इजलास र आन्दोलन सँगसँगै
नियमित मुद्दाको सुनुवाइमा फर्केका पाँच न्यायाधीशहरूले आफूहरू नेपाल बार र अन्य न्यायाधीशहरूसँगै रहेको बताएका छन्। नेपाल बारसँगको बुधबार भएको छलफलमा विद्रोह गरेको भनिएका पाँच न्यायाधीशहरुले आफूहरु सर्वोच्चका बाँकी न्यायाधीशसँगै रहेको बताएका हुन्।
उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको सम्मानजनक बहिर्गमनमा आफूहरूको विमति नरहेको स्पष्ट पारेका छन्। उनीहरुले लामो समय मुद्दाको सुनुवाइ नहुदाँ जनतालाई सास्ती भएकाले सांकेतिक रुपमा सुनुवाइमा फर्केको बताएका छन्।
न्यायाधीशहरू तेजबहादुर केसी, कुमार चुडाल, कुमार रेग्मी, मनोज शर्मा र बमकुमार श्रेष्ठ सोमबारदेखि नियमित इजलासमा फर्किएका थिए। उनीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेर आन्दोलित बनेका आफ्ना अन्य सहकर्मी न्यायाधीहरुसँग मंगलबारदेखि छलफलमा नबस्ने निर्णय गरेका थिए। आज बारसँग छलफल गरेका उनीहरुले बारको मागमा आफूहरुको सहमति रहेको जवाफ दिएको सर्वोच्च बारका सचिव ऋषि घिमिरे बताए।
जबराका फैसला अध्ययन गर्छौँ : बार
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विवादित फैसलाका विषयमा अध्ययन गर्ने बताएका छन्।
नेपाल बार एसोसिएसनले बुधबार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले गरेका अन्यायपूर्ण फैसलाको अध्ययन गर्ने बताएका हुन्। जबराको फैसलाका कारण अन्यायमा परेकाहरुको फैसला बारलाई उपलब्ध गराउन पनि उनले आह्वान गरेका छन्। जबराको राजीनामापछि पनि सम्पति विवरण संकलन गरीने र छानविन हुने उनले बताए।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप लगाए। जबराको निर्देशनमा बिचौलियाहरु बारको आन्दोलनविरुद्ध लागेको भन्दै उनले बारको आन्दोलन विरुद्ध नलाग्न चेतावनी दिए। उनले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने बताए।
प्रधानन्यायाधीश राणाको सिट खाली भइसक्यो : शम्भु थापा
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका छन्।
नेपाल बार एसोसिएसनले बुधबार गरेको सर्वोच्च अदालतमा धर्ना कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा सम्बोधन गर्दै थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका हुन्। उनले नयाँ प्रधानन्यायाधीश नियुक्ति गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि आन्दोलन गरेको बताए। केही न्यायाधीशहरु इजलास बस्न लागेको तर्फ इंगित गर्दै उनले न्यायाधीशहरुले मात्रै अदालत चलाउन नसक्ने बताए।
प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेको बखत इजलासमा बस्ने न्यायाधीश दूषित भएको टिप्पणी उनले गरे। उनले आफूहरु भ्रष्टाचारीको पछि लागेर बहस नगर्ने स्पष्ट पारे। वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्नेमा पनि जोड दिए।
मुख्यमन्त्री राईले पाए विश्वासको मत
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले माग्नु भएको विश्वासको मतको पक्षमा बहुमत पुगेको उल्लेख गर्दै प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले उनले विश्वासको मत प्राप्त गर्नु भएको घोषणा गर्नु भएको हो। बैठकमा मुख्यमन्त्री राईले राख्नु भएको विश्वासको मतको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत प्राप्त भएको थियो। प्रदेशसभाको बैठकमा ७९ जना सदस्यहरु उपथित हुनु भएको थियो। मत दिन्न भन्ने पक्षमा भने कुनै पनि मत परेको थिएन।
नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यस अघि उनले प्रदेशसभामा विश्वासको मत माग्दै प्रतिपक्ष दलहरुसँग पनि मिलेर काम गर्ने प्रतिवद्धता जनाए।
सानेपामा डडेल्धुरा कांग्रेसले थाल्यो अनशन
वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली काँग्रेस डेडलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन।
पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने भन्दै उनीहरुले बुधबारबाट पार्टी केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका हुन। डडेलधुराका हजारौं पार्टी नेता, कार्यकर्ताको भावना अनुसार पुनः अधिवेशन गर्न गरिएको मागको केन्द्रिय सभापति शेरबहादुर देउवाले सुनुवाई नगरेपछि आफूहरुले बाध्य भएर पार्टी केन्द्रमै रिले अनसन सुरु गर्नु परेको सभापति मल्लले बताएका छन्।
त्यसैगरी नेविसंघ, जिल्ला कार्य समिति डडेलधुराकी नेतृ देवकी जोशीले पनि पार्टीका केन्द्रिय सभापतिसँग न्याय माग्न आफूहरु पार्टी केन्द्रिय कार्यालयमानै रिले अनसन बस्न बाध्य हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे।
करमैत्री प्रणाली बनाउन सरकार लागिपरेको छ : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको बताएका छन्।
१०औँ राष्ट्रिय कर दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको बताएका हुन। अर्थमन्त्री शर्माले डिजिटल प्रणालीलाई व्यवस्थित रुपमा पूर्ण लागू गर्नको लागि सरकार मात्र नभई करदाता र कर प्रशासन समेतले त्यसको व्यवस्था गर्नुपर्ने बताए ।
मन्त्री शर्माले कम्प्युटर बिना व्यापार गरिरहेको पसलहरुमा गएर हस्तक्षप तथा नियन्त्रण गर्न नमिल्ने बताएका थिए।
उनले कर दबाव नभई आवश्यकता भएको बताउका हुन। अर्थमन्त्री शर्माले कर विवादको अवस्थाबारे विवरण सार्वजनिक गर्न राजस्वका अधिकारीहरुलाई निर्देशन दिए। कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले सरकारले व्यवसायीलाई कर कार्यालयसम्म जानु नपर्ने गरी सबै कर प्रणलाीलाई व्यवसायी मैत्री कर प्रणाली निर्माण गर्न लागेको बताए।
सचिव शर्माले कर तिर्नको लागि कुनै विवाद गरिरहनु नपर्ने भन्दै हरेक सेवा, सुविधा र सुरक्षाका लागि सबैले कर तिर्नु पर्ने बताए।
विद्युतीय राहदानी वितरण सुरु
राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ। बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै इ पासपोर्ट सार्वजनिक गरेको हो। कार्यक्रममा महानिर्देशक डोरनाथ अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताए। उनले संसारमा चलेका राहदानीहरुमा विद्युतीय राहदानी सबै भन्दा पछाडिको रहेको बताएका छन्। महानिर्देशक अर्यालले नयाँ सार्वजनिक गरिएको राहदानी ३४÷६६ पृष्ठको रहेको र अब ट्राभल गर्नेहरुको पेज सकिएर राहदानी विभागमा धाइरहनु पर्ने समस्या समाधान हुने उनले बताए।
अब अनलाइन बाट नै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्न नपर्ने बताउँदै महानिर्देशक अर्यालले अब भीडको व्यवस्थापनमा सहज हुने बताउनु भयो। उहाँले राहदानीलाई थप सुरक्षित गर्न राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिएको पनि बताउनु भयो। आजदेखि केन्द्रीयस्तरमा जारी भएको इलेक्ट्रोनिक पासपोर्ट मंसिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी हुनेछ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन्। बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री खड्काले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपरेको स्विकार गर्दै अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका हुन। देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उनले बताए । नेपाल र अन्य धनिमानी भनिने देशहरुलाई एउटै बास्केटमा राखेर व्यवहार गर्ने खालको सम्मान नेपाली राहदानीमा थप्ने मन्त्री खड्काले बताए ।
फर्नेस आयलमा आगलागी
पुरानो टायरहरु पघालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका ४ स्थित ग्लोबल बायो ईनर्जी ईन्भेष्टमेन्ट प्रालिमा आगलागि भएको छ।
बुधबार (आज) बिहान पौने ६ बजे आगलागि हुँदा उक्त उद्योगमा कच्चा पदार्थकोरुपमा प्रयोग हुने पुराना टायरहरु जलेर नष्ट भएको छ। यस्तै टायरबाट तार निकाल्ने मेसिन र टायर काट्ने मेशिनहरुमा क्षति पुगेको छ। दुई सिफ्टमा संचालन हुने सो उद्योग गएरातिको बिहान २ बजे दोश्रो सिफ्ट पछि बन्द अवस्थामा थियो।
उद्योगको स्क्रयाप वार्डमा राखिएका पुराना टायरहरु जल्न थालेपछि आगलागिले भिषणरुप लिएको थियो। टायरहरुमा लागेको आगो पानीको फोर्सले मात्र निभाउन समस्या भएपछि स्काभेटर मंगाएर टायरहरुको चाङलाई खोतलेर आगो नियन्त्रणमा लिइएको थियो। बिहान पौने ६ बजे लागेको आगो स्थानियबासी, दमकल र प्रहरी प्रशासनको सहयोगबाट ८ बजेपछि मात्र नियन्त्रणमा आएको थियो। बिद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने अनुमान गरिएको भएपनि सो बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए।
बुधबार पनि नेप्सेमा हरियाली
साताको चौथो दिन बुधबार पनि सेयर बजार बढेको छ। बुधबार नेप्सेमा १६.९५ अंक वृद्धि भएर सूचक २८०१.५२ मा पुगेको हो। बुधबार उकालो लागेको नेप्सेमा ७ अर्ब ३७ करोडभन्दा बढीको कारोबार भएको छ। ९४ वटा कम्पनीको सेयर मूल्य बढेको नेप्सेमा ८८ कम्पनीको मूल्य घटेको छ। ५ कम्पनीको मूल्य यथावत छ।
पछिल्ला तीन दिन लगातार उकालो लागेको नेप्सेमा ११३ अंकले वृद्धि भएको छ। आइतबार २६८८ अंकमा नेप्से बन्द भएको थियो। सोमबारदेखि नेप्सेको हरियाली यात्रा बुधाबार पनि कायमै भएको हो।
४१२ संक्रमित थपिए
बुधबार देशभर ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ११ हजार ९९३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २०३ जना कोरोनामुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ९ लाख १३ हजार २५८जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये ७ लाख ९८ हजारर ९१६ जना संक्रमणमुक्त भएका छन्।
हालसम्म ११ हजार ४८३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। ५१ लख ३४ हजार ९३९ नमुना परीक्षण गरिएको छ।
चीन विश्वकै धनी
अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ। परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको जनाएको हो।
तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ खर्ब डलर रहेकोमा सन् २०२० मा १ सय २० खर्ब डलर पुगेको छ। जुन १६ गुणाले बढी हो। विश्वको कूल सम्पत्तिको एकतिहाइ सम्पत्ति चीनमा रहेको छ।
पछिल्लो २० वर्षमा विश्वको कूल सम्पत्ति पनि तीन गुणाले बढेको छ। चीन २००१ को ११ डिसेम्बरमा डब्लूटीओको सदस्य भएको थियो।
डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीब्र विकास भएको विज्ञहरुले बताउँदै आएका थिए। अमेरिकामा पछिल्लो दुई दशकको अवधिमा देशको कूल सम्पत्ति ९० ट्रिलियन डलर बढेको छ।
ए डिभिजन लिगको प्रायोजक कतार एयरवेज
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबललाई कतार एयरवेजले प्रायोजन गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार कतार एयरवेजसँग मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरेको छ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। एन्फाले एक वर्षको लागि कतार एयरवेजसँग १ लाख ५० हजार अमेरिकी डलरको सम्झौता गरेको हो। कतार एयरवेजले अघिल्लो पटकको लिगमा समेत मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको थियो।