काठमाडाैं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनाको मागलाई चर्काउँदै आएको नेपाल बार एसोसिएसनले आजबाट थप सशक्त आन्दोलन थालेको छ। बारले शुक्रबार सर्वोच्च अदालतका सबै इजलास ठप्प बनाउने भएको छ।
यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अदालतभित्रै प्रवेश गर्न नदिने प्रयाससमेत गरेको छ। सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरुले आजबाट आन्दोलनले नयाँ रुप लिएको बताएका छन्। न्यायपालिका सुधारमा जो जो बाधक हुन्छन् उनीहरुविरुद्ध सशक्त आन्दोलनमा उत्रिने बारको चेतवानी छ।
सर्वोच्चमा सुरक्षा व्यवस्था कडा
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
बारले सर्वोच्चको गेटमै धर्ना दिन थालेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत परिचालन गरिएको हो। अहिले सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीपक रेग्मीले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी सुरक्षा सतर्कता बढाइएको बताएका छन्।
माओवादी बैठक बस्दै
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने भएको छ। बैठक शुक्रबार भर्चुअल रूपमा बस्न लागेको हो।
अधिकांश नेताहरू उपत्यकाबाहिर भएकाले साँझ ६ बजे बैठक बस्ने तयारी गरिएको बताइएको छ। बैठक आसन्न राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए। बैठकमा वडा, पालिका तथा जिल्ला सम्मेलनका विषयमा समेत छलफल हुने उनले बताए।
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज
नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ। दिउँसो २ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले २७–२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेस गर्ने पनि बताइएको छ।
चिसो बढ्यो
देशभर चिसो बढ्ने क्रम रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता महाशाखाले अनुरोध गरेको हो।
यस्तै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जनाइएको छ। महाशाखाका अनुसार आज देशको प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
क्रिकेटमा अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्ने
यूएईमा जारी टी २० विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डसँग उपाधिका लागि भिड्ने पक्का भएको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो।
अब फाइनलमा दुई छिमेकी देशहरूले प्रतिस्पर्धा गर्नेछन्। टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १७६ रन बनाएको थियो। जवाफमा पाँच विकेट गुमाएर एक ओभर बाँकी रहँदै अस्ट्रेलियाले १७७ रनको लक्ष्य पूरा गर्यो।