काठमाडौं– प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणनाको १२ औँ शृंखलाको मुख्य गणना आजदेखि देशभर सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान साढे ९ बजे आफ्नो परिवारको विवरण टिपाएसँगै जनगणना सुरु भएको हो।
जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन्। उनीहरूले घर–घरमा पुगेर तथ्यांक संकलन गर्न सुरु गरेका छन्। केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नोबिनलाल श्रेष्ठका अनुसार जननगणनाका क्रममा गणकहरुले नागरिकलाई ८० वटा प्रश्न सोध्नेछन्। सम्पूर्ण प्रक्रिया पूरा गरेर जनगणनाको पूर्ण तथ्यांक सार्वजनिक गर्दासम्म चार अर्ब खर्च हुने विभागले जनाएको छ। जनगणना १५ दिनसम्म चलेर मंसिर ९ गते सम्पन्न हुनेछ ।
काठमाडौंका ६ स्थानीय तहमा डिजिटल प्रणालीबाट विवरण संकलन
संघियता पछि पहिलो पटक भएको जनगणनमा काठमाडौं जिल्लाका ६ नगरपालिकामा डिजिटल प्रणालीमार्फत विवरण संकलन गरिँदैछ।
काठमाडौं महानगरपालिकासहित अन्य ६ नगरपालिकामा क्यापी विधि प्रयोग गरी ट्याबलेटबाट विवरण संकलन गर्न सुरु गरिएको विभागका महानिर्देशक श्रेष्ठले बताए। देशका अन्य स्थानमा कागजी प्रश्नावली प्रयोग गरिँदैछ।
नेपालको नक्सामा समेटिएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा स्याटेलाइटमार्फत जनगणना गर्ने तयारी भएको छ। स्थलगत रूपमै जनगणना गर्न सहज वातावरण बनाउन भारतसँग कूटनीतिक पहल भइरहेको, तर अनुमति नदिए स्याटेलाइटमार्फत भएपनि जनगणना गरिने महानिर्देशक श्रेष्ठले बताएका छन्।
न्याय परिषद् बैठकमा सहभागी नहुन बारको अपिल
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुरूलाई अपिल गरेको छ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत एसोसिएसनले परिषद् सदस्यहरुलाई पत्र लेखेर बैठकमा सहभागी नहुन अनुरोध गरेको हो। बैठकबाट प्रधानन्यायाधीश जबराले थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने आशंका रहेको बारको छ।
यस्तै नेपाल बारको आन्दोलनका कारण बुधबारबाट काठमाडौं उपत्यकामा रहेका जिल्ला अदालत, उच्च अदालत र विभिन्न न्यायाधीकरणमा बिहान १० बजेदेखि १२ बजेसम्म बहस रोकिएको छ। आज पनि सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर धर्ना दिएका छन्।
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
ललितपुरको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बिहीबार बिहान ग्वार्को चोकमा ना ६ ख १९३३ नम्बरको ट्रकले बा ३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएको थियो। तर, उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।
परीक्षा बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान
शिक्षा मन्त्रालयअन्तर्गतको सिफारिस समितिले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरेको छ। बोर्डका तत्कालीन अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको चारवर्षे कार्यकाल सकिएसँगै समितिले नयाँ अध्यक्ष नियुक्तिका लागि दरखास्त मागेको हो।
पाँच हजार रुपैयाँ दस्तुर तिरेर आगामी मंसिर ९ गतेभित्र दरखास्त दिन सकिने समितिले जनाएको छ। दरखास्त फाराम शिक्षा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरेर भर्न सकिने र शिक्षा मन्त्रालयमा रहेको बोर्ड अध्यक्ष सिफारिस समितिको सचिवालयमा बुझाउन सकिनेछ।
कुकुरमा कोरोना संक्रमण
बेलायतमा एउटा घरपालुवा कुुकुरमा कोभिड संक्रमण देखिएको छ। जनावर तथा वनस्पति स्वास्थ्य निकायको प्रयोगशालामा गरिएको परीक्षणपछि कुकुरमा कोभिड देखिएको पुष्टि भएको हो। मालिकबाट कुकुरमा कोभिड सरेको बेलायतको पशु चिकित्सक कार्यालयले जनाएको छ।
यसअघि कुकुरका मालिकलाई कोभिड पोजेटिभ देखिएको थियो। कुकुरमा अर्को कुनै जनावरबाट संक्रमण सरेको आधार नदेखिएकाले मालिकबाट नै सरेको पशु चिकित्सक कार्यालयले जनाएको छ।
न्युजिल्यान्ड पहिलोपटक फाइनलमा
न्युजिल्यान्ड पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। बुधबार राति अबुधाबीमा भएको पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा पुगेको हो।
न्युजिल्यान्डलाई जितका लागि अन्तिम ४ ओभरमा ५७ रन आवश्यक हुँदा उसले तीन ओभरमै लक्ष्य भेट्टायो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले चार विकेटको क्षतिमा १६६ रन बनाको थियो। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज पाकिस्तान र अस्ट्रेलियाबीच हुनेछ। यो खेलको विजेताले उपाधिका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।