपत्ति रहने बताएका छन्। उनले प्रधानन्यायाधीशसँग न्यायाधीशहरुले बेञ्च सेयर गरेमा बारले बेञ्च बहिष्कार गर्ने स्पष्ट पारे। 

वरिष्ठ अधिवक्ता शाक्यले न्यायाधीशहरु र कानुन व्यवसायीहरुले तिरस्कार गरिसकेपछि पनि न्यायपालिका चलाउनु भनेर आँट गर्नु प्रधानन्यायाधीशको दिवा सपना मात्र भएको बताए। उनले प्रधानन्यायाधीशलाई डुब्दै गरेको घामको संज्ञा दिए। त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीशको सम्मानजनक बर्हिगमन भनेको राजीनामा भएको उल्लेख गरे। प्रधानन्यायाधीशले बर्हिगमनको बाटो नलिएमा सर्वोच्च अदालतप्रवेश गर्ने वैकल्पिक गेट पनि बन्द गर्ने उनले चेतावनी दिए। 

अधिवक्ता ओम प्रकाश अर्यालले कानुन व्यवसायीमाथि भएको आक्रमण मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको पनि विषय भएकाले यस विषयलाई अन्तर्राष्ट्रिय निकायमा लैजाने चेतावनी दिए। 

नेपाल बार एसोसिएसनले शुक्रवार पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ। धर्नाका क्रममा प्रहरीले बल प्रयोग गर्दा एक दर्जनभन्दा धेरै कानुन व्यवसायी घाइते भएका छन्। 

'न्यायालय युद्धमैदान बनाइयो'

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालत परिसरलाई युद्ध मैदान बनाएको आरोप लगाएको छ। 

आज बिहीबार बारले पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश जबरा र सर्वोच्च प्रशासनले अदालत परिसरलाई युद्ध मैदान बनाएको आरोप लगाएको हो। आजको बर्बरतापूर्ण आक्रमणको अनुसन्धान र अनुगमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी संघ संस्थाहरूलाई पनि बारले आह्वान गरेको छ। त्यस्तै अदालत परिसरबाट भोलि देखि नै दंगा प्रहरी हटाउन गृह प्रशासन र अदालत प्रशासनको बारले ध्यानाकर्षण गराएको छ। हतियारधारी प्रहरी न्यायको मन्दिर परिसरमा प्रवेश गरेको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। बिहीबारको घटनाको विरोधमा शुक्रबार थप कार्यक्रम गरिने पनि उनले बताए। 

अहिले नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलित छ। बिहीबारको आन्दोलनको कार्यक्रममा दंगा प्रहरी प्रवेश गराइएको थियो। साथै एसएलआर बन्दुक बोकेका हतियारधारी प्रहरी पहिलो पटक अदालतमा प्रवेश गरेको भन्दै बारले विरोध जनाएको हो। प्रहरी र वकिलहरूबीच घम्साघम्सी हुँदा अध्यक्ष श्रेष्ठ सामान्य घाइते भएका छन्। त्यस्तै बारका केन्द्रीय सदस्य अधिवक्ता प्रकाश महर्जन टाउकोमा गम्भीर चोट लागेर अस्पताल भर्ना भएका छन्। अन्य करिब एक दर्जन कानुन व्यवसायी घाइते भएका छन्। 

आजै नेपाल बार एसोसिएसन परिसरमा प्रवेश गरेर आन्दोलित वकिलहरुलाई धम्की दिएका थिए। उनीहरुले आन्दोलन गर्ने वकिलहरुको कोट च्यातेर बालिदिने र कुट्ने धम्की दिएका हुन्। बारले ति  ब्यक्तिलाई तत्काल पक्राउ गरि कारबाही गर्न माग गरेको छ। 

यस्तै बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन शुक्रबारसम्मको ‘अल्टिमेटम’ दिएको छ। 

बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले थप सशक्त कार्यक्रम ल्याउने चेतावनी दिए। बार एशोसिएसनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको आरोपसमेत लगाए। प्रधानन्यायाधीशमा नियुक्त भएदेखि नै जबराले न्यायालयमा भ्रष्टाचार र अनियमितताको अध्याय सुरु गरेको उनको भनाइ थियो। उनले बार एशोसिएशनबाट इतिहासमा कयौं पटक न्यायालयमा सुधारका लागि आन्दोलन गरिएको भन्दै त्यो इतिहासलाई साक्षी राखेर अहिले पनि आफूहरु आन्दोलनमा होमिनु परेको बताए।

बार अध्यक्ष श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको पनि राजीनामा माग गरेका छन्। बिहीबार अध्यक्ष श्रेष्ठसँग भेटका लागि पुगेका आयोगका अधिकारीहरूसँग कुराकानीका क्रममा श्रेष्ठले मगरको राजीनामा माग गरेका हुन्। 

सर्वोच्चको समस्या छिटो समाधान हुनुपर्छ : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखापरेका समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्ने बताएका छन्। 

बिहीबार धनगढीमा प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा पत्रकारको जिज्ञासामा संक्षिप्त जवाफ दिँदै यसबारे साझा धारणा बनाएर सर्वोच्चमा देखापरेका समस्या राम्रो वातावरणमा छिटो समाधान हुनुपर्ने उनले बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसको निम्ति पहल गर्नुपर्ने बताए। 

यस्तै,  नेपालले सुदूरपश्चिममा पार्टी नम्बर १ रहिरहने दाबी गरेका छन्। प्रदेश पार्टी कार्यालयको धनगढीमा उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। तत्कालीन नेकपा पार्टी भएका बेला यही भवनमा पार्टी कार्यालय कसको हुने भनेर विवाद हुँदै आएको थियो।

शुक्रबारदेखि प्रदेशसभाको क्षेत्री अधिवेशन

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३ मंसिर (शुक्रबार) देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु हुँदैछ। 

महाधिवेशनको तीव्र तयारीमा रहेको कांग्रेसले देशैभरिका तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन गर्न लागेको हो। विवादित प्रदेश निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा शुक्रबार नै अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। अझै सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएपछि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन हुने बताए। 

प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिनेछन्। कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ। सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्ने छन्। यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल(माथि हुनेछ। कांग्रेस केन्द्रीय महाधिवेशन २४ देखि २६ मंसिरमा काठमाडौंमा हुने कार्यतालिका छ।

उद्योगमा वैदेशिक लगानी भित्र्याउनुपर्छ : अर्थमन्त्री 

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशीक लगानी बढाउनु पर्ने बताएका छन्। 

काठमाण्डौमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका हुन। मन्त्री शर्माले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्याक्टर उत्पादक कम्पनीले नेपालमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए। उनले भारतबाट आयात गर्ने मात्र नभइ नेपालमा नै उद्योग खोलेर बाहिर निर्यात गर्नुपर्ने बताए।

अर्थमन्त्री शर्माले नेपालमा कृषिलाई आधुनिक प्रविधिसँगै जोडेर उत्पादनलाई वृद्धि गर्न आवश्यक रहेको बताए। कृषि गु्रपअन्तर्गतको यति टेक्निक फार्मले सार्वजनिक गरेको फर्मा ट्याक्टर युरोपेली प्रविधिको ट्याक्टर हो। यसले नेपालमा कृषिमा आधारित समुदायको गुणस्तरमा सुधार हुने र उद्यम, उद्यमशीलतामा विकास हुने पनि अर्थमन्त्री शर्माले बताए। 

अमेरिकी सहायक विदेशमन्त्रीले निरीक्षण गरे फाइजर खोपकेन्द्र

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गरेका छन्। 

बिहीवार स्वास्थ्य मन्त्री खतिवडासहित अमेरिकी सहायक विदेशमन्त्री लूको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाबिरुद्धको भ्याक्सिन ‘फाइजर–बायोएनटेक’ खोप केन्द्रको अवलोकन गरेका हुन। खोप केन्द्र अवलोकनपछि स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाबिरुद्धको फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताए। मन्त्री खतिवडाले अबको एक महिना भित्र नेपालको हरेक भागमा खोपको शुरुवात गर्ने बताए। उनले अहिले खोपको अभाव कतै नभएको बताउँदै २४ घण्टा नै काठमाडौं उपत्यकाका ५ अस्पतालमा खोप लगाइने बताए। मन्त्री खतिवडाले सरकारले कर्मचारीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाए। 

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपालीहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन सहयोग गर्न पाएकोमा खुशी रहेको बताएका छन्। उनले फाइजर भ्याक्सिनले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्ने र कोरोनाबिरुद्धको लडाइँमा अहोरात्र खटिएका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरु नै बास्तविक हिरो भएको बताए। 

मन्त्री लूले नेपाललाई आगामि दिनमा सहयोग गरिरहने बताउँदै नेपालले मागेको कोरोनाबिरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रतिवद्धता जनाए। अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६२० डोज गत कात्तिक आठ गते काठमाडौँ आएको थियो। सो खोपको पहिलो मात्रा अपांगता भएका १२ वर्षमाथिका बालबालिकाहरुलाई गत कात्तिक २८ गतेबाट लगाउन शुरु गरिएको छ।

२९९ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमण पुष्टि भएको छ।  

११ हजार १ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ६ संक्रमितको मृत्यु भएको छ भने २६० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार अहिले देशभर ७ हजार ६४२ जना सक्रिय संक्रमित रहेका छन्।

नेप्सेमा ओरालो

साप्ताहिक कारोबारको अन्तिम दिन आज बिहीबार सेयर बजार ओरालो लागेको छ। 

बिहीबार कारोबार मापन परिसूचक (नेप्से) ३२.३९ अंकले घटेर २७६९.३९ विन्दुमा पुगेको छ। बुधबारसम्म निरन्तर उकालो लागेको सेयर बजार बिहीबार भने घटेको हो। बिहीबार २२४ कम्पनीको ९८ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। 

बिहीबार ६० करोड ४४ लाख रुपैयाँभन्दा बढी रकमको खरिदबिक्रीसहित नेपाल टेलिकम अग्रस्थानमा रह्यो। बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ७ अर्बभन्दा माथि कारोबार भएको सेयर बजारमा बिहीबार भने  ६ अर्ब २७ करोड १८ लाख रुपैयाँको कारोबार भयो।  

शुक्रबार सुरु हुँदै ए डिभिजन लिग

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल भोलि शुक्रबारबाट सुरु हुँदैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ। दोस्रो दिनबाट हरेक दिन दुई खेलहरु हुने छन्। 

कुल ९१ खेल हुने लिगमा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन्। यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ’बी’ डिभिजनमा झर्ने छन्। अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो। यस पटकको लिग विजेताले ७५ लाख पाउने छन्। यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन्।


प्रकाशित: Nov 18, 2021| 19:41 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।