मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • इजलास फर्कन थाले न्यायाधीश, रंगशाला निर्माणबाट पछि हटे धुर्मुस-सुन्तली [२०७८-७-३०]

इजलास फर्कन थाले न्यायाधीश, रंगशाला निर्माणबाट पछि हटे धुर्मुस-सुन्तली [२०७८-७-३०]

गोलाप्रथा अटोमेसन प्रणालीबाट पेसी तोक्न सुरु गरिए आफूहरु इजलास फर्किन सक्ने सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशहरुले बताएका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

इजलास फर्कन थाले न्यायाधीश

गोलाप्रथा अटोमेसन प्रणालीबाट पेसी तोक्न सुरु गरिए आफूहरु इजलास फर्किन सक्ने सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशहरुले बताएका छन्। 

आज मंगलबार नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरुसँगको छलफलमा सहभागी सर्वोच्चका १३ न्यायाधीशले यस्तो बताएका हुन्। उनीहरुले अटोमेशन लागू भएमा आन्दोलनसँगै सुनुवाइमा पनि जानुपर्ने अवस्था आउनसक्ने बताएका हुन्। अदालतमा सेवाग्राहीले सेवा पाउन नसकेको प्रति गम्भीर बन्नुपर्नेमा भन्दै उनीहरुले जनतालाई न्यूनतम क्षति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएको  नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्। छलफलका क्रममा बारले प्रधानन्यायाधीशको राजीनामा नै आफूहरुको बटम लाइन रहेको धारणा राखेको उनले बताइन्। 

उपाध्यक्ष बस्यालका अनुसार न्यायाधीशहरुले न्यायपालिकाको विकृति र विसंगतिको सम्बन्धमा कुनैपनि सम्झौता नहुने जनाएका छन्। न्यायालय सुधारकै निम्ति आफूहरुले योगदान दिने न्यायाधीशहरुले बताएको उपाध्यक्ष बस्यालको भनाई छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको एजेण्डाबाट भने आन्दोलनरत न्यायाधीशहरु पछि नहट्ने भएका छन्। यस्तै, राणा सँगको संयुक्त इजलासमा पनि नबस्ने उनीहरुको भनाइ छ। न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामाको प्रमुख मागसहित जारी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको बताएका छन्। 

यस्तै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ सुरु भएको छ। 

आज मंगलबार चार जना न्यायाधीश नियमित इजलासमा फर्किएसँगै सामान्य मुद्दामा पनि सुनुवाई सुरु भएको हो। न्यायाधीशहरु तेजबहादुर केसी र कुमार रेग्मी तथा वमकुमार श्रेष्ठ र मनोज शर्माले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ गरेका हुन्। 

यसअघि वन्दीका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरुले आजबाट त्यसबाहेकको मुद्दा पनि सुनुवाइ गरेका हुन्। कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको आन्दोलनबारे थप रणनीति बनाउन हिजो नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग आयोजित छलफल बहिष्कार गरेका ४ जना न्यायाधीशहरु नियमित मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किएका हुन्।

प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीसँग मन्त्रिपरिषद्सहित विभिन्न निकायमा नियुक्तिका लागि हिस्सा खोजेको, पेसी तोक्दा नियत राखेको, आफूविरुद्धका मुद्दाको सुनुवाइ सारेको, न्यायलयमा देखिएका विकृति तथा विसंगति हटाउन कुनै भूमिका नखेलेको भन्दै कात्तिक दोस्रो सातादेखि सर्वोच्चका न्यायाधीशहरुले ’आन्दोलन’ सुरु गरेका थिए। 

उता प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले भोलि बुधबारबाट आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ। 

आज मंगलबार आयोजित धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलिबाट सुरु हुने तेस्रो चरणको आन्दोलन सशक्त बनाउने उद्घोष गरेका हुन्। प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसङ्गति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको जिकिर गरे। 

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधी जबराले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति विवरण छानबिन गर्न माग आइरहेको बताउँदै त्यसको लागि १९ जना न्यायाधीशसँग छलफल भइरहेको बताए। उनले तेस्रो चरणको कार्यक्रममा पनि दिनको दुई घण्टा निरन्तर धर्ना दिने बताए। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ। मंगलबार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन हो।

प्रधानन्यायाधीशको बचाउमा संवैधानिक आयोगका पदाधिकारी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कोटाबाट नियुक्त भएको भनी आरोप खेपेका संवैधानिक पदाधिकारीहरुले अप्रत्यक्ष रुपमा उनको बचाउमा वक्तव्य जारी गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा आठ संवैधानिक निकायका अध्यक्ष र ३१ जना सदस्यहरुले जबराको बचाउ गर्दै विज्ञप्ति जारी गरेका हुन्। विज्ञप्तिको पहिलो वाक्यमा नै सर्वोच्च अदालतमा दुई सातादेखि बन्दीप्रत्यक्षीकरण लगायतका निवेदन समेत सुनुवाइ हुन नसकेको भनिएको छ। जबकी केही दिनलाई छाडेर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनको नियमित सुनुवाइ भइरहेको छ। संवैधानिक पदाधिकारीहरुले अदालतको विवादमा प्रधानन्यायाधीश र न्यायाधीशहरु बराबर जिम्मेवार रहेको भनी टिप्पणी गरेका छन्। अनि बारलाई पनि जिम्मेवार हुन आग्रह गरेका छन्। विज्ञप्तिमा उनीहरुले वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गरेका छन्।

मानव अधिकार आयोगसहित विज्ञप्ति जारी गर्नेमा दलित, आदिवासी जनजाति, मुस्लिम, मधेसी, थारु, महिला लगायतका आयोगका पदाधिकारी छन्। मानव अधिकारको विषयसँग प्रत्यक्ष सरोकार नराख्ने निकायका पदाधिकारीहरुले पनि आफूहरुको क्षेत्राधिकार नजोडिएको विषयमा टिप्पणी गरेको भन्दै आलोचना भएको छ। 

प्रदेश २ का पर्यटनमन्त्री बर्खास्त

प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्तीमा परेका छन्। 

एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए। राजीनामा दिन आनकानी गरेका यादवलाई मुख्यमन्त्री राउतले मंगलबार बर्खास्त गरेका हुन्। मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट मन्त्री बनेका रायलाई पदमुक्त गरेका हुन्। उनले यसअघि मन्त्री रायलाई राजीनामाका लागि निर्देशन दिएका थिए। 

तर राजीनामाका लागि आफूलाई पार्टीले भन्नुपर्ने अडान राख्दै रायले मुख्यमन्त्रीले माग गरेकै आधारमा राजीनामा नदिने अडान लिएका थिए। गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राउतले यसअघि सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई सामेल गरिसकेका छन्। नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गर्न उनले मन्त्रालयको भागवण्डा मिलाउने उद्देश्यले मन्त्री रायको राजीनामा माग गरेका थिए। 

प्रदेश १ का मुख्यमन्त्री राईको विश्वासको मत लिने कार्यतालिका प्रभावित

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन नपाई प्रदेश सभा बैठक स्थगित भएको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि प्रदेश सभा बैठक स्थगित भएको हो। मध्यान्ह १२ बजे बोलाइएको प्रदेश सभा बैठक साढे दुई बजे सुरु भए पनि एक मिनेटमै स्थगित भएको छ। सभामुख प्रदीपकुमार भण्डारीले प्रमुख प्रतिपक्षी दलका सांसद उपस्थित नभएका कारण बैठक स्थगित गरेको जानकारी गराए। 

अर्को बैठक भोलि बुधबार ११:३० बजे बोलाइएको छ। एकीकृत समाजवादीका सांसद राईको नेतृत्वमा प्रदेशमा नयाँ सरकार गठन भएपछि आज मंगबार विश्वासको मत लिने कार्यतालिका तोकिएको थियो। अब भोलि उनले विश्वासको मत लिने भएका छन्। 

२७८४ बिन्दुमा पुग्यो नेप्से

सोमबारबाट सकारात्मक बनेको सेयरबजार आज पनि उच्च अंकले बढेको छ। 

साताको तेस्रो दिन आज मंगलबार पुँजीबजार मापक परिसूचक (नेप्से) ६९.२२ अंकले बढेर २७८४.५७ विन्दुमा उक्लिएको छ। कारोबार पनि आज करिब एक अर्बले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कूल पाँच अर्ब ५२ करोड १६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

कूल २२७ वटा कम्पनीका एक करोड ९३ हजार २२१ कित्ता सेयर ६९ हजार २०० पटक किनबेच भएका थिए। आज नेप्सेमा कारोबार भएकामध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको थियो। सोमबार जस्तै आज पनि सबै उपसमूहको परिसूचक हरियाली बनेको छ।

कफीको निर्यात उत्साहजनक

कोभिड संकटको बेलामा पनि नेपालमा कफीको निर्यात् उत्साहजनक रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।  तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७७/७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात भएको हो। कोभिडका कारण विश्वनै आर्थिक संकटमा परेको बेलामा पनि नेपालमा भने यसको निर्यात् करिव डेढ वर्षको बीचमा दोब्बर देखिएको भन्सार विभागको तथ्यांकले नै पुष्टि गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए। 

बोर्डले आगामी आर्थिक वर्षदेखि ‘युवा लक्षित कफी विस्तार’ कार्यक्रम संचालन गर्ने घोषणा पनि गरेको छ। प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशहरुमा कफी खेतीको विस्तारका लागि आवश्यक नीतिगत योजना तय गरिएको पनि जनाएको छ। पत्रकार सम्मेलनमा मंसीर १ (भोली)देखि लागू हुनेगरी कफीको मूल्य पनि सार्वजनिक गरेको छ। जस अनुसार फ्रेस चेरी ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ। त्यसैगरी ग्रेड बि को सो कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ। पार्चमेन्ट ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ४५० रुपैयाँ निर्धारण गरिएको छ।नेपालमा मंसीर १ गते कफी दिवस मनाउने गरिन्छ।

३७७ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

६ हजार ५ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १७० जना निको भएका छन्। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ जना रहेका छन्। 

बाइडेन र सीबीच भर्चुअल बैठक

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भर्चुअल बैठक भएको छ। 

बाइडेन राष्ट्रपति बनेपछि चिनियाँ राष्ट्रपतिसँग भर्चुअल रुपमै पनि भए पनि पहिलो पटक आमनेसामने बैठक भएको हो। तइवान, साइबर सुरक्षा, व्यापार र आणविक अप्रसार सन्धी जस्ता विषय वार्ताका एजेण्डा हुने बताइएको छ। ताइवाको विषयलाई लिएर दुई देशबीच तनाव बढिरहेको बेला भएको बैठकमा अमेरिकी राष्ट्रपति बाइडेनले उनीहरुबीचको मत भिन्नतालाई द्वन्द्वमा परिणत हुन नदिनु दुवै देशको जिम्मेवारी हुने बताएका छन्।

एकअर्कालाई अभिवादन गर्दै सुरु गरिएको भर्चुअल संवादको सुरुमा चिनियाँ राष्ट्रपति सीले आफ्ना पुराना मित्र बाइडेनलाई भेट्न पाउँदा खुशी लागेको बताए।

धुर्मुसले उठाए हात

धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अपनत्व ग्रहण गर्न सरकारलाई आग्रह गरेको छ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ’धुर्मुस’ ले आज मंगलबार एक भिडियोबाट रंगशालाको अपनत्व ग्रहण गर्न संघिय, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका हुन्। कट्टेलले आर्थिक समस्याका कारण रंगशाला निर्माण कार्य रोकिएको बताउँदै सरकारसँग सहयोगका लागि आग्रह गरेका छन्। 

उनले हरेक स्थानीय सरकार, प्रदेश सरकारदेखि सिंहदरबारको ढोकामा पुगेपनि सोचेजस्तो सहयोग नपाएको गुनासो गरेका छन्। कट्टेलले रंगशाला निर्माणको क्रममा १७ करोड रुपैयाँभन्दा बढी ऋण लागेको बताएका छन्। कट्टेलले ऋण लिएका व्यवसायीहरूको तारन्तार फोन गर्न थालेको समेत बताए।अब आफूले रंगशाला निर्माणलाई अघि बढाउन नसक्ने संकेतसमेत उनले गरेका छन्।

प्रकाशित: Nov 16, 2021| 19:15 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।