प्रधानन्यायाधीशविरुद्ध निर्णायक आन्दोलन गर्ने बारको चेतावनी
सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि ९ बुँदे मागपत्र अघि सार्दै राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ।
नेपाल बार एशोसिएसनले आइतबारदेखि सुरु गरेको देशव्यापी बार इकाइहरूको छलफल कार्यक्रममा सर्वोच्च बार एशोसिएसनले ९ बुँदे अवधारणापत्र अघि सारेको हो। सर्वोच्च बारले प्रधानन्यायाधीश जबरामाथि तीन वर्ष न्यायपालिकाको नेतृत्व गर्दा पनि सार्वजनिक रुपमा व्यक्त प्रतिवद्धता कार्यान्वयन नगरेको आरोप लगाएको छ।
न्यायाधीशहरूबीच गुटबन्दी सिर्जना गरी आपसी कलक र बैमनष्यता उत्पन्न गराएको आरोप सर्वोच्च अदालत बार एशोसिएसनको छ। नेपालको न्यायिक इतिहासमा न्याय प्रशासनलाई अहिलेसम्मकै सबैभन्दा विवादित, अपारदर्शी र विकृत बनाएको भन्दै सर्वोच्च अदालत बारले न्यायकि नेतृत्वले राजनीतिक सत्तासँग सौदावाजी गरेको आरोप पनि लगाएको छ। सर्वोच्च अदालत बारले तत्काल राजीनामा गरी न्यायालयको मानमर्यादा, प्रतिष्ठान र इज्जत जोगाउन आग्रह गर्दै राजीनामा नआएमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।
नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको प्राङगनमा आज सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाशीश जबराले अव पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए। नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताए। सशक्त आन्दोलनको तयारी भएको जानकारी दिदै उनले जबराको नेतृत्व कुनै हालतमा स्विकार्न नसकिने स्पष्ट पारे।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पारे। उनले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताए।
नेपाल बार एशोसिएशनले मंगलबार (भोली) बिहान साँढे १० बजेपनि सर्वोच्च अदालतको प्राङगनमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन कानुन व्यवसायीहरुलाई आह्वान गरेको छ। देशभरका ९० वटै इकाइसँग छलफल गरिरहेको बारले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ।
६ न्यायाधीश फर्किए इजलास
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत ६ न्यायाधीश इजलास फर्किएका छन्।
सोमबार इजलासमा पुगेर उनीहरूले बन्दीप्रत्यक्षीकरणको मुद्दा हेरेका हुन्। न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार चुडाल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासले बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गरेका हुन्।
इजलासमा फर्किएर मुद्दाको सुनुवाइ गरेपनि उनीहरूले आफूहरूको आन्दोलन जारी रहेको बताएका छन्। प्रधानन्यायाधीश जबराले यसअघिको सहमति उल्लंघन गरेको आरोप लगाउँदै सर्वोच्च अदालतका सबै न्यायाधीशले इजलास बहिष्कार गरेका थिए। उनीहरुले जबरासँग राजीनामा मागेका थिए भने जबराले सम्मानपूर्व बहिगर्मनका लागि समय दिन भनेका थिए।
संसद् पुनर्स्थापना गर्ने फैसला सेटिङमा : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने फैसला सेटिङमा गरेको आरोप लगाएका छन्।
सोमबार विराटनगरमा आयोजित पार्टी कार्यक्रममा उनले सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधाानिक र अलोकतान्त्रिक फैसला गरेको जिकिर गरेका हुन्। प्रधानमन्त्री ओलीले न्यायालयले नै आफ्नो मर्यादा नराखेको बताए। संसद विघटन बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिँदा सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकार प्रयोग गरेको ओलीले बताए। उनले उक्त फैसला संविधान विपरीत भएको पनि जिकिर गरे।
यस्तै ओलीले सर्वोच्च अदालतले संविधान फेर्ने काम गरेको आरोप लगाएका छन्। अदालतले संविधानको व्याख्या मात्रै गर्ने भए पनि संविधान नै फेर्ने काम गरेको उनको आरोप छ। आफू विरुद्धको गठबन्धनलाई सर्वोच्चले मागेभन्दा पनि बढी दिएको उनले बताए। यस्तै स्थानीय तहको निर्वाचनमा एमाले कोसीको भेल जस्तो भएर आउने ओलीको दाबी छ। उनले एमालेसँग कांग्रेसबाहेक कसैले प्रतिस्पर्धा गर्न नसक्ने बताए।
न्यायालयको विवाद चाँडो समाधान होस् भन्ने सरकारको अपेक्षा छ : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाँणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन्। गृहमन्त्री खाँणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै सरकार सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा रहेको प्रष्टएका छन्।
सोमबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसावले पनि स्वतन्त्र ढंगले चल्ने गरेकोस्पष्ट पारे। गृहमन्त्री खाँणले सरकारले नागरिकता विधेयक पनि छिटोभन्दा छिटो पास गर्न चाहेको बताएका छन्। उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई अवरुद्ध सदन सूचारु गराउन पनि आग्रह गरे।
गृहमन्त्री खाँणले नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले सरकारले नागरिकको सुरक्षाको विषयलाई पहिलो प्राथमिकतामा राखेको दोहो¥याए।
उपत्यकाको तापक्रम माइनसमा झर्ने अनुमान
मौसम पूर्वानुमान महाशाखाले यस वर्ष काठमाडौं उपत्यकाको तापक्रम माइनस झर्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको छ। सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको बताए।
उनले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न शतर्क रहनुपर्ने बताए। गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेको छ। अझै चिसो बढ्ने र तापक्रम माइनस पुग्न सक्ने उनले बताए।
वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढीरहेकोले नेपालमा पनि जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताए। उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताए। वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्नेमा जोड दिए।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीद्वारा कार्यकारी निर्देशकको राजीनामा माग
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीले कार्यकारी निर्देशकको राजीनामाको माग गर्दै तालाबन्दी गरेका छन्।
सोमवार ललितपुरको जावलाखेलस्थित प्रतिष्ठानमा कर्मचारीहरुले कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको राजीनामाको माग गर्दै कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। कर्मचारीहरुले राष्ट्रिय स्तरको तालिम केन्द्रमा कार्यरत कर्मचारीहरुको अवस्था, कर्मचारीको सम्मानजनक व्यवस्थापन, संस्थाको संस्थागत सुदृढीकरण नभएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन्। उनीहरुले कार्यकारी निर्देशकलाई बारम्बार यस विषयमा अवगत गराए पनि चासो नदिएको आरोप समेत लगाए। कर्र्मचारीहरुले २२ सूत्रीय माग राखेर कार्यकारी निर्देशकसँग छलफल गरे पनि माग अनुसारको सम्बोधन नभएको बताएका छन्।
कर्मचारीहरुले कार्यकारी निर्देशकले कर्मचारीको क्षमता र विश्वास गुमाइसकेकोले राजीनमा दिनुपर्ने माग राखेका छन्। उनीहरुले लिखित रुपमा कुशल नेतृत्व नदिँदासम्म अहिलेका कार्यकारी निर्देशकलाई कार्यकक्षमा पूर्ण रुपमा प्रवेश गर्न नदिने बताएका छन्।
सुनचाँदीको व्यापार उत्साहजनक
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ।
सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएका छन्। उनले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताए ।
अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त भएपनि सरकारले प्रतिदिन तोकेको २० किलो सुनको आयात भइरहने हुनाले चाडवाडमा बिक्री भएर सकिएको ठाउँको परिपूर्ति हुने बताए । दशैँ र तिहारको बेलामा प्रतिदिन सुनको व्यापार ४० किलो र चाँदीको व्यापार १ हजार किलोसम्म भएको बताएका छन्। अध्यक्ष शाक्यले आपूर्तिको २० किलो कोटालाई प्रतिदिन ३० किलो बनाएर जानुपर्ने बताए।
दोहोरो अंकले घट्यो नेप्से
सेयर बजारको परिसूचक नेप्सेमा दोहोरो अंकले पहिरो गएको छ। सोमबार १९.२ अंकले नेप्से घटेको हो।
यससँगै परिसूचक २८२९ मा झरेको छ। सोमबार कारोबार रकममा पनि कमी आएको छ। चार अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। फाइनान्स उपसमूह २१ अंकले बढेको छ भने लगानी उपसमूहमा सामान्य वृद्धि भएको छ।
बैंकिङ १९, व्यापार १४, होटल तथा पर्यटन २९, विकास बैंक ७०, जलविद्युत् १३, निर्जीवन बिमा १३७, उत्पादन २९, अन्य २३, माइक्रोफाइनान्स ५५, जीवन बिमा उपसमूह १०० अंकले घटेका छन्। सोमबार कुल ४२ कम्पनीको मूल्य बढेको छ भने १४२ कम्पनीको मूल्य घटेको छ। यस्तै साहस उर्जा, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर र मानुषी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ।
३९० संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५०२६ जनाको नमुना परीक्षण गरिएकोमा ३९० जना संक्रमित भएका हुन्।
यस्तै यस अवधिमा थप पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज सक्रिय संक्रमितको संख्या ७६५४ रहेको छ भने ४२५ जना संक्रमणमुक्त भएका छन्। नेपालमा आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ।
भारतीय प्रहरीले ४ साथीको ज्यान लिए
भारतको छत्तीसगढ राज्यमा एक प्रहरीले आफ्नै साथिमाथि गोली हानी चार जनाको हत्या गरेका छन्। चार प्रहरीको मृत्यु हुँदा अरु तीन जना घाइते भएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार सिक्मा जिल्लास्थित सेन्ट्रल रिजर्भ पुलिस फोर्स क्याम्पमा सोमबार बिहान साढे ३ बजेतिर एके–४७ राइफलबाट हानेको गोली लागेर चार जनाको मृत्यु भएको हो।
आफ्नै साथिमाथि गोली हान्ने रितेश रञ्जनलाई नियन्त्रणमा लिइए पनि किन गोली हानेको भन्ने खुलेको छैन। मारिएका सबै सीआरपीएफको ५०औं बटालियनका सिपाही हुन्।
हाई अल्टिच्युड माउन्टेन बाइक च्यालेन्ज मंसिरमा
मंसिर तेस्रो साता प्रथम हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज आयोजना हुने भएको छ। सोमबार आयोजक प्रदेश खेलुकद विकास परिषद्, बागमती प्रदेश तथा जिल्ला साईक्लिङ संघ रसुवाले संयुक्त पत्रकार सम्मलेन गर्दै पहिलो संस्करणको हाई अल्टिच्युड माउण्टेन बाईक च्यालेन्ज मसिंर १८ गते आयोजना गर्ने बताएको हो।
तीन विधामा आयोजना हुने प्रतियोगिताको इलिटतर्फ मात्रै महिलाको सहभागीता रहँदा पुरुषतर्फ ईलिट, जुनियर र मास्टर गरि तीन विधामा प्रतिस्पर्धा हुनेछ।
जिल्ला साईक्लिङ संघ रसुवाले प्रतियोगिताको रुट समेत तय गरेको छ। आयोजकले खुल्ला प्रतियोगितामा १ सय ५० जना प्रतिस्पर्धी सहभागी हुने जनाएको छ। प्रतियोगिताको इलिटतर्फको प्रथम देखि दशौं सम्मको विजेताले ४० हजार, २० हजार, १५ हजार, ७ हजार, ६ हजार, ५ हजार, ४ हजार ३ हजार २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्नेछ। यस विधामा महिला तथा पुरुष दुबैको सहभागिता रहनेछ।