फेरि फेरिए तीन स्थानका प्रदेश प्रमुख
फेरि तिन वटा प्रदेशमा प्रदेश प्रमुख फेरिएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन प्रदेशका प्रदेश प्रमुखलाई निलम्बन गरी नयाँ नियुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको थियो। सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच भागबण्डा मिलाएर ३ प्रदेशका प्रमुख फेरिएको हो।
राजीनामा नदिने प्रधानन्यायाधीशको अडान यथावत्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कुनै हालतमा नदिने अडान लिएका छन्। काननु व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीशले आफू न्यायाधीशहरू र नेपाल बारको मागअनुसार राजीनामा दिने पक्षमा नरहेको बताएका हुन्।
संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर सर्वोच्च अदालत सञ्चालन गर्ने उनको भनाइ छ। अभियानका संयोजक अधिवक्ता शिव अर्यालले न्यायपालिकामा देखिएको संकटबारे प्रधानन्यायाधीशले आफू जानकार रहेको बताएको उल्लेख गरे। प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसक्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन्। नेपाल बारले जबराको राजीनामा माग्दै दोस्रो चरणको विरोध कार्यक्रम गरिरहेको छ।
प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राही बारको आह्वान
नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई समेत आग्रह गरेको छ।
नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई समेत आग्रह गरेका छन्। मंगलबार सर्वोच्च अदालतको प्राङगनमा एक घण्टे धर्ना कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै उनले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई सशक्त बनाउन यही २५ गते बिहीबारदेखि काठमाडौं उपत्यकाभित्रको सबै अदालतहरुमा २ घण्टा इजलास नबस्ने घोषणा गरे।
उनले बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौं उपत्यका भित्रको उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, न्यायाधिकरणमा इजलास नबस्ने निर्णय गरिएको जानकारी दिएका छन्। अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप समेत लगाए।
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनविरुद्ध पनि आन्दोलन गर्न नेपाल बारलाई सुझाव दिए। प्रधानमन्त्री देउवा र सत्तारुढ गठबन्धनले अहिलेको प्रधानन्यायाधीशलाई भागबण्डा दिएकाले उनीहरुविरुद्धको आन्दोलनलाई पनि बारले अघि बढाउनुपर्ने उनको तर्क छ।
कानुन व्यवसायीहरुले राजनीतिक दलहरुलाई न्यायालय बचाउने हो भने प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउन सरकार र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आग्रह पनि गरेका छन। लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि पनि प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउनुपर्ने अवस्था आएको उनीहरुको भनाइ छ।
व्यापारमैत्री वातावरण बनाउन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाई दिन प्रदेश नम्बर २ का सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन। उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रुपमा समस्याहरु देखापरेको र ति समस्याहरुलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताए। उहाँले माल, समान ल्याउने क्रममा व्यापारीहरुलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरुलाई आग्रह गरे।
उहाँले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरुसँग सम्वाद र छलफलगरी राजनीतिक मुलधारमा ल्याउने काम भईरहेको उनले जानकारी दिएका छन्। गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
मोतिपुर घटनाका मृतकलाई क्षतिपूर्ति दिने सरकारको निर्णय
सरकारले बुटवलको मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।
मंगलबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्विकृत गर्ने निर्णय गरेको पनि बताए।
उनले कुस्मामा ४ सय केबी सब स्टेशन र जुम्ला सब स्टेशनका लागि जग्गा प्राप्ति गर्न स्विकृत दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरण तर्फ राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा श्री निरु दाहाल पाण्डेलाई बढ्वा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्स स्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्विकृती दिने निर्णय भएको पनि बताएका छन्।
मन्त्री कार्कीले खोप लगाउन योग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको बताए।
चिसोबाट जोगिन चिकित्सकको आग्रह
जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका छन्। काठमाडौँसहित देशभर चिसोको मौसम शुरु भएसँगै चिकित्सकहरुले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आम नागरिकहरुलाई आग्रह गरेका हुन्। मंगलवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिशियन डा. आलोक ढुंगेलले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे।
उनले अहिलेको मौसम कोरोनासँगै फ्लूको संक्रमण बढी हुने भएकोले यसले श्वासप्रश्वासमा समस्या आउने बताए। कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले चिसोबाट जोगिने, तातो र न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ र धुलोबाट बच्ने, मर्निङ वाकमा ननिस्कन आग्रह गरेका छन्। त्यस्तै उनले यस्ता फ्लूहरुबाट बच्न रुघाखोकी लागेका मानिसहरुबाट टाढै रहन, मास्कको प्रयोग गर्न, जथाभावि नाक,कान,मुख नचलाउन पनि आग्रह गरे ।
उनले २०२२ को लागि नयाँ इन्फ्लूएन्जाको भ्याक्सिन आउन लागेको बताउँदै कोभिडबिरुद्धको भ्याक्सिनको दुई डोज लगाउनेहरुले इन्फ्लूएन्जाको भ्याक्सिन लगाउन मिल्ने पनि बताएका छन्।
५३३ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। रोल....
कुल १६ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा ४८४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमित ७ हजार ६१२ जना रहेका छन्।
यसैबीच हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ३७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९२६ जना पुगेको छ। यस्तै हालसम्म ७ लाख ९६ हजार ३०६ जना निको भएका छन्। यसैगरी हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४५४ पुगेको छ।
स्थायी शिक्षकको विज्ञापन मंसिरमा खुलाउने तयारी
शिक्षक सेवा आयोगले स्थायी शिक्षकको विज्ञापन मंसिरमा खुलाउने तयारी गरेको छ। यसका लागि सम्बन्धित पदाधिकारीसँग छलफल भइरहेको आयोगले जनाएको छ।
लामो समयदेखि खुल्ने तयारी भए पनि नियमावली संशोधन र अन्य प्राविधिक समस्या देखाउँदै खुल्न नसकेको विज्ञापन आयोगले मंसिरमा खुलाउने गरी तयारी थालेको हो। अहिले आयोगले वार्षिक कार्यतालिका बनाइरहेको छ। सोहीअनुसार खुलातर्फको स्थायी शिक्षकको विज्ञापन गर्ने आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले जानकारी दिए। बढुवातर्फको विज्ञापनका लागि भने नियमावली संशोधन गर्नुपर्ने भएकाले ढिलाइ हुन उनको भनाई छ। प्राथमिक तहमा १३ हजार ८५, निमावि तहमा २ हजार ५ सय ९४ र मावि तहमा १ हजार ५ सय ४४ शिक्षक दरबन्दी रिक्त छ।
विराटनगर कारागारमा झडप, ६ कैदी घाइते
विराटनगर कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कारागारका कैदीबन्दीबीच दोहोरो झडप भएको छ। मंगलबार १० बजे कारागार भित्र कैदीबन्दीबीच दोहोरो झडप भएको हो। झडपमा परि चौकीदार गुरूङसहित ६ जना घाइते भएका छन्।
घाइते हुनेमा नाइके किरण गुरूङ, शेखर राई, निर्मल ढकाल, बिशाल मुक्तान, डिल्ली देवान र सूर्यदिप गुप्ता छन्। घाइतेलाई सामान्य चोटपटक लागेकोले उपचारको लागि कोशी अस्पताल पढाएको जेलर रामप्रसाद पोखरेलले सेतोपाटीलाई जानकारी दिए।
चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेले यातना दिएको भन्दै यहाँका कैदीबन्दी आन्दोलित भएका थिए। चौकीदार गुरूङको शोषण र यातना सहन नसकेपछि गुरूङसहित उनी समूहका १४ जना नाइके र भाइ नाइकेलाई यहाँका कैदीबन्दीहरूले एउटा कोठामा थुनिदिएका थिए। त्यसपछि कैदीबन्दीबीच दोहोरो झडप भएको कारागार स्रोतले जानकारी दिएको छ। कर्तब्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका गुरूङले कैदीबन्दीलाई यातना दिने गरेको आरोप छ।
छालाजन्य वस्तु प्रदर्शनी कार्तिक २६ देखि
काठमाडौंको भृकृटीमण्डलमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी यहि कार्तिक २६ गतेदेखि हुने भएको छ।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस कार्तिक २६ गतेदेखि मंसिर १३ गतेसम्म १८ दिन भृकृटीमण्डलमा प्रदर्शनी गर्न लागेको जानकारी दिएको हो। स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ गर्न लागिएको प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका ६० वटा भन्दा बढी स्टल राखिनेछन्। प्रदर्शनीमा जुत्ता चप्पल तथा अन्य वस्तुको खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट दिइने प्रदर्शनीको संयोजक होमनाथ उपाध्यायले जानकारी दिनुभयो।
एशोसियसनले बर्षको दुई पटक काठमाडौंमा र हरेक प्रदेशमा बर्षमा एक पटक व्यापारी मेला आयोजना गर्दै आएको छ। एशोसियसनले गत बर्षको माघ फाल्गुणमा पनि मेला आयोजना गरेको थियो। तर, हरेक बर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनी भने विगत २ बर्षदेखि कारोनाका कारण स्थगित गर्दै आएको छ। दक्षिणी नाइजरमा विद्यालयमा आगलागी, २६ विद्यार्थीको मृत्यु
दक्षिणी नाइजरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २६ जना विद्यार्थीको मृत्यु भएको छ।
मराडी सहरमा पराल र काठबाट बनेको कक्षाकोठामा आगलागी हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ। आगलागीमा परेर मृत्यु हुने ५ र ६ वर्ष उमेर समूहका बालबालिका रहेका छन्।
यसअघि गत अप्रिलमा नियामीको एक मजदुरहरुको बसोबास रहेको जिल्लाको एक विद्यालयमा भएको आगलागीमा परि २० जना बालबालिकाको मृत्यु भएको थियो। घटनाप्रति दुख व्यक्त गर्दै राष्ट्रपति मोहम्मद बाजुमले तत्काल काठको संरचनाहरू प्रतिस्थापन गर्ने प्रतिवद्धता जनाएका छन्।
नाइजर, संसारको सबैभन्दा गरिब देशहरू मध्ये एक हो, जहाँ विद्यालय भवन पनि पराल र खरबाट बनाइने गरेको छ।
ललितपुर र धनगढी उपमेयर कपको सेमिफाइनल प्रवेश
ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न भएको खेलमा ललितपुरले मोफोसलको टोली शिवताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। सुरुआतबाट नै हावी भएको ललितपुरले पहिलो हाफमा गरेका चार गोल नै जितका लागि पर्याप्त भएका थिए।
छनोट खेल आजै सम्पन्न दिनको दोस्रो खेलमा धनगढी उपमहानगरपालिकाले बाँसगढी नगरपालिकामाथि गोलको वर्षा गर्दै अन्तिम चारमा स्थान बनायो।
धनगढीले बाँसगढीमाथि १२–१ को फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।