कार्यकर्ताबाटै महाधिवेशन खर्च उठाउने एमालेको निर्णय
नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा हुने खर्च पार्टी सदस्यहरुबाटै उठाउने भएको छ।
आज (बुधबार) बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा रु १ सयका दरले रकम संकलन गर्ने निर्णय गरेको हो।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार देशभर एमालेका संगठित सदस्य ७ लाख २० हजार रहेका छन्। ती सदस्यबाट एक सयका दरले उठाउँदा ७ करोड २० लाख रकम जम्मा हुने उनको भनाइ छ। संगठित सदस्यहरुले अनलाइनमार्फत पार्टीको खातामा पैसा जम्मा गर्नुपर्ने उनले बताए।
बैठकले कार्तिक ३० गते भित्र महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरुको सम्पूर्ण विवरण पार्टीको केन्द्रिय कार्यालयमा बुझाउन पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको छ। त्यस्तै बुधबारको बैठकमा विभिन्न उपसमितिहरूले पेश गरेका प्रतिवेदन र कार्ययोजनामाथि छलफल गर्दै परिमार्जनसहित पारित गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताए।
चितवनको नारायणी किनारमा अध्यक्ष केपी ओलीले मंसिर १० गते उद्घाटन गर्ने एमाले महाधिवेशनको उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट व्यापक जनपरिचालन गर्ने एमालेले जनाएको छ। महाधिवेशन उद्घाटन सत्रमा कम्तिमा ५ लाखको जनसहभागिता जुटाउने एमालेले जनाएको छ। विद्युतीय प्रणालीमार्फत मतदानको व्यवस्था मिलाएको एमालेले १० गते उद्घाटन सकेपछि ११ गते निर्वाचन प्रक्रिया आरम्भ गर्ने र १२ गते नै परिणाम घोषणा गर्ने तयारी गरेको छ।
चुनावमा ओली गुटको पत्तासाफ हुन्छ : माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावमा केपी शर्मा ओली गुटको ‘पत्तासाफ’ हुने दाबी गरेका छन्।
बुधबार डडेल्धुरा सदरमुकाममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पाँच पार्टीको गठबन्धनले आउने चुनावमा ओली गुट पत्तासाफ पार्ने दाबी गरेका हुन्। उनले आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहने पनि बताए। उनले एमाले पार्टीको अब भविष्य नरहेको पनि तर्क गरे। ओली गुटमा गएका मान्छेहरू पनि अहिले पछुताइरहेको उनको भनाइ थियो। भीम रावललगायतका नेताहरूप्रति लक्षित गर्दै उनले ओली कहिले नसुध्रने भन्दै विद्रोह गरेर समाजवादीमा आउन आग्रहसमेत गरे।
अध्यक्ष नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको पनि टिप्पणी गरेका छन्। उनले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भएपनि अब त्यसमा ग्रहण लागिसकेको दाबी गरे। उनले समाजवादी पार्टीलाई टोलटोल र गाउँगाउँमा पु¥याउन नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्।
चुनाव लड्न ज्ञानेन्द्रलाई देउवाको चुनौती
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्न मन भए चुनाव लडेर आउन चुनौति दिएका छन्।
बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनु पर्ने बताउँदै प्रजातन्त्रको बिरुद्धमा नलाग्न चेतावनी दिए। उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाबिरुद्ध नलाग्न चेतावनी दिएका हुन्।
प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको बताए। उनले संविधानका केही कुरामा आफ्नो पनि असहमती रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजाने बताए। प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण नेपालमा मनसुनजन्य विपद् आइरहेको बताए। विश्व नै अहिले पेट्रोलियम पदार्थलाई बिस्थापित गरेर विद्युतीय सवारीसाधनको प्रयोगमा अग्रसर भएकाले नेपालले पनि त्यहीअनुसार अघि बढ्नुपर्नेमा उनको जोड छ।
राष्ट्रपतिद्वारा छठपूजा
राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा अर्चना गरेकी छिन्।
बुधबार काठमाडौंको गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएकी हुन्। कमलपोखरीमा अघ्र्य दिनुअघि राष्ट्रपति भण्डारीले गौरीघाटमा पनि अस्ताउँदो सूर्यलाई अघ्र्य दिएकी थिइन्। छठ पर्वको मुख्य दिन आज बुधबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ।
व्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन्। श्रद्धा, निष्ठा र समर्पणको प्रतिक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन्। जनकपुरका पोखरीहरु अहिले छठको गीत र सजावटले झकिझकाउ भएको छ। खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन्। व्रतालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ।
कालापानी क्षेत्रमा पनि जनगणना
राष्ट्रिय जनगणना– २०७८ मा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गरिने भएको छ। भोलि बिहीबार सुरु हुने मूल गणना कार्य अन्तर्गत चुचे नक्सामा समेटिएको यस क्षेत्रको पनि गणा गरिने भएको हो।
भारत सरकारले सहज रुपमा आवत् जावत् गर्न दिएमा भौतिक रुपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवत् जावत् गर्न नदिएमा अन्य स्रोतहरुको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित जनसंख्या र अन्य विवरण प्रकाशन गर्ने केन्द्रीय तथ्यांक विभागको तयारी छ। सरकारले कुटनीतिक पहल गरेर भारतले सहज रुपमा सो क्षेत्रमा पुग्न दिएमा भौतिक उपस्थितिमै गणना गर्ने नभए पनि उक्त भूमिलाई त्यसै नछाड्ने तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए।
भोलि बिहीबारदेखि सुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको पनि केन्द्रीय तथ्यांक विभागले जनाएको छ। प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भोली बिहीबारदेखि सुरु हुँदैछ। जनगणनाको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको छ। विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाको लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताए। जनगणना कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिनको अवधि हुने उनले बताए। जनगणना सञ्चालन गर्नका लागि देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उनले जानकारी दिए।
काठमाडौं महानगरपालिकासहित काठमाडौंका ६ वटा नगरपालिकामा डिजिटल पद्धतीमा आधारित क्यापि विधि प्रयोग गरी ट्यावलेटबाट विवरण संकलन गरिने तथ्यांक विभागले जनाएको छ। साथै विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा इ–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरुको जनगणना संकलन गरिने भएको छ। यस पटकको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ।
यस्तै नेपालमा घरपरिवारको संख्या ६८ लाख नाघेको छ।
केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा घरपरिवारको संख्या ६८ लाख नाघेको हो। बिहीबारदेखि हुने मूल जनगणनाका लागि गरिएको घरपरिवार सूचीकरण कार्य गत कात्तिक १८ मा सम्पन्न भइसकेको छ।
घरपरिवार सूचीकरणको प्रारम्भिक तथ्यांकअनुसार नेपालमा घरपरिवार संख्या ६८ लाख नाघेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। यसअघि जनगणना २०६८ अनुसार नेपालमा घरपरिवारको संख्या ५४ लाख २७ हजार थियो। विभागले यस वर्षको जनगणनामा घरपरिवार संख्या ७० लाख पुग्ने अनुमान गरेको थियो।
आइतबारदेखि फाइजर लगाउन सुरु गरिने
सरकारले आगामी आइतबारदेखि कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाउने भएको छ।
परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई लगाइने र खोप अभियान मंसिर ४ सम्म सञ्चालन हुने बताए। देशभरका विशेषज्ञ सेवा उपलब्ध भएका २४ ठूला अस्पतालमा खोप लगाउने तय भएको जानकारी दिए। त्यसका लागि काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको जानकारी दाहालले दिए। उक्त समयमा यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइने उनले बताए।
यसका साथै मंसिर ४ सम्म यी समूहलाई खोप लगाइसकेपछि खोप बाँकी रहे १२–१८ वर्षका अन्य बालबालिकालाई पनि खोप लगाउने जानकारी उनले दिए। यो खोप कार्यक्रम भने मंसिर ५–७ सम्म सञ्चालन हुनेसमेत बताइएको छ। सरकारले १२–१८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर र मोडर्नासँग खरिद प्रक्रिया अघि बढाइसकेको छ।
थप ४४० मा संक्रमण
नेपालमा आज ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
६ हजार ८१४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४७४ जना कोरोना मुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ९ लाख १० हजार ७३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये ७ लाख ९६ हजारर ७८० जना संक्रमणमुक्त भएका छन्। हाल ७ हजार ५१९ सक्रिय कोरोना संक्रमित छन्।
वाणिज्य बैंकले तिरे साढे ७ अर्ब आयकर
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २७ वटा वाणिज्य बैंकहरूले ७ अर्ब ४० करोड ७९ लाख रुपैयाँ आयकर तिरेका छन्।
यो गत आर्थिक वर्ष सोही अवधिको तुलनामा २१.९१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले ६ अर्ब ७ करोड ६१ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका थिए। वाणिज्य बैंकहरुले तीन महिनामा २५ अर्ब ५२ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका छन्। चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको खुद नाफा १८ अर्ब ११ करोड ७३ लाख रुपैयाँ भएको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकले देखाएको छ।
चालु आवको तीन महिनामा सबैभन्दा बढी आयकर तिर्नेमा एनआइसी एसिया बैंक छ। एनआइसी एसियाले तीन महिनाकै अवधिमा ५० करोड ६० लाख रुपैयाँ आयकर मात्र बुझाएको छ। त्यस्तै दोस्रो नम्बरमा रहेको नबिल बैंकले ४७ करोड ६६ लाख रुपैयाँ आयकर तिरेको छ। त्यस्तै विदेशी लगानी भएका बैंकहरु नेपाल एसबिआई, एभरेस्ट, एनबी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले क्रमशः १५ करोड ९८ लाख, २४ करोड ८० लाख, १५ करोड २८ लाख र २० करोड ६५ लाख रुपैयाँ आयकर तिरेका छन्।
भारतको राजस्थानमा भएको दुर्घटनामा १२ जनाको मृत्यु
भारत राजस्थानको बाडमेर जिल्लाको जोधपुर नेशनल हाईवेमा बस र ट्रेलर ठोक्किँदा १२ जनाको मृत्यु भएको छ।
भाडियावास गाउको संस्कार स्कूल नजिकै बिहान साढे १० बजे बस र ट्रेलर एकआपसमा ठोक्किएको भारतीय समाचार माध्यमले जनाएका हुन्। आपसमा ठोक्किएलगत्तै बस र ट्रेलरमा आगो लागेको थियो। आगोमा जलेर १२ जनाको मृत्यु भएको समाचार माध्यमले जनाएका छन्। जिउँदै जलेर ज्यान गुमाउनेमा एक बालिका समेत रहेको प्रहरीको भनाइ छ।
दुर्घटनामा परी घाइते भएका ४० जनाको उपचार भइरहेको छ। यसमध्ये १३ जना गम्भीर घाइते भएको र उनीहरूलाई थप उपचारका लागि जोधपुर पठाइएको छ। समाचारअनुसार बस र ट्रेलर ठोक्किएपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो।
प्रतिस्पर्धामा उत्रँदै इंग्ल्यान्ड र न्युजिल्यान्ड
आईसीसी टी–२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
यूएईको आबुधाबीमा केहिबेरपछि हुने खेलमा दुबै देश फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। सुपर १२ मा इंग्लयाण्ड समूह एक को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने न्युजिल्याण्ड समूह दुईको उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो। दुवै टोलीले सुपर १२ मा पाँच खेलमध्ये ४ खेल जितेका थिए भने एक खेलमा हार बेहोरेका थिए।
दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। सन् २०१० को च्याम्पियन इंग्लयाण्ड तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ। न्युजिल्याण्ड भने तेस्रो पटक सेमिफाइनल खेल्दैछ। न्युजिल्याण्डले पहिलो र छैटौं संस्करणको सेमिफाइनल खेले पनि फाइनल पुग्न सकेको छैन।