न्यायाधीशद्वारा सबै इजलास बहिष्कार
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राजीनामा माग्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरुले शुक्रबारका लागि तोकिएका सबै इजलास बहिस्कार गरेका छन्।
शुक्रबार प्रधानन्यायाधीश राणाले आफू बाहेकका ८ वटा इजलास गठन गरेका थिए। राणाले न्यायाधीश हरिकृष्ण कार्कीको एउटा मात्रै एकल र अन्य ७ वटा संयुक्त इजलास गठन गरेका थिए। राणाले शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरणका रिटसहित अन्य मुद्दा पनि सुनुवाइका लागि पेसी तोकेका थिए।
तर, न्यायाधीशहरुले भने बन्दीका मुद्दा समेत हेरेनन्। प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कात्तिक ७ गतेदेखि आन्दोलन थालेका न्यायाधीशहरुले यसबीचमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै हेर्ने निर्णय गरेका थिए। शुक्रबार न्यायाधीश न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीका लागि इजलास तोकिएको थियो। तर, नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा धर्ना दिएका कारण न्यायाधीशहरु इजलासमा पुगेनन्।
उता नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई अझै कडा बनाउने भएको छ।
प्रधानन्यायाधीश जबरा राजीनामा दिनुको साटो पेल्ने रणनीतिका साथ अघि बढेपछि आक्रमक भएको बारले आन्दोलन अझै शसक्त बनाउने तयारी गरेको हो। शुक्रबार जबरालाई सर्वोच्च प्रवेश गर्न रोक लगाउन गरेको प्रयास असफल भएपछि आइबार पुनः सर्वोच्च अदालतको मुख्य गेटमा बारले धर्ना दिने भएको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा नदिइ अझैपनि पेल्ने नीति लिएका कारण आइतबार पनि गेटमै धर्ना दिन लागिएको बताए।
बारले शुक्रबार सर्वोच्च अदालतको गेटमा धर्ना दिएको थियो भने शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरण सहितका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो। करिब डेढ घण्टा धर्नामा बसेका बारका सदस्यहरु पछि बारमा आई कोणसभा गरेका थिए। कोणसभामा बोल्दै वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्यायपालिका र कार्यपालिकाबिचको सिमा रेखालाई समाप्त पारेको बताए। नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष समेत रहेका उनले प्रधानन्यायाधीशले आफूलाई कार्यपालिकाको रुपमा रुपान्तरण गरेको टिप्पणी गरे।
वरिष्ठ अधिवक्ता हरिहर दाहालले न्यायालयमा देखिएको समस्याको सम्बन्धमा राजनीतिक दलका नेताहरु अब चुप लागेर बस्न नसक्ने बताए। नेताहरु मौनता तोड्न बाध्य हुने उहाँको भनाई छ।
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबराले पैसाको बलमा न्यायको चीरहरण गरिरहेको आरोप लगाए। उनले जबराले सर्वोच्च अदालतलाई बन्ध्याकरण गर्ने काम गरेको समेत आरोप लगाए।
एमाले दसौँ महाधिवेशनको लोगो सार्वजनिक
नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका छन्।
लोगोमा पार्टीको चुनाव चिन्ह सूर्य र गैंडाले पार्टीको झण्डा बोकेको राखिएको छ। चितवन गैंडाका लागि प्रख्यात भएकाले लोगोमा गैंडा पनि समावेश गरिएको महाधिवेशन प्रचार समितिका संयोजक योगश भट्टराईले जानकारी दिएका छन्। पत्रकार सम्मेलनमा बोल्दै पार्टीमा महासचिव इश्वर पोखरेलले राष्ट्रिय राजनीतिलाई सही दिशा दिने गरी पार्टीको महाधिवेशन सम्पन्न हुने दावी गरे। उनले महाधिवेशनबाट पार्टीको नेतृत्व सहमतीमै चयन हुने बताए।
यसैबीच नेकपा एमालेले महाधिवेशनमा पहिलो पटक भित्ते लेखन र कागजको पोष्टर प्रयोग नगर्ने भएको छ। एमालेले सबै स्थानीय तहमा सम्बन्धित वडा कमिटीको आयोजनामा पार्टी महाधिवेशनको प्रचारका लागि सभा, गोष्ठीलगायतका कार्यक्रमहरु आयोजना गर्नेछ। त्यसैगरी मंसीर ७ गते जिल्ला, प्रदेश र देशका मुख्यमुख्य सहरहरुमा मोटरसाईकल ¥याली आयोजना गरिने प्रचार समिति संयोजक भट्राइले बताए।
एमालेले महाधिवेशनमा सञ्चार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुका लागि छुट्टै मिडिया डेस्कको समेत व्यवस्था गर्ने जनाएको छ। आसन्न मंसीर १०–१२ मा चितवनमा हुने एमालेको राष्ट्रिय महाधिवेशनमा २ हजार बढि प्रतिनिधिहरु सहभागी हुनेछन।
पूर्वमाओवादी आफ्नो पार्टी फर्कने प्रचण्डको दाबी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने दाबी गरेका छन्।
शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका हुन। उनले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताए।
कार्यक्रममा अध्यक्ष प्रचण्डले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताए। उनले एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने बताउका हुन। अध्यक्ष प्रचण्डले कोही एक व्यक्तिको चाहनामा र लहर चल्दैमा क्रान्ति नहुने भन्दै प्रचण्ड नेपाली जनताले जन्माएको बताएका छन्।
अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरु माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको बताए ।
पार्टी प्रवेश गर्नेको लहर लागेको छ : माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहरनै चलेको दावी गरेका छन्।
शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उहाँले उत्साहवद्र्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको शिलाशिलानै चलेको बताउका हुन। अध्यक्ष नेपालले डडेलधुरामा हालसालै एमालेको सिंगो जिल्ला कमिटीनै आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको प्रतिक्रिया समेत दिएका छन्। अध्यक्ष नेपालले केपी ओली गुटले पार्टीविरुद्ध झुटा प्रचार गरिरहेको भन्दै त्यसका विरुद्धमा चोटिलो प्रहार गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने बताए। उनले राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा सत्तारुढ दलहरुले मिलेर उम्मेदवारी दिने सहमति गरिएको पनि बताउनु भयो। सत्तारुढ गठबन्धनलाई तोड्न नदिनका लागि आफूहरुले सत्तारुढ दलबीच समन्वय समिति बनाउनु परेको पनि उहाँले स्पष्ट पारे।
अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। उनले तीन वटै तहको निर्वाचनमा एकैपटक गर्ने आफूहरुले सोच बनाएपनि त्यसरी गर्न कानुन, नियमले मिल्नेनमिल्ने छलफल गरेर अघि बढने बताएका छन्।
बिपीको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो
बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताको बारेमा छानबिन गर्न बनेको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडासहितको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएको हो। प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा स्वास्थ्यमन्त्री खतिवडाले अबको हप्तादिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने बताएका छन। स्वास्थ्यमन्त्री खतिवडाले हप्ता दिनमा प्रधानमन्त्रीले सिनेटको बैठक बोलाउने र बैठकबाटै निर्णय गरिने बताए । उनले सिनेटले प्रतिवेदनमा पेश भएको कुरालाई आधार मानेर नै निर्णय लिने पनि बताए।
स्वास्थ्यमन्त्री खतिवडाको अध्यक्षमा बनेको छानबिन आयोगमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई हुनुहुन्छ। प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले शैक्षिक, आर्थिक प्रशासनिक र स्वास्थ्य सेवा सुधार हुनुपर्ने, अनियमितताको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै चार महिनायता निरन्तर आन्दोलन गरिरहेका छन्।
आइतबारदेखि फाइजर लगाइँदै
सरकारले आइतबारबाट कोरोनाबिरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ। शुक्रवार फाइजर–बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड–१९ खोप अभियानबारे पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा कोरोनाबिरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो।
यो खोपको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालहरुमा उपलब्ध हुनेछ। यो खोप १२ वर्ष भन्दा माथिको जनसंख्यालाई मात्र दिन मिल्ने भएकोले सोही उमेर समूहलाई मात्र लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले बताए।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले यस खोपको माग धेरै भएपनि दीर्घरोगीहरुलाई नै दिइने बताए।
खोप वचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखि र १२–१७ उमेर समूहका व्यक्तिहरुलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पौष २ गतेसम्म दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।
३९७ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। यससँगै देशभर मृतकको कुल संख्या ११ हजार ४६९ पुगेको छ। हाल देशभर सक्रिय संक्रमित ७ हजार ४९८ जना रहेको पनि मन्त्रालयले जनाएको छ।
मूल्यवृद्धिविरुद्ध निगम केन्द्रीय कार्यालय घेराउ
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेको छ।
शुक्रबार बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गर्दै ती विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिएका हुन। त्यस अवसरमा विद्यार्थी संगठनका नेताहरुले आम जनता र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्याँसलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गर्दै निगमका भ्रष्ट कर्मचारी र सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।
संयुक्त विद्यार्थी संगठनहरुले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई पनि दवाव दिईरहेका छन।
संकटा क्लबद्वारा सामग्रीका लागि यु क्यानसँग सम्झौता
आसन्न सहिद स्मारक ए डिभिजन लिगको क्लब संकटा क्लब र यु क्यानबीच स्पोर्ट्स किट्स प्रायोजन सम्बधमा आज सम्झौता भएको छ।
सहिद स्मारक ए डिभिजन क्लब संकटाले आज एक कार्यक्रमको आयोजना गरी यु क्यानसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो। यु क्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता भएसँगै यु क्यानले क्लबलाई १० लाख रुपैयाँ बराबरको स्पोट्स किट्स प्रदान गर्ने छ।
यु क्यानका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र महर्जनले फुटबल प्रतिको लगावकै कारण क्लबहरुलाई प्रयोजन गरेको बताए। यस्तै हिमालयन बैंक लिमिटेड संकटाको सह–प्रायोजकको रुपमा जोडिएको संकटालाई बैंकले एक सिजनको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले जानकारी दिए।
ए डिभिजनको टिकट मूल्य तोकियो
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न ए डिभिजन लिगको टिकट मुल्य तोकेको छ।आसन्न ए डिभिजन लिगको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फाले साधारणतर्फ सय र भिआइपीतर्फ ५ सय टिकट मुल्य तोकिएको जानकारी दिएको छ। यस सिजनको ए डिभिजन लिग मंसिर ३ गते सुरु हुदैछ।
यसअघि लिगको टिकट मुल्य धेरै राखिएको भन्दै एन्फाको आलोचना भएको थियो। एन्फाले यस पटक टिकटको मुल्यमा कटौती गरेको छ। यस्तै, यस सिजनबाट एन्फाले हप्ताको तीन दिनमात्र लिगको खेल सञ्चालन गर्ने बताईसकेको छ। शुक्रबार, शनिबार र आईतबार तीन दिन मात्र एन्फाले लिगका खेल सञ्चालन गर्नेछ।
विश्वकपका लागि ब्राजिल छानियो
पाँच पटकको विश्व विजेता ब्राजिल अर्को वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ। शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई हराउँदै ब्राजिल विश्वकपमा छनोट भएको हो।
१० टोली सम्मिलित जारी दक्षिण अमेरिकी छनोटमा ३४ अंकका साथ ब्राजिल शीर्षस्थानमा छ। अघिल्लो खेलमा पनि उसले छिमेकी प्रतिद्वन्दी कोलम्बियालाई हराएको छ। छनोटमा ब्राजिलले अझै ६ खेल खेल्न बाँकी छ।