पहिला नेतृत्व अनि नीति
नेपाली काँग्रेसले पनि राष्ट्रिय महाधिवेशन पछि नीति महाधिवेशन गर्ने भएको छ। यसअघि महाधिवेशनकै बेलामा कांग्रेसले पार्टीको नीति तथा कार्यक्रम पेश गर्दै आएकोमा अब भने छुट्टै नीति अधिवेशन गर्न लागेको हो।
यस्तै अधिवेशनको अभ्यास यसअघि नेकपा एमालेले गरिसकेको छ। एमालेले राष्ट्रिय महाधिवेशनअघि विधान महाधिवेशन गरेर आफ्नो नीति तथा कार्यक्रम तय गरेको थियो। यस्तै सिके गर्दै काँग्रेसले पनि पार्टीको नीति तथा कार्यक्रम तय गर्न छुट्टै अधिवेशनको नीति अख्तियार गर्न लागेको हो।
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा अबदेखि महाधिवेशनपछि नीति अधिवेशन गर्ने भनेर सहमति जुटेको एक नेताले बताए। यसअघि काँग्रेसका नीति तथा कार्यक्रमसम्बन्धी प्रस्तावका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति गठनको तयारी भएको थियो। तर अब त्यसो नगरी एकैचोटी पछि नीति अधिवेशन गर्ने सहमति जुटेको छ। काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४–२६ गते हुँदैछ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि भोजन तथा आवास व्यवस्थापन समिति गठन गरिने भएको छ।
देशभरबाट भेला हुने महाधिवेशन प्रतिनिधिको व्यवस्थापनका लागि सो नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन गरिने भएको हो। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक अघि बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले पाण्डेको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको एक नेताले बताए। यस्तै बैठकले सातै प्रदेशमा महाधिवेशन समन्वय समिति बनाउने सहमति गरेको छ।
जसका लागि केन्द्रीय नेताहरुलाई संयोजक तोकिने छ। प्रदेश १ संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोक्ने गरी निर्णय भएको छ। नेताहरुबीच गुटगत भागबण्डाको आधारमा यो सहमति जुटाइएको बताइएको छ।
सर्वोच्चकेन्द्री बार
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई नेपाल बार एशोसिएसनले भोलिदेखि सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ।
भिजलान्ते र बिचौलिया प्रयोग गरेर आन्दोलनलाई अपमान गर्न खोजिएको भन्दै बारले यसकाविरुद्ध भोलिबाट आन्दोलन थप चर्काउने भएको हो। भोलिबाट हरेक दिन सार्वेच्च अदालत प्रवेश गर्ने सबै गेटमा कानुन व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन्। बारको आह्वानमा कानुन व्यवसायीहरुले आज सर्वोच्च परिसरमा धर्ना दिएका छन्। तर प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरु आक्रोशित भएका छन्।
भिजलान्ते र बिचौलिया प्रयोग गरेर आन्दोलन बिथोल्न खोजेको भन्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आन्दोल अझै कडा बनाउने चेतावनी दिए। यस्तै विरोध सभामा बोल्दै वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले न्यायपालिका सुद्धिकरणका लागि गरिएको आन्दोलनप्रति राजनीतिक दलहरु गम्भीर हुनु पर्ने बताए। बारको अहिलेको आन्दोलन राजीनामामा मात्रै नटुंगिइ केही व्यक्तिहरुको सम्पतिको छानविनको बिन्दुमा पुगेर मात्रै टुंगिने उनको भनाइ छ।
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए उनलाई प्रधानन्यायाधीशको कुर्सी छुन नदिने अवस्था पनि आउन सक्ने चेतावनी दिए। बारले कुर्सी छाड्नका लागि नाराबाजी गर्नुपर्ने अवस्था आउने सक्नतर्फ उनले सचेत गराए।
वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लागेसरह मानेर अस्वीकार गरेको बताए। उनले आफूहरुको आन्दोलनको ब्याक गियर नभएको भन्दै प्रधान्यायाधीशले राजीनामा नदिएसम्म नटुगिंने स्पष्ट पारे।
विमानस्थलमा सटल बसको व्यवस्था हुन्छ : पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने भएको छ।
आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको समुद्घाटन समारोहमा पर्यटन मन्त्री प्रेम आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्। उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए। मन्त्री आलेले मजदुरहरुको लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न पनि निर्देशन दिएको बताए।
पर्यटनमन्त्री आलेले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुटलाई दुईतर्फी बनाउन पनि आग्रह गरेको जानकारी दिए। भारतमा नेपाल एयरलाईन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको बताए।
हवाई भाडा बढ्यो
सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले फेरि हवाई भाडा बढाएका छन्।
हवाई कम्पनीहरुले टिकटमा जोड्ने इन्धन वापतको मूल्य अधिकतम २२० रुपैयाँसम्मले बढाएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारबाट यो भाडादर कायम भएको छ। परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा २२० रुपैयाँ बढेको छ।
काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ। पोखरा–विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १८० रुपैयाँ बढी तिर्नुपर्छ। काठमाडौंबाट जुम्ला उडानमा १७० रुपैयाँ भाडा बढी पर्नेछ। काठमाडौंबाट सुर्खेत १७५, काठमाडौंबाट नेपालगन्ज १६०, काठमाडौंबाट भद्रपुर १५० रुपैयाँ भाडा बढेको वायुसेवा संचालक संघले जनाएको छ।
लुकेका सम्पदा खोजी गर्न आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको आवश्यकता भएको बताएका छन्।
आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजि र प्रकाशन आजको प्रमुख आवश्यक्ता भएको बताएका हुन्। उनले आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाती, समुदायका मौलिक संस्कृति कलाहरुलाई समेटेर उनीहरुको संरक्षण, सवद्र्धन, उन्नतीका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री देउवाले नेपालका खोलानाला, जातजाती, भाषाभाषी, भेषभुषालगायतको छुट्टै पहिचान रहेको बताउँदै संस्कृतिको संरक्षणमै देशको सफलता रहेको बताए।
प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालको भाषा, साहित्य, संस्कृतिलाई विश्वसामु चिनाउनु पर्ने बताए। उनले देश भौतिकरुपमा जति नै सम्पन्न भएपनि देशको सांस्कृतिक पक्ष कमजोर भएमा अपेक्षित सफलता हात पार्न नसक्ने बताए।
मुस्ताङमा हिमपहिरो
मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालको फेदीबाट हिमपहिरो झरेको छ।
हिमपहिरोबाट बच्नका लागि भागदौड हुँदा ११ जना घाइते भएका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले धौलागिरी रेन्जबाट खसेको माटोसहितको हिमपहिरोले बोक्सी खोलामा आएको बताए। माथिबाट हिमपहिरो आएपछि भागदौड हुँदा ११ जना घाइते भएको उनले जानकारी दिए।
घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए। हिमपहिरोका कारण कोवाङमा अवस्थित जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीको भागदौड चलेको थियो। हिमपहिरोपछि मानापाथी र टुक्चेपिक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको सहत बढेको बताइएको छ।
३०६ जना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ३४८ जना निको भएका छन्।
योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ जना रहेका छन्।
पुस पहिलो साता चितवनमा अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी
आगामी पौष २, ३ र ४ गते ‘छैठौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७८’ आयोजना हुने भएको छ।
चितवन उद्योग संघले आयोजना गर्दै आएको सो मेला चितवन प्रर्दशनी केन्द्र, भरतपुरमा आयोजना गर्न लागिएको आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। प्रर्दशनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २ सयभन्दा बढि स्टलहरु रहनेछन। उद्योग क्षेत्रमा भित्रिएका नयाँ प्रविधि हस्तान्तरण गर्ने, नेपाली उत्पादनहरुको बजारीकरणका लागि सहज गर्न र नयाँ उद्योग खोल्न चाहनेहरुलाई आकर्षण गर्नका लागि सो प्रर्दशनी आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए।
प्रर्दशनीमा राष्ट्रिय आविष्कार केन्द्र पनि सहभागी हुने भएको छ। उद्योगी र उद्यमीहरुलाई चेपुवामा पार्ने परम्पराको अन्त्य गर्दै आफूले सकेको उद्यम गरेर देशको सेवा गर्न यस्ता खालका प्रर्दशनीहरु आयोजना हुने गरेको केन्द्रका अध्यक्ष महाविर पुनले बताए।
प्रर्दशनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औंजार, मेसिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र, उपकरणहरु र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरणहरु पनि प्रर्दशनीमा राखिने भएको छ।
दिल्लीमा लकडाउन
प्रदुषणको चपेटामा परेको भारतीय राजधानी नयाँदिल्लीमा एक साताका लागि विद्यालय बन्द गरिएको छ। त्यसैगरी निर्माण क्षेत्रमा पनि चार दिन काम बन्द गरिएको छ। रोल...
नयाँ दिल्लीका मूख्यमन्त्री अरविन्द केरजरीवालले अत्यधिक प्रदुषणको मार बालबालिकामा पर्न नदिन विद्यालय क्षेत्र बन्द गरिएको भन्दै प्रदुषण लकडाउन गर्ने विषयमा पनि छलफल भईरहेको बताएका छन्। सरकारी कार्यालयहरु पनि घरबाटै चलाउन भनिएको भने निजी ब्यापारिक क्षेत्रलाई पनि सकेसम्म घरबाटै चलाउन भनिएको छ। कार्खाना र सवारी साधनबाट उत्पन्न धुवाँसाथै कृषि क्षेत्रबाट उत्पन्न प्रदुषणले दिल्लीको आकाश ढाक्ने गरेको छ। हरेक वर्षको हिउँदमा यो क्रम बढ्दो क्रममा रहेको छ। सर्वोच्च अदालतको सुझावमाथि छलफल भईरहेको भन्दै मूख्यमन्त्री केजरीवालले यसअघि कहिल्यै पनि प्रदुषण लकडाउन नभएकाले सरोकारवालाहरुसंगको छलफलपछि निर्णय लिने बताएका हुन्।
कसले उचाल्ला उपाधी?
आइसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्ने भएका छन्।
दुबईमा अहिले केहिबेरपछि सुरु हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन्। पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन्। जसले जिते पनि यो पटक टी–ट्वान्टी विश्वकपले नयाँ च्याम्पियन पाउने भएको छ।
न्युजिल्याण्ड इङल्याण्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। त्यसअघि सुपर १२ को समूह २ मा रहेको न्युजिल्याण्डले ५ मध्ये ४ खेल जितेर समूहमा दोस्रो हुँदै सेमिफाइनल पुगेको थियो। त्यस्तै अस्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटलेनै पराजित गरेर फाइनल यात्रा तय गरेको हो। यसअघि सुपर १२ को समूह १ मा अस्ट्रेलिया दोस्रो हुँदै सेमिफाइनलमा पुगेको थियो।