काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई नेपाल बार एसोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित गरेको छ।
बारको आह्वानमा सोमबार पनि कानुन व्यवसायीहरूले सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन्। धर्नामा करिब एक हजारको संख्यामा कानुन व्यवसायी उपस्थित छन्। प्रधानन्यायाधीश जबरलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै शुक्रबारदेखि उनीहरू मुल गेटमा धर्नामा दिँदै आएका छन्।
तर, प्रधानन्यायाधीश वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गर्दै आएका छन्। प्रधानन्यायाधीशको शैलीबाट थप आक्रामक बनेको बारले आइतबारबाट देशव्यापी आन्दोलन सुरु गरेको छ। बारले प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नजान न्यायाधीशहरूसँग आग्रह गरेको छ। बारले लिखित रुपमै न्यायाधीशहरूलाई पत्र पठाउँदै इजलास बहिष्कार गर्न आग्रह गरेको हो। बारको पत्रका विषयमा सर्वोच्चका न्यायाधीशहरु पनि आन्तरिक छलफलमा जुट्ने भएका छन्।
हरिबोधिनी एकादशी मनाइँदै
ठोलो एकादशीसमेत भनिने यस दिन भगवान् विष्णुको उपासना गर्नाले एक हजार यज्ञ गरे बराबरको फल पाइने धार्मिक विश्वास छ। गरुड पुराणअनुसार यस महिनामा एउटा मात्र तुलसी पत्र भगवान् विष्णुलाई चढाउँदा पनि १० हजार गाई दान गरे बराबरको फल मिल्नेछ। हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी विवाह गरिदिने परम्परा छ। सोमबार काठमाडौं उपत्यकाका भक्तपुरको चाँगुनारायण, ललितपुरको विशंखुनारायण, काठमाडौंको शेषनारायण र इचङ्गुनारायणमा मेला लागेको हो। काठमाडौंमा रहेको बूढानीलकण्ठको मन्दिरमा पनि विशेष मेला लागेको छ।
तिलिचो घुम्न गएका युवाको लेक लागेर मृत्यु
हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ।
रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेको थियो।
लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए। मनाङका डीएसपी सुवास खड्काका अनुसार हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।
मुस्ताङको थासाङमा १२० चौरी बेपत्ता
मुस्ताङको थासाङ गाउँपालिका–२ को मानापाथी हिमालमा गएको हिमपहिरोमा परेर १२० वटा चौरी बेपत्ता भएका छन्।
जङ्गलमा चराउन लगिएका दुई गोठका १२० चौरी बेपत्ता भएको वडा अध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिए। १३० याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०/१२ मात्र देखिएको र बेपत्ता चौंरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला भने सुरक्षितरुपमा सम्पर्कमा आएका छन्। वडा अध्यक्ष हिराचनका अनुसार हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो समेत उडाएको छ। नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ।
घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँ पहिरोले क्षति पुगेको छ। आइतबार बिहान साढे ११ बजे मुस्ताङमा हिम पहिरो गएको थियो।
अमेरिका र चीनका राष्ट्रपतिबीच भर्चुअल वार्ता हुँदै
तनाव बढ्दै गएका बेला विश्वका दुई ठुला शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच आज वार्ता हुँदैछ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच भर्चुअल रुपमा वार्ता हुने भएको हो। गएको हप्ता अमेरिका र चीनले स्कटल्याण्डमा जलवायु परिवर्तनका मुद्दामा सहकार्य गर्ने घोषणा गरेको थियो। तर ताइवानलाई लिएर अमेरिका-चीन आमनेसामने हुने चिन्ता बढिरहेका बेला दुई देशका राष्ट्रपतिबीच वार्ता हुन लागेको हो। बाइडेन–सीबीच तेस्रोपटक वार्ता हुन लागेको छ।
साइबर सुरक्षा, व्यापार र परमाणु हतियारसहितका विषय वार्ताको एजेण्डा रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
विश्वकपमा छनोट भए सर्बिया, स्पेन र क्रोएसिया
स्पेन र क्रोयशिया र सर्बियाले सन् २०२२ मा कतारमा हुने फिफा विश्वपकमा स्थान पक्का गरेका छन्।
गए राति भएको विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा स्पेनले स्विडेनलाई १–० गोलले हराएर विश्वकप यात्रा तय गरेको हो।
यस्तै क्रोयशियाले रुसलाई १–० गोलले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो। त्यस्तै पोर्चुगललाई पराजित गर्दै सर्बियाले आगामी विश्वकपमा स्थान पक्का गरेको छ। गएराति भएको खेलमा पोर्चुगललाई २–१ गोलले हराउँदै सर्बियाले विश्वकपको यात्रा तय गरेको हो।