मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • प्रधानन्यायाधीशलाई अदालत छिर्न नदिने बारको चेतावनी, मूल्यवृद्धि विरुद्ध विप्लवद्वारा आन्दोलन घोषणा [२०७८-७-२५]

प्रधानन्यायाधीशलाई अदालत छिर्न नदिने बारको चेतावनी, मूल्यवृद्धि विरुद्ध विप्लवद्वारा आन्दोलन घोषणा [२०७८-७-२५]

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनाको मागलाई चर्काउदै आएको नेपाल बार एसोसिएशनले भोलिबाट थप शसक्त आन्दोलन गर्ने भएको छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बारको तयारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनाको मागलाई चर्काउदै आएको नेपाल बार एसोसिएशनले भोलिबाट थप शसक्त आन्दोलन गर्ने भएको छ। 

बारले सर्वोच्च अदालत ठप्प बनाउनेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अदालत भित्रै प्रवेश गर्न नदिने सम्मको तयारी गरेको हो। आज बिहीबार भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष श्रेष्ठले भोलि बिहान १० बजे प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि सर्वोच्च गेटमा उपस्थित हुन कानुन व्यवसायीहरुलाई आग्रह गरे। उनका अनुसार गेटमा बसेर प्रधानन्यायाधीशलाई छेक्ने र भित्र प्रवेश गर्न नदिने तयारी भएको छ।  उनले न्यायपालिकाको सुधारमा जो जो बाधक हुन्छन् उनीहरुविरुद्ध बार सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिए। प्रधानन्यायाधीश जबराले अब राजीनामा मात्रै दिएर नहुने बताउँदै अध्यक्ष श्रेष्ठले राजिनामा पछि पनि सम्पति विवरण सार्वजनिक गर्ने र जफत गराउन लाग्ने बताए।  

विरोध कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानन्यायाधीश जबरा प्रजातन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा लागेको आरोप लगाए। उनले प्रधानन्यायाधीश देशद्रोही गिरोहको मान्छे भएको आरोप लगाउँदै यस्तो प्रधानन्यायाधीशबाट न्यायालय चल्ने नसक्ने बताए।   

कार्यक्रममा सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले शुक्रबारदेखि आन्दोलन झन सशक्त हुने जानकारी दिए। सभ्य तरिकाले धैर्यधारण गरेर विरोध जनाउँदाखेरि प्रधानन्यायाधीशले दमन गर्न खोजेपछि अब आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको बताए। सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरिरहेका कानुन व्यवसायीमाथि आज प्रहरीले धरपकडको प्रयास गरेपछि बारका पदाधिकारीहरु आक्रोशित भएका हुन्। दुई पक्षबीच धकेलाधकेल हुँदा ५ जना कानुन व्यवसायी घाइते भएका थिए। 

यस्तै नेपाल बार एशोसिएसनले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको ठहर गरेको छ। 

बिहीबार विज्ञप्ति जारी गर्दै बारले प्रधानन्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरेर आक्रमण गरेको निष्कर्ष निकालेको हो। पञ्चायतकालमा लोकतन्त्रप्रेमी, न्यायप्रेमी जनतामाथि दमन गरेकै शैलीमा प्रधानन्यायाधीशले दमन गर्न खोजेको बारको दाबी छ। सबैबाट बहिष्कृत भएका प्रधानन्यायाधीशको विरोधमा नेपाल बार एशोसिएशन र आवद्ध सम्पूर्ण एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ। 

बार एशोसिएसनले भोलि शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्धामा बहस पैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने र न्यायाधीशलाई समेत प्रधानन्यायाधीशले तोकेका इजलासमा नबस्न अपिल गरेको छ। सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले गरेको प्रदर्शन प्रहरीले बल प्रयोग गर्दा बारका उपाध्यक्ष, महासचिव, वरिष्ठ अधिवक्ताहरु सहित ५ जना घाइते भएका छन्। 

भारतमा  राजनीतिक भेटघाटमा व्यस्त प्रधानसेनापति

भारत भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्मा राजनीतिक भेटघाटमा व्यस्त भएका छन्। 

चार दिने भ्रमणका लागि दिल्ली पुगेका उनले बुधबार राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि ग्रहण गरेसँगै राजनीतिक भेटघाटलाई तीव्र बनाएका हुन्। आज बिहीबार दिउँसो उनले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेका छन्। दिल्लीस्थित विदेश मन्त्रालयमा मन्त्री जयशंकरसँग शर्माले संवाद गरेका हुन्। प्रधानसेनापति शर्मासँगको भेटबारे विदेशमन्त्री जयशंकरले ट्वीट गरेर जानकारी दिएका छन्। उनले शर्मालाई मन्त्रालयमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्। 

शर्माले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग पनि दिल्लीमा संवाद गरेका छन्। रक्षामन्त्री सिंहसँग भएको भेटको विस्तृत विवरण सार्वजनिक भएको छैन। त्यस्तै शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि बिहीबारै भेटवार्ता गरेका छन्। तीन राजनीतिक भेटवार्तापछि शर्माले बिहीबारै दिल्लीस्थित नेशनल डिफेन्स कलेजको पनि भ्रमण गरेका छन्। भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवाणेको निमन्त्रणमा चार दिवसीय दिल्ली भ्रमणमा निस्किएका शर्मालाई भारतीय सरकारले उच्च प्राथमिकता दिएको हो।

एमाले नेताले गरे महाधिवेशनस्थलको अवलोकन

नेकपा एमालेका शीर्ष नेताहरुले महाधिवेशन स्थलको अवलोकन गरेका छन्। बिहीवार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन्। 

पार्टीका महासचिव ईश्वर पोखरेल सँगै नेताहरु विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराईलगायतका शीर्ष नेताहरु महाधिवेशन स्थल नारायणी किनारको अवलोकन गर्न चितवन पुगेका थिए। 

चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताए। समसमायिक विषयमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै महासचिव पोखरेलले वर्तमान सरकारले राम्रो काम गर्ने कुनै संकेत नदेखाएको टिप्पणी गरे। सरकारबाट कुनै अपेक्षा नभएकाले पनि राम्रो काम नहुँदा अचम्म नलागेको उनको भनाइ छ।

महासचिव पोखरेलले पार्टीभित्र १० बुँदे सहमति आधारभूतरुपमा कार्यान्वयन भइसकेको र केही ठाउँमा विवाद भए स्थानीय स्तरबाटै टुंगो लगाउने बताए। उनले पार्टीको महाधिवेशनको तयारीका कामहरु धमाधम अघि बढेको पनि जानकारी दिए ।

मूल्यवृद्धिको विरोधमा विप्लव नेकपाको आन्दोलन घोषणा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। 

पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै नेपाल बन्दसहितको ६ दिने विरोधका कार्यक्रम घोषणा गरेका हुन्। घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ। अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत विप्लव समूहले तय गरेको छ।

यता पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ। 

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) बाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले प्रदर्शनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला पनि जलाएका छन्। उनीहरुले नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए। आजै बिहान अनेरास्ववियूले बुटवलमा दुई घण्टा चक्काजाम समेत गरेको थियो। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सत्तारुढ गठबन्धनमै रहेका दलको विद्यार्थी संगठनले पनि आन्दोलन घोषणा गरेको छ। नेपाल आयल निगमले बुधबार राति खाना पकाउने ग्यासमा ७५ रुपैयाँ र डिजेल तथा पेट्रोलमा ३÷३ रुपैयाँ मूल्य बढाएको थियो।

जनगणना सुरु 

प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणनाको १२ औँ शृंखलाको मुख्य गणना आजदेखि देशभर सुरु भएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो परिवारको विवरण टिपाएसँगै जनगणना सुरु भएको हो। राष्ट्रपतिसँगै गणकहरुले बिहानै उपराष्ट्रति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि पारिवारिक विवरण लिएका छन्। जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । उनीहरूले घर–घरमा पुगेर तथ्यांक संकलन गर्न सुरु गरेका छन्। केन्द्रीय तथ्यांक विभागका अनुसार जननगणनाका क्रममा गणकहरुले नागरिकलाई ८० वटा प्रश्न सोध्ने छन्। 

संघियता पछि पहिलो पटक भएको जनगणनमा काठमाडौं जिल्लाका ६ नगरपालिकामा डिजिटल प्रणालीमार्फत विवरण संकलन गरिदैँछ। देशका अन्य स्थानमा कागजी प्रश्नावली प्रयोग गरिँदै छ। यस्तै चुचे नक्सामा समेटिएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा स्याटेलाइटमार्फत जनगणना गर्ने तयारी भएको छ। सम्पूर्ण प्रक्रिया पूरा गरेर जनगणनाको पूर्ण तथ्यांक सार्वजनिक गर्दासम्म चार अर्ब खर्च हुने विभागले जनाएको छ । जनगणना १५ दिनसम्म चलेर मंसिर ९ गते सम्पन्न हुनेछ । 

यता, नेपाल आदिवासी जनजाति महासंघले राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गरेको छ। 

बिहीवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गरेका हुन्। उनले विगतका जनगणनामा सरकारले सूचिकृत गरेका आदिवासी जनजातिको गणना नगरिएको भन्दै यस वर्ष सम्पूर्णको गणना गर्नुपर्ने बताए। 

अध्यक्ष बरामले कतिपय आदिवासी जनजातिको गणना भएपनि जातजाति भित्रको उपथरको स्पष्ट रुपमा पहिचान हुन नसकेको बताए। उनले यसपटक सरकारले जनजातिहरुको उपथरलाई पहिचान गरी त्यसको संख्या जनजातिको संख्या भित्रै आउनेगरी गणना गर्न माग गरे। 

अध्यक्ष बरामले आदिवासी जनजातिहरु विभिन्न धर्ममा आवद्ध रहेको भन्दै उनीहरुको जनसंख्या धेरै रहेको भएपनि जनगणनामा जबरजस्ती हिन्दु धर्मावलम्वीहरुको संख्या बढाउने गरिएको बताए। यस पटकको जनगणनामा आदिवासी जनजातिहरुले मान्ने धर्महरुको सम्बन्धमा यथार्थ रुपले गणना गरी सही तथ्यांक समेटिनुपर्ने बताए। 

आदिवासी जनजाति युवाहरुको ठूलो संख्या वैदेशिक रोजगारीमा रहेकाले उनीहरु गणनाबाट छुट्ने आशंका गर्दै अध्यक्ष बरामले विदेशमा बस्ने नेपालीको पनि छुट्टै ढंगले गणना गरिनुपर्ने बताए। 

३१७ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १२ हजार ६५३ नमूना परीक्षणमा गर्दा ३ सय १७ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये पीसीआर विधिबाट ३०१ र एन्टिजेन विधिबाट १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको हो। मन्त्रालयका अनुसार आज थप २ सय ७९ जना कोरोनामुक्त भएका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय ३५ पुगेको छ। यस्तै बिहीबार थप ४ हजार ५१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

सुन ५ महिनायताकै महँगो

बिहीबार नेपाली बजारमा सुनको भाउ पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बहीबार प्रतितोला १३ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भयो।

यो मूल्य गत जेठयताकै उच्च हो। बुधबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार ५०० रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको भाउ पनि दुई महिनायताकै उच्च विन्दुमा पुगेको छ। बिहीबार चाँदी प्रतितोला १२७० रुपैयाँमा कारोबार भएको छ।

४ दिन सर्‍यो ए डिभिजन लिग

आसन्न शहीद स्मारक ए डिभिजन लिगको मिति ४ दिन पर सारिएको छ। कार्तिक २९ गते सुरु हुने भनिएको लिग अब मंसिर ३ बाट सुरु हुने भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार क्लबहरुकै सल्लाहमा मिति सारिएको हो। अब यस सिजनको लिग मंसिर ३ गतेबाट सुरु हुने भएको छ। अब लिगका खेलहरु शुक्रबार, शनिबार र आईतबार मात्र खेलिने एन्फाले जनाएको छ। एन्फाको अनुसार अर्को शुक्रबार मात्र लिग सुरु हुनेछ। उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्ड्स भिड्ने छन्। एन्फाले बिहीबार मात्र लिगको प्रत्यक्ष प्रशारणका लागि कान्तिपुर टिभीसँग औपचारिक सम्झौता गरेको छ।

पाकिस्तान र अस्ट्रेलिया भिड्दै

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) पाकिस्तान र अष्ट्रेलियाबीच भिड्दै छन्। 

युएईको अबुधाबीमा केहि समयपछि हुने खेलमा फाइनल प्रवेशका लागि पाकिस्तान र अष्ट्रेलिया मैदान उत्रिदै छन्। विश्वकपमा उत्कृष्ट फर्ममा रहेको पाकिस्तानले फाइनल पुग्न अष्ट्रेलियामाथि बलियो चुनौती पेश गर्ने अपेक्षा गरिएको छ। पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गर्दा कुनै पनि खेलमा हार बेहोरेको छैन।

आजको खेलको विजेताले उपाधिका लागि न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्यूजिल्याण्ड पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।  


प्रकाशित: Nov 11, 2021| 20:30 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।