मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : इजलास फर्किने तयारीमा न्यायाधीशहरु, दिल्लीमा अनिश्चितकालका लागि विद्यालय बन्द

बिहानी समाचार : इजलास फर्किने तयारीमा न्यायाधीशहरु, दिल्लीमा अनिश्चितकालका लागि विद्यालय बन्द

सर्वोच्चमा गोला प्रथा लागू हुने, आजको फुलकोर्टले कार्यविधि पारित गर्दै, नेपाल बार एसोसियसनद्धारा धर्ना जारी
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं- सर्वोच्च अदालतका आन्दोलनरत १३ न्यायाधीशहरूको आह्वानमा बिहीबार फुलकोर्ट बैठक बस्ने भएको छ। बैठकमा गोला प्रथाबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने विषयमा छलफल हुने भएको छ। बैठकले नियमावली संशोधनको कार्यबिधि अनुमोदन गरेपछि आन्दोलित न्यायाधीहरू इजलास फर्किने भएका छन्। बुधबार नै नियमावली संशोधनका लागि तयार कार्यविधिमा उनीहरूबीच सहमति भएपछि त्यसलाई अनुमोदन गर्नका लागि फुटकोर्ट बोलाउन आग्रह गर्ने निर्णय गरेको थियो।

नियमावलीमा ‘प्रधानन्यायाधीशले सर्वोच्च अदालतका इजलासहरूमा मुद्दा तोक्ने’ व्यवस्था छ। त्यसलाई संशोधन गरेर ‘गोला प्रणालीबाट मुद्दा तोकिनेछ’ बनाइनेछ। संशोधित नियमावली कहिलेदेखि लागू हुनेछ भन्नेबारे भने सर्वोच्चका न्यायाधीशहरूले टुंग्याउन बाँकी छ। सो टुंगिएपछि उनीहरु इजलास फर्किने भएका हुन्। 

नेपाल बार एसोसिएसनको धर्ना जारी

नेपाल बार एसोसिएसनले बिहीबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्च अदालतको मुल गेट अगाडी धर्ना दिएको छ। जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन गत शुक्रबारदेखि बारको आह्वानमा कानुन व्यवसायीहरूले निरन्तर धर्ना दिँदै आएका छन्। उनीहरुले जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। तर, जबरा कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन्।

कानुन व्यवसायीको आन्दोलनलाई बेवास्ता गर्दै दिनहुँ वैकल्पिक बाटोबाट सर्वोच्च अदालत प्रवेश गर्दै आउएका छन्। बारले भने मंसिर ३ गतेसम्म जबराले राजीनामा नदिए जबराविरुद्ध देशभरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने चेतावनी दिएको छ। यस्तै बारले देशभरका कानुन व्यवसायीलाई काठमाडौं उतारेर विरोध गर्ने समेत तयारी थालेको छ। 

प्रधानमन्त्री देउवासँग भेट गर्दै अमेरिकी सहायक विदेशमन्त्री लु

तीनदिने भ्रमणमा बुधबार नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले बिहीबारदेखि उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै छन्। दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले भोलि परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम छ।

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

दाङमा सडक मर्मतका क्रममा बिहीबार बिहान स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका–५ मा सडक मर्मतका क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही–१० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा१क ९१४ नम्बरको स्काभेटर दुर्घटनामा परेको हो। 

दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्ने सहमति

नगरकोट जाने सडकखण्डको निर्माण अबको दुई महिनाभित्र सम्पन्न नगरे ठेक्का सम्झौता रद्द हुने भएको छ। भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलबीच अबको दुई महिनाभित्र कमल विनायक–नगरकोट सडकखण्डको काम सम्पन्न नभए ठेक्का सम्झौता रद्द गर्ने सहमति भएको हो।

निर्माण व्यवसायी महासङ्घका पूर्वमहासचिव रामशरण देउजाको समन्वयमा बुधबार संघ र प्रदेशका दुई मन्त्रीसहितको टोलीबीच भएको छलफल भएको थियो। निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले २०७०÷७१ मा सडक निर्माण कार्य सुरु गरे पनि अझै काम सकेको छैन। 

देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली 

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ। बिहीबार बिहानैदेखि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्रमा दिउँसो र रातिको मौसम पनि हालकै जस्तो हुनेछ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

वायू प्रदूषणका कारण दिल्लीका शिक्षण संस्था बन्द

वायू प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि भारतको राजधानी नयाँ दिल्लीका विद्यालय तथा कलेजहरू बिहीबारबाट अनिश्चित कालका लागि बन्द भएका छन्। यातायात र सुरक्षाबाहेकका निर्माण कार्यमा भने नोभेम्बर २१ सम्म प्रतिबन्ध लगाइएको छ। सहरमा रहेका कोइलामा आधारित ११ मध्ये पाँचवटा पावर प्लान्टलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ।

न्युजिल्यान्डविरूद्ध भारतको विजयी सुरुवात

भारतले न्युजिल्यान्डविरुद्धको टी–२० सिरिजमा विजयी सुरुवात गरेको छ। बुधबारराति भएको टी–२० सिरिजको पहिलो खेलमा पाहुना टोली न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको हो।न्युजिल्यान्डले दिएको १६५ रनको लक्ष्य भारतले ५ विकेट गुमाएर १९.४ ओभरमा पुरा गर्‍यो। यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो।

प्रकाशित: Nov 18, 2021| 10:51 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।