मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • प्रधानन्यायाधीशसँग वार्ता नगर्ने पक्षमा बार, न्यायाधीश विभाजित [२०७८-७-२९]

प्रधानन्यायाधीशसँग वार्ता नगर्ने पक्षमा बार, न्यायाधीश विभाजित [२०७८-७-२९]

पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन राजनीतिक दलहरुसँग माग गरेको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

पूर्वन्यायाधीशले गरे प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको माग

पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन राजनीतिक दलहरुसँग माग गरेको छ। 

फोरमले प्रधानन्यायाधीश जबरा न्यायपालिका नेतृत्वका लागि अयोग्य प्रमाणित भइसकेको भन्दै यस्तो माग गरेको हो। फोरमले आज सोमबार पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीश राणा न्यायपालिकाको नेतृत्व गर्न आयोग्य प्रमाणित भइसकेको बताएको हो। प्रधानन्यायाधीश जबराले आचारसंहिता उल्लघंन गरेका कारण महाअभियोग लगाउनका लागि पर्याप्त आधार भएको भन्दै फोरमले सरकार, राजनीतिक दल समक्ष संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन माग गरेको छ। पूर्व न्यायाधीश फोरम, नेपालका अध्यक्ष टोपबहादुर सिंहले प्रधानन्यायाधीश जबराको विज्ञप्तीमा समस्या समाधानको निम्ति ‘आइसब्रेक’ गर्ने खालको कुनै कुरा नआएको टिप्पणी गरे। विज्ञप्ती अल्मल्याउनको निम्ति फालिएको पासा मात्रै भएको उनको भनाइ छ।

प्रधानन्यायधीश जबराको हठ र निरंकुशताका कारण न्यायालयमा संकट उत्पन्न भएको भन्दै जबरा पदबाट अबिलम्व बर्हिगमन हुनुपर्ने माग पूर्व न्यायाधीश फोरमले राखेको छ। पूर्व न्यायाधीश फोरम, नेपालका सदस्य राजेन्द्रकुमार भण्डारीले न्यायालयमा विचौलिया भित्राउने मुख्य नाइकेनै प्रधानन्यायाधीश जबरा भएको आरोप लगाउँदै जबराको बर्हिगमन आवश्यक ठहरिएको बताए। 

फोरमले वैधानिक बाटोबाट अदालत प्रवेश गर्न नसक्ने, प्रहरीको संरक्षण खोज्ने, जिम्मेवारीबाट पन्छिने प्रधानन्यायाधीश जबराबाट न्यायपालिकाको नेतृत्व हुन नसक्ने पूर्वन्यायाधीश फोरमको ठहर छ।

उता नेपाल बार एसोसिएसनले भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ। 

सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो। वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको बारको ठहर छ। प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले बटमलाइन बनाएकाले तत्काल वार्तामा नबस्ने निर्णय भएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। उनले न्यायपालिकाको जनआस्था कायम राख्नका लागि, जनतालाई न्याय दिलाउनका लागि एक मात्रै उपाय भनेको प्रधानन्यायाधीश जबराको राजीनामा भएको दोहोर्‍याए। 

बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्नामा बसिरहेका बेला जबराको विज्ञप्ति आएको थियो। प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन कानुन व्यवसायीलाई आह्वान गरेका थिए। उनले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको पनि जनाएका छन्। जबराले न्यायापालिकाको समग्र आधारलाई कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेका छन्।   सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश जबराको बिज्ञप्ती पढेर सुनाएका थिए। 

प्रधानन्यायाधीश जबराले संविधानको सफल कार्यान्वयनका लागि राज्यका सबै अंगसहित राज्यको सम्पूर्ण निकायहरु एकतावद्ध हुनुपर्ने बेलामा आफूमाथि तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउने काम भईरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका थिए। 

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन भोलि मंगलबार दुवै गेट बन्द गर्ने चेतावनी दिएको छ। 

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि दुबै गेटमा धर्ना बस्ने चेतावनी दिएका हुन्। राणालाई सर्वोच्च छिर्न नदिने भनेर बारको अगुवाइमा कानुन व्यवसायीहरूले सर्वोच्च परिसरमा धर्ना दिने गरेका छन्। तर, राणा भने महान्यायाधिवक्ता कार्यालयको बाटो भएर सर्वोच्च छिरेका छन्। शुक्रबार, आाइतबार र सोमबार राणा महान्यायाधिवक्ता कार्यालयको बाटो भएर सर्वोच्च छिरेका छन्। कानुन व्यवसायीले महान्यायाधिवक्ता कार्यालय अगाडि पनि धर्ना दिन खोज्दा प्रहरीले अवरोध गरेको थियो। 

न्यायाधीशहरू नै विभाजित 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूको समूह नै विभाजित भएकभो भएको छ। 

आन्दोलनरत न्यायाधीश र नेपाल बार एसोसिएसनबीचको छलफलमा पाँच न्यायाधीश अनुपस्थित भएका छन्। उनीहरूले भोलिदेखि नियमित काममा फर्किने निर्णय गरेको पाँचमध्येका एक न्यायाधीशले बताए। सर्वोच्च अदालतका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडाल नियमित काममा फर्किने भएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कारबाही माग गर्दै उनले तोकेका बन्दीबाहेकका इजलास बहिष्कार गर्दै आएका पाँच न्यायाधीशले अरू सहकर्मीहरूसँगको छलफलमा नबस्ने भएका छन्। उनीहरूले गोलाप्रथाबाट पेसी तोक्ने सहमतिको फुलकोर्टमा मात्र सहभागी हुने अडान राखेका छन्। जनतालाई न्याय दिन बसेका हामी इजलास नबस्दा उनीहरूले पाएको सास्ती देखेर चित्त दुखेको भन्दै काममा फर्किन राजी भएको उनीहरुको भनाइ छ। 

हामीले विद्रोह गरेका हौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफुहरुले विद्रोह गरेर अघि बढेको बताएका छन्। 

सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुले आँट गरेर विद्रोह गरेपनि केही नेताहरु आँट नभएकै कारण एमालेको ढोकामा रोएर कराएर बसिरहेको टिप्पणी गरे। कतिपयलाई किन विद्रोह गरेको त्यही बसेर अन्तरसंघर्ष गरेको भए हुँदैन थियो भन्ने लागिरहेको हुनसक्ने भन्दै  एमालेमा स्पेश नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नुपरेको बताए। अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्याउन पनि विद्रोह अनिवार्य रहेको बताए। उनले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको बताए। 

अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताए। उनले कृषि क्षेत्रको रुपान्तरणको निम्ति राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले सुकुम्बासीहरुको समस्या समाधानमा सरकारले ध्यान पुर्याउनुपर्ने बताए। 

सीपी पुनः माले महासचिव

महासचिवमा सीपी (चन्द्रप्रकाश) मैनालीलाई नै निरन्तरता दिँदै नेकपा (माले)को ८औं महाधिवेसन सकिएको छ। 

शनिबार चितवनको भरतपुरमा सुरु भएको महाधिवेसन आज (सोमबार) सकिएको हो। मैनाली विगत २० वर्षदेखि मालेको नेतृत्वमा छन्। यसपटक पनि सर्वसम्मत रुपमा मैनाली महासचिव चयन भएको केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहले जानकारी दिए। 

शनिबारदेखि सुरु भएको महाधिवेशनमा महासचिव मैनालीको राजनीति प्रतिवेदनका साथै पार्टी विधान, संगठनिक प्रतिवेदन पारित गरिएको शाहले बताए। मालेले अहिलेको संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकाल्दै जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने एजेन्जा पारित गरेको छ।

देउवाको घरमा बैठक राखिएको भन्दै सिंहको असन्तुष्टि

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि जनाएका छन्। 

नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन्। नेपाली काँग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बुढानिलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आईतबार (हिजो) केन्द्रिय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाए। नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने चेतावनी समेत दिए। सत्ताको दूरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने उनको भनाइ छ। 

नेता सिंहले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गरे। उनले विधि र नियम उलंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको तर्क समेत गरे। 

कांग्रेस महाधिवेशन सुनिश्चित : गगन थापा

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले आईतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन्। 

सोमबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले  आईतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका हुन्। उनले निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको बताए। नेता थापाले समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामुहिक क्षयिकरणको प्रमाण भएको टिप्पणी गरे। 

नेता थापाले अहिले अदालतमा भएको समस्यालाई नेपाली काँग्रेसले समाधान गर्नुपर्ने बताए।  उनले नेपाली काँग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा काँग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताए। नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके काँग्रेस अब आउने निर्वाचनमा पहिलो एकल पार्टी भएर आउने दाबी गरे। 

पत्रकारको क्षमता विकासमा सरकारले सहयोग गर्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरुको क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।

अर्थमन्त्री शर्माले राष्ट्रिय समाचार समिति (रासस) सरकारी समाचार संस्था भएकाले यसले जनसरोकारका सबै विषयलाई उठान गर्नुपर्नेमा जोड दिए। आज काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्दै उनले राससले सरकारको प्रवक्ताको रुपमा काम गर्नुपर्ने बताउँदै सरकारको कमी कमजोरीलाई पनि पारदर्शी रुपमा आवाज उठाउनु पर्ने बताए। अर्थमन्त्री शर्माले राससमा जनशक्तिको क्षमता अभिवृद्धि गर्ने र यसको संरचनामा सुधार गर्न सहयोग गर्ने बचन दिए। 

अर्थमन्त्री शर्माले सरकारमा भएका भ्रष्टाचार र अपारदर्शीताबिरुद्ध आवाज उठाउँदै आत्मनिर्भर अर्थतन्त्रमा अघि बढेर राष्ट्रिय स्वाधीनता, रोजगारी र युवा जनशक्तिलाई देशमै स्थापित गर्ने काममा प्रेस सेन्टर नेपालले भूमिका खेल्नुपर्ने बताए।   

भारतको सहयोगमा ५० हजार आवासको पुनर्निर्माण सम्पन्न

भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ। 

सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपिएसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गर्र्दै भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी गराएको हो। कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नामग्यसी खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरुप ५० हजार निजी घरहरुको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताए। उनले नेपाललाई भारत सरकारले पुनर्निर्माणको क्षेत्रमा सहयोग गरिरहेको बताउँदै गोरखा, नुवाकोट र काठमाडौँलगायतका क्षेत्रमा साँस्कृतिक सम्पदाहरु पुनः निर्माणमा सहयोग गरिरहेको बताए। 

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारतले गरेको सहयोगका लागि धन्यवाद दिए। उनले भारत सरकारले नेपाललाई पुनर्निर्माणका लागि धेरै स्थानमा सहयोग गरेको बताउँदै भारतले उपलब्ध गराउने रकम उचित क्षेत्रमा प्रयोग हुने बताए। 

उत्कृष्ट ११ घोषित

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले टी–२० विश्वकपको उत्कृष्ट–११ को घोषणा गरेको छ। 

यसमा भारतका एक जना पनि खेलाडी पर्न सकेनन्। आईसीसीले पाकिस्तानका कप्तान बाबर आजमलाई आफ्नो टोलीको कप्तान बनाएको छ। पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्‍याउन आजमले महत्त्वपूर्ण भूमिका निभाएका थिए। प्रतियोगितामा उनले नै सबैभन्दा बढी रन बनाए। ६ खेलमा उनले कूल ३ सय ३ रन बनाए। यसमध्ये चार खेलमा उनले ५० भन्दा बढी रन बनाए। 

उत्कृष्ट–११ मा डेभिड वार्नर (अस्ट्रेलिया), जोस बटलर (इंग्ल्याण्ड), बाबर आजम (पाकिस्तान÷कप्तान), चरित असलंका (श्रीलंका), एइडन मार्क्रम (दक्षिण अफ्रिका), मोइन अली (इंग्ल्याण्ड), वाइनिन्डु हसरंगा (श्रीलंका), एडम जाम्पा (अस्ट्रेलया), जस हेजलवुड (अस्ट्रेलिया), ट्रन्ट बोल्ट (न्युजिल्याण्ड)  र एनरिच नोर्त्या (दक्षिण अफ्रिका) रहेका छन्। यसमा पाकिस्तान शाहिन शाह अफ्रिदी १२ औँ खेलाडी चयन भए।

प्रकाशित: Nov 15, 2021| 19:39 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।